२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जसले पाए पुनर्जन्म

काठमाडौँ — पहिले क्यान्सर लाग्नु भनेको ढिलो वा चाँडो जीवन गुमाउनु हो भन्ने बुझिन्थ्यो । क्यान्सर निको पार्ने औषधि नभएकाले पनि रोगीले मृत्युसँग आत्मसमर्पण गर्नुको विकल्प थिएन । तर अब अवस्था त्यस्तो रहेन । कैयन् क्यान्सरपीडित उपचारपछि पूर्ण निको भई पूर्ववत् जीवनमा फर्किएका उदाहरण छन् ।

जसले पाए पुनर्जन्म

बलिउडमा पनि केही सेलेब्रिटी क्यान्सरपछि तन्दुरुस्त बनेका छन् । अहिले औषधि विज्ञानले क्यान्सर पीडितको जीवनको अन्त्य नै बदल्न सफल भएका छन् ।


बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई गत वर्ष क्यान्सरले समात्यो । न्युयोर्कमा उपचार गर्ने क्रममा उनको शरीरमा क्यान्सर चौथो चरणमा फैलिइसकेको पत्ता लागेको थियो । उनलाई मेटास्टेटिस नामक क्यान्सर लागेको थियो । जुन क्यान्सरलाई उच्च जोखिमको मानिन्छ । यस क्यान्सरका सेल शरीरमा एकैठाउँमा रहँदैनन् । खतरनाक मानिएको उक्त क्यान्सरसँग सोनालीले अन्तत: विजय पाइन् । क्यान्सर मुक्त भएपछि सोनालीले इन्स्टाग्राममा पोस्ट राख्दै आफू काममा फर्किएको बताएकी छन् ।


यस वर्ष ‘अन्धाधून’ र ‘बधाई हो’ जस्ता सफल फिल्म दिएर वाहवाही बटुलेका अभिनेता आयुष्मान खुरानालाई पत्नी ताहिरा कश्यपको क्यान्सरले तनाव पनि दियो । उनलाई ब्रेस्ट क्यान्सर भएको हो । यति बेला क्यान्सरसँग लडिरहेकी ताहिरा हालैको ल्याक्मे फेसन विकको र्‍याम्पमा क्याटवाकसहित देखिइन् । सर्ट फिल्मकी निर्देशकसमेत रहेकी ताहिरा मुडुलो टाउकोमा नै र्‍याम्पमा उत्रेकी थिइन् ।


गत वर्ष नै अभिनेता इरफान खान पनि बिरामी परे । उपचारका लागि लन्डन गएपछि उनमा न्युरोएन्डोक्राइन ट्युमर भएको पत्ता लाग्यो । यस खालको ट्युमर शरीरका जुनसुकै भागमा पनि आउन सक्छ । तर सुरुवाती असर भने हार्मोन पैदा गर्ने रक्त कोशिकामा देखिने बताइन्छ । इरफान यसको उपचार सँगसँगै काममा पनि छन् ।


नेपालकी चेली मनीषा कोइरालाको सन् २०१२ मा गर्भाशयमा क्यान्सर भएको पुष्टि भयो । त्यसताक मनीषालाई क्यान्सर भएको खबरले उनका फ्यानलाई समेत बेचैन बनाएको थियो । तर मनीषाले आफूलाई क्यान्सर मुक्त गराउन सफल भइन् र फिल्ममा समेत कमब्याक भइन् । ‘मलाई लागेजस्तो क्यान्सर कहिलेकाहीं फेरि फर्कन पनि सक्छ । तर हामी जुनसुकै अवस्थामा पनि सकारात्मक रहनुपर्छ तब मात्रै यस्ता बिमारीलाई हराउन सक्छौं,’ मनीषाले भनेकी छन् । क्यान्सर मुक्त भएपछि मनीषाका ‘डियर माया’ र ‘सन्जु’ फिल्म आइसकेका छन् । ‘सन्जु’ मा त उनले प्याङ्क्रियाटिक क्यान्सरका कारण जिन्दगी गुमाएकी सञ्जय दत्तकी आमा नरगिसको भूमिका निर्वाह गरेकी छन् ।


बलिउडमा क्यान्सर हुने सेलेब्रिटीको लिस्टमा निर्माता/निर्देशक राकेश रोशन पनि छन् । ‘बर्फी’ फिल्मका निर्देशक अनुराग बसु पनि कुनै बेला क्यान्सर पीडित थिए । सन् २००४ मा ‘तुम सा नहीं देखा’ बनाउने क्रममा अनुरागलाई ल्युकिमिया क्यान्सर भएको थाहा भयो । त्यसपछि उक्त फिल्मलाई महेश भट्ट र मोहित सूरीले पूरा गरे भने अनुरागले निरन्तर तीन वर्ष उपचारमा बिताए ।


क्यान्सर मुक्त भएपछि उनलाई अमेरिकन क्यान्सर सोसाइटीले क्यान्सर सर्भाइवरको अवार्ड समेत दियो । त्यसैगरी क्रिकेटर युवराज सिंह, अभिनेत्री लिजा रे पनि क्यान्सरलाई जितेर पुरानै लयमा फर्केका सेलेब्रिटीमा पर्छन् ।

प्रकाशित : माघ २२, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?