कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धागोले जोड्छ सम्बन्ध

काठमाडौँ — चित्रकार मनीषलाल श्रेष्ठ कलामा अनेक प्रयोग गरिहन्छन् । प्रतिस्थापन कलामार्फत उनी सामाजिक राजनीतिक प्रवृत्तिलाई मात्र हैन मानवीय प्रवृत्तिलाई पनि उत्तिकै व्यंग्य गरिरहेका हुन्छन् ।

धागोले जोड्छ सम्बन्ध

यसपटक उनले काठमाडौं उपत्यकालाई प्रतीकात्मक रूपमा कलामा उतार्दै यहाँ सांस्कृतिक बहुआयामिकता पस्केका छन् । बौद्धस्थित तारागाउँ कला संग्रहालयमा उनका कला प्रदर्शित छन् ।


टाढाबाट हेर्दा मोटो डोरीको थुप्रो । नजिकबाट नियाल्दा भने ऊनीको धागोद्वारा हातैले बुनेको लामो रंगीविरंगी कपडाको डंगुर देखिन्छ । बौद्धस्थित तारागाउँ म्युजियममा शुक्रबारदेखि सुरु मनीषको इन्स्टलेसन कला हेर्न आएका दर्शकहरू अचम्म मान्दै जिज्ञासा राख्छन् । मनीषको कलात्मक धागो १३ सय ३६ मिटर लामो छ ।


‘समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा छ काठमाडौं । यसको लम्बाइले काठमाडौंलाई प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘यसमा भएको विविध रंगले यहाँ बसोबास गर्ने विभिन्न जातजाति, समुदायका साथै बहुआयामिक संस्कृति, रहनसहन भेटिन्छ ।’ त्यही भएर उनले आफ्नो प्रदर्शनीको नामै दिएका छन्– ‘प्रोजेक्ट १३३६’ ।


धागोमा प्रेम

सामान्यतया धागोले जोड्ने काम गर्छ । मान्छे, समाज र बहुसंस्कृतिका सम्बन्धहरू पनि एकप्रकारको धागो नै हो । मनीषको कला हेर्दा मनमा यस्तै तर्क उब्जिन्छ । उनको कला अभिप्राय पनि यही हो । तर, यो कलात्मक धागो मनीष एक्लैले बनाएका हैनन् ।


उनको अवधारणालाई साकार पार्न अन्य पचासभन्दा बढी घरेलु महिलाहरूले ऊनी धागोबाट कपडा बुन्नमा सघाएका छन् । कोही भोलेन्टियरको रूपमा त कोहीलाई तलबै दिएर मनीषले यो कला तयार पारेका छन् ।


मनीषको धागो प्रेम अहिलेको हैन । पाटनमा जन्मिएका मनीषको बालापन गल्लीहरूमै बितेको थियो । गल्ली डुल्ने क्रममा उनी महिलाहरूले कुरुसले, तानले कपडा बुनिरहेको देख्थे । उनको घरमा आमाको तान बुन्ने सानोतिनो उद्योग नै थियो । आमाबाटै उनले बुन्ने सीप सिकेका थिए । गल्ली डुल्दा उनलाई महिलाहरू आपसी कुराहरू गर्दै बुनिरहेको देख्दा रोचक लाग्थ्यो ।


मनीषकै शब्दमा भन्नुपर्दा ‘सँगै बसेर कपडा बुन्नु भनेको आइडिया सेयरिङ गर्नु हो र यसले एक–अर्काबीच सद्भाव समेत बढाउँछ । यहाँ पनि अमूर्त धागोले नै सम्बन्ध जोडिदिएको हुन्छ ।’ केही वर्षअघि उनको मनमा केही नयाँ गरौं भन्ने लाग्यो । पहिलेदेखि नै देख्दै आएको कलालाई आधार बनाए । धागोमै कपडा र त्यसभित्र कपास प्रयोग गरे । उनका अनुसार कपासले काठमाडौंको सफ्ट नेचरलाई जनाउँछ ।


जहाँबाट आए पनि, जे गरेपनि काठमाडौंले सबैलाई बोकेकै छ । स्वागत गरेकै छ । स्पेस दिएकै छ । राणाकाल, प्रजातान्त्रिक आन्दोलनदेखि गणतान्त्रिक आन्दोलनसम्म काठमाडौंले थेगेकै छ । यस हिसाबले उनको कलाको नरम कपासले निकै प्रतीकात्मक अर्थ दिन्छ । हुन त कलाको यस्तो गम्भीर बिम्ब र प्रतीक सबैले नबुझ्न पनि सक्छन् ।


जस्तो कि लामो कपडा बुन्ने क्रममा महिलाहरू स्वयंलाई मनीषलाई सोधेका थिए रे, ‘यो मोजाजस्तो किन बुन्नु परेको ? यति लामो किन बुन्न लागेको ? यो यति लामो बुनेपछि लगाउन मिल्छ ?’ ‘सुरुसुरुमा त सबैले आ–आफ्नो थरीथरीका तर्क दिन्थे,’ उनले भने, ‘पछि यो बुन्दै जाने क्रममा सबै कुरा आफ्नो उपयोगिताका लागि मात्रै गर्नुहुन्न भनेर उनीहरूको विचार, सोचमा परिवर्तन भयो । कला भनेकै विचार हो । त्यसमा परिवर्तन आउनु नै कलाको सफलता हो ।’


सभ्यताको विकाससँगै मानिसहरूले कपडा बुन्न सिके, अनि थरीथरीका डिजाइन बनाउन पनि सिके । मनीषलाई अहिले कपडा मानिसको दोस्रो छाला जस्तै लाग्छ । पहिले शरीरलाई छोप्नकै लागि लगाइने लुगाले अहिले मानिसको पहिचान समेत झल्काउन थालेको छ । कपडाले मानिसको भावना समेत जोड्न मद्दत गर्ने उनको ठहर छ ।


केही वर्षअघि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको ‘काठमाडौं आर्ट ट्रेनाले’मा पनि उनको यो कला प्रदर्शनीमा राखेका थिए । त्यतिबेला माइतीघर मण्डलामा करिब तीन सयले यो लामो डोरी लिएर परिक्रमा नै गरेका थिए । ‘प्रतिस्थापन कला दर्शकसित पनि आर्ट अन्तरसम्बन्धित हुनुपर्छ । दर्शकलाई नै समावेश गरियो भने कला प्रभावकारी हुन सक्छन्,’ उनले भने, ‘कला मानिसबाट टाढिनु हुन्न ।’


आउँदो आइतबार केही कलाकार र बौद्धका बासिन्दाले फेरि यो कलात्मक धागोलाई लिएर लिच्छविकालीन विश्व सम्पदा बौद्धनाथ स्तूप परिक्रमा गर्ने तयारी गरिरहेका छन् । तारागाउँ म्युजियमबाट बौद्ध क्षेत्र घुमेर पुन: म्युजियममै ल्याउने तयारी उनीहरूको छ । त्यसपछि भने यसलाई चीनको म्युजियम, अस्ट्रेलिया, बेल्जियममा समेत टुरमा लाने तयारी हुँदै गरेको मनीषले बताए । मनीषका अनुसार यो कला उनको मात्रै नभई मुलुककै सम्पत्ति हो । प्रदर्शनी सोमबारसम्म चल्नेछ ।

प्रकाशित : माघ २२, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?