मान्छेको माया यहाँ...

कान्तिपुर संवाददाता

काठमाडौँ — अहिले नयाँ तथा पुराना गीतहरू युट्युबमा सजिलै भेटिन्छन् । मेला–महोत्सवदेखि अन्य कन्सर्टमा नयाँ गीतहरू जति प्रत्यक्ष सुन्न पाइन्छन्, पुराना त्यति सुन्न पाइन्नन् । गायिका ज्ञानु राणाहरूलाई सुन्न मञ्चमा तिनै हुनुपर्छ ।

गायिका ज्ञानु राणालाई सम्मान प्रदान गर्दै हिडन ट्ेरेजरका गोपालसुन्दरलाल कक्षपती । तस्बिर : बिजु महर्जन/कान्तिपुर 

नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार त्यस्तै संयोग जुर्‍यो । ‘अविरल यात्रा’ मा हिडन ट्रेजरले गायिका राणालाई मञ्च दिएको थियो । सर्जकहरूलाई सम्मान गर्ने यो पहलको तेस्रो संस्करणमा राणाका दर्जनभन्दा बढी सदाबहार गीत गुन्जिए ।

Citizen


१४ वर्षको उमेरमा बुवा धर्मराज थापाको हात समातेर गीत गाउन रेडियो नेपाल छिरेको क्षण सम्झिँदै राणाले सुरुआतमा बुवाकै संकलन रहेको गीत ‘चौतारीमा मै बसेँ होला कि’ गाइन् । “बुवाको पाइलापछ्याउँदै जब मैले गाउन थालेँ, गाउँलेहरू ‘गाइनेकी छोरी गाइने नै बन्न लागी’ भनेर कुरा काट्ने गर्थे,” बीचबीचम राणा सुनाउँदै थिइन्, ‘तर मलाई बुवाको गीति व्यक्तित्वमाथि गर्व लाग्थ्यो । अनि आफूले पनि बुवाको नाम राख्नुपर्छ भन्ने लाग्थ्यो । यही निरन्तरताले मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो ।’

राणाले बुवाकै ‘आज फेरि काफल पाक्यो...’ पनि गाइन् ।

कार्यक्रममा अन्य गायकगायिकाले समेत राणाकै गीत गाए । सरिता शाही र विकासजंग थापाले ‘शिरीमा शिरी,’ महेन्द्र श्रेष्ठ र मीना निरौलाले ‘मान्छेको माया यहाँ’, प्राश्ना शाक्य र सुरजकुमार थापाले ‘च्याङ्बा होइ च्याङ्बा’ सुनाए । सरिताले ‘कसैले बुझेन मेरा मनको बहलाई’ र ‘मेरो लोभी आँखाले..’, मीनाले ‘मायालु छोडी नदेऊ मेरो हात’, ‘पीरै पर्‍यो कत्तिको’ र ‘आशाको दियो’ समेत सुनाए । महेन्द्र र प्राश्नाले ‘हीरा के हो चिन्नलाई’, प्राश्नाले ‘अब त जाउँक्यारे घर...’ पनि गाए ।

संगीतकार राजु सिंहले कन्डक्ट गरेको कन्सर्टमा दिनेशराज रेग्मी, रबिन कार्कीढली, कुमार महाराज, दीपक थापा, सुरज श्रेष्ठ प्रधान, सौखिन सिंह, अनुप दास, रूपेश सिंह, सुन्दरकुमार महर्जन, भुवन गन्धर्व, सुधीर चौधरी, मोहनकृष्ण ढली, नारायणदास कार्कीढली, केशव सुनाम, मनोहर सुनाम, किशोर कार्कीढली, विनीता कार्कीढली, निरोज कार्कीढली, अभिषेक कार्कीढली, रत्न विश्वकर्मा र धर्म गन्धर्वले बाजागाजामा साथ दिएका थिए ।

गायिका राणालाई हिडनट्रेजरका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतीले सरस्वतीको मूर्ति र एक लाख रूपैयाँसहित सम्मान अर्पण गरेका थिए ।

प्रकाशित : माघ २३, २०७५ ०९:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विज्ञापन निषेधक विधेयक

सम्पादकीय

काठमाडौँ — सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको छ । विज्ञापन प्रकाशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था राखिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको विधेयकमा विज्ञापनसम्बन्धी केही कसुरलाई सरकारवादी मुद्दा भनिएको छ । दर्जनौं विषयलाई विज्ञापन गर्न नहुने शीर्षकमा राखिएको छ । गर्न नहुने विषयलाई कसुरमा राखेर जरिवानादेखि जेलसम्मको सजाय निर्धारण गरिएको छ ।

विज्ञापनसम्बन्धी अहिलेसम्म छुट्टै नियम–कानुन छैन । बनाउन खोज्नु सकारात्मक हो । नियमनको उत्तिकै खाँचो छ । अर्बौंको कारोबार छ । सेवा र वस्तु बिक्रीको प्रचारप्रसार जोडिन्छ । उपभोक्ता हकहितसँग जोडिएको छ । तर विज्ञापन नियमन गर्ने नाममा मिडियालाई अप्ठ्यारो पार्ने नियत देखिएको छ । अपराध संहितामै समेटिएका विषयलाई पनि विज्ञापनका नाममा फेरि जोड्न खोज्नुले त्यही सन्देह पैदा गर्छ ।

विज्ञापनको कसुरलाई गैरजमानती रूपमा राखिएको छ । यसले सरकारलाई जुनसुकै बेला मिडियालाई अप्ठ्यारो पार्न सक्छ । विज्ञापन गरेबापतको सजाय कठोर राख्दा त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीमाथि अंकुश लगाउँछ । विज्ञापनका विषय प्रहरीले हेर्ने भएपछि सरकारले विज्ञापन बजारलाई नियन्त्रण गर्न सक्ने तथा त्रास देखाएर आलोचक मिडियामा विज्ञापन रोकाउन सक्छ ।

विज्ञापनप्रति सरकारको बुझाइमा कमी देखिन्छ । विज्ञापनको कसुरलाई फौजदारी अपराधमा राख्ने अवधारणा आफैंमा अज्ञानता हो । विज्ञापन प्रकाशनको विषय अपराधसँग जोड्ने होइन । सामाजिक सुव्यवस्था, अश्लील विषयजस्ता शब्द राखेर सामाजिक मर्यादा संरक्षणका नाममा विज्ञापनको अन्तरवस्तुमा प्रवेश गर्न खोजिएको छ । विज्ञापन गर्न पाउनु पनि अभिव्यक्तिकै विषय हो । विधेयकमा राखिएका धेरै अस्पष्ट शब्द तथा कैद सजायले विज्ञापनमार्फत गरिने सूचना प्रवाहमा त्रास सिर्जना गर्छ ।

विधेयकले विज्ञापनको नियमनसम्बन्धी काम गर्न एकातिर विज्ञापन बोर्डको परिकल्पना गरेको छ । अर्कातिर धेरैजसो विषयका कसुरमा प्रहरीलाई मुद्दा चलाउने अधिकार ताकेर बोर्डलाई नाम मात्रकोसंस्था बनाउन खोजिएको छ । विज्ञापन सिर्जनाको विषय हो ।

सिर्जना गर्ने बेलामा ३ देखि ५ वर्षको कैद सम्झिएपछि सिर्जनै मर्छ । सिर्जनशीलताको व्याख्या जसरी पनि गर्न सकिने हुँदा प्रतिशोधसाध्ने ठाउँ रहन्छ । यसले विज्ञापन सर्जकको सिर्जनशीलता मार्दछ, कलालाई साँघुरो बनाउनेछ । दफा उपदफा सोच्नेबित्तिकै कलाकार पहिल्यै निसासिन्छ । सिर्जना स्वतन्त्रतामा जन्मन्छ, नियमनमाहोइन । विज्ञापन एक हिसाबले कलाको व्यापार हो ।

विज्ञापनदाताहरू कलात्मक ढंगले आफ्ना उत्पादन उपभोक्तालाई चिनाउन चाहन्छन् ।
यस्तो विधेयकबाट विज्ञापन जगत् त्रसित हुनु स्वाभाविक छ । सञ्चारमाध्यमहरू पनि सशंकित छन् । यो कानुन उपभोक्तामुखी हुन ल्याइँदै छ कि यसले अन्यत्रै हात हाल्न खोज्दै छ, प्रस्ट छैन । विज्ञापनको निर्बाध कारोबारमा मन्दी आए सञ्चार व्यवसायलाई असर पर्नेछ, आलोचनाको आयतन संकुचित हुनेछ ।

विज्ञापन सञ्चारमाध्यमहरूको खाइजीविका गर्ने धन्दा हो भन्ने कतिपयको धारणा छ । यो त देश आर्थिक रूपमा कति गतिशील छ भनेर देखाउने ऐना हो । उद्योग, व्यापार र समग्र अर्थतन्त्रको प्रतिबिम्ब विज्ञापनहरूमा झल्कन्छन् । यसले उपभोक्तालाई वस्तु तथा सेवाबारे जानकारी दिएर सुसूचित गर्छ । कतिपय अवस्थामा हाम्रो राष्ट्रिय गौरवसँग पनि जोडिएको हुन्छ विज्ञापन । विज्ञापन अलग गरिदिने हो भने सार्वजनिक महत्त्वका धेरै प्रदर्शन प्रभावित हुन्छन् । कतिपय ठूला खेल प्रतियोगिता, मेला महोत्सव आयोजना असम्भव हुनेछन् ।

हाम्रो देशको अभ्यास र अनुभवमा जति धेरै नियम, त्यति धेरै भ्रष्टाचार । कानुन सजिलोका लागि होइन, अँठ्याउनका लागि प्रयोग गरिन्छ । यसले विज्ञापनमा ‘प्रि सेन्सर’ गराउँछ । विज्ञापन सेन्सर गरिने वस्तु होइन ।

प्रकाशित : माघ २३, २०७५ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT