लेखक फुरूक्क, निर्देशक ढुक्क

फिल्म
कान्तिपुर संवाददाता

काठमाडौँ — सुविन भट्टराईलाई उपन्यासकारका रूपमा चिनाएको थियो, ‘समर लभ’ ले । खासगरी युवा पाठकमाझ । सोही कृतिमा आधारित रही मुस्कान ढकालले निर्देशन गरेको फिल्म ‘समर लभ’ शुक्रबारदेखि प्रदर्शनमा आउने तरखरमा छ ।

‘समर लभ’ लेखक सुविन भट्टराई र फिल्म निर्देशक मुस्कान ढकाल । 

यति बेला सबैभन्दा बेचैनी कसैलाई भए सुविनलाई नै होला । टेलर हेरेर खासै उत्साहित नभएका उनी फिल्म हेरेपछि भने फुरुक्क परेछन् ।

‘अढाई घण्टाको फिल्ममा पूरा उपन्यास अटाउन सम्भव नहुँदो रहेछ,’ हालैको भेटमा भट्टराईले भने, ‘तर उपन्यासको मर्मलाई फिल्मले त्यति धेरै मर्न दिएको छैन ।’ उनले फिल्म आशा गरेभन्दा माथि बनेको टिप्पणी गर्दै थपे, ‘इंगेजिङ, इन्टरटेनिङ र इमोसनल यी तीन चीजलाई फिल्मले कतै पनि छुटाएको छैन । बाँकी अरू कतिपय कुरामा असमझदारी अहिले पनि छ । फिल्म हेरिसकेपछि भने प्रसन्न छु । लेखकका नाताले मैले लेखेका कतिपय कुरा फिल्ममा ठ्याक्कै आएका छन् । इमोसनल पार्टमा मेरा आँखा पनि लगभग रसाए ।’

फिल्मको टेलर आएपछि आफ्ना पाठकको प्रतिक्रिया सकारात्मक पाएका छैनन् भट्टराईले । ‘मेरै रेस्पोन्स राम्रो थिएन । क्यारेक्टर भएन, एक्टिङ भएन, एक्सप्रेसन भएन भन्ने जस्ता कमीकमजोरी मेरा पाठकले औंल्याउनुभएको छ । मेरो धारणा पनि त्यही थियो । तर फिल्म हेरेपछि त्यो धारणामा म अलिकति परिवर्तन भएँ,’ फिल्मको पटकथामा समेत सहयोग गरेका उनले भने, ‘फिल्मप्रति अलिकति पोजिटिभ भएको छु ।’

लेखकसँगै रहेका निर्देशक ढकालले भने चर्चा बटुलिसकेको कथामा फिल्म बनाउनु साँच्चै गाह्रो काम भएको सुनाए । तैपनि फिल्मले दर्शकलाई निराश नबनाउनेमा उनी आशावादी छन् । ‘कुनै चर्चित कृतिमा फिल्म बनाउनु धेरै नै गाह्रो काम रहेछ,’ उनले भने, ‘धेरैले पढेको र रुचाएको पुस्तकबारे धेरै थाहा हुन्छ । तर मैले पुस्तकलाई फिल्ममा ठ्याक्कै उतारेको छु भन्ने लाग्छ ।’ त्यसो भए ‘समर लभ’ नै किन ताके त उनले ? उनी जवाफिए, “समर लभ’ भन्दा राम्रा उपन्यास अरू पनि नभएका हैनन्, तर फिल्मका लागि यसैलाई छान्नुको पछाडि यो बढी क्याजुअल भएर हो । सयौं वर्षअघिका कुरा देखाउनभन्दा क्याजुअल कुरा देखाउन सजिलोहुने भएकोले यसलाई छानेको हुँ ।यो उपन्यासमा आम मानिसको जीवनशैली छ ।’

फिल्मलाई सम्पादन टेबलमा हेरिसकेपछि भट्टराईलाई फेरि त्रिवि परिसर घुम्न मन लागेको रहेछ । भने, ‘पुस्तक पढेपछि पाठकलाई टीयू घुम्नै पर्छ भन्ने भाव पैदा भएजस्तै फिल्म हेरेपछि मलाई पनि त्यही भयो । फिल्म हेरेर पग्लिहाल्ने, रोइहाल्ने मान्छे त म हैन, तर यो हेर्दा त्यस्तो भएको छ ।’

अझै पनि भट्टराई आफ्ना पात्र अतीत र सायामा अभिनीत कलाकारलाई लिएर ‘डाउट’ नै छन् । ‘किताबकै जस्तै ठ्याक्कै भेटे कस्तो हुन्थ्यो होला भन्ने त लाग्छ, लेखकका हिसाबले त्यो स्वाभाविक पनि होला, तर फिल्म हेरिसकेपछि भने यो कास्टिङ पनि राम्रो छ भन्नेमा पुगेको छु,’ उनले भने । फिल्ममा अतीत शर्माको भूमिकामा आशिष पिया र साया शाक्यको भूमिकामा रेवती क्षत्रीले अभिनय गरेका छन् । दुवैका लागि ‘समर लभ’ पहिलो फिल्म हो ।

भट्टराई ‘समर लभ’ का पाठकले भन्दा उपन्यास नपढेका दर्शकले फिल्म बढी रुचाउने ठान्छन् । पाठकका लागि फिल्म जजमेन्टल हुन सक्ने उनको धारणा छ । भने ‘कमीकमजोरी खोज्ने र तुलना गर्ने हुन सक्छ । यहाँ यो दृश्य आएन भन्ने हुन सक्छ । पुस्तकका कति दृश्य फिल्ममा अटाएका छैनन् । सबै अटाउनुपर्छ भन्नु मूर्खता पनि हो । तैपनि फिल्म त राम्रै बनेछ है भन्ने उहाँहरूलाई पनि लाग्छ । पुस्तक नपढेकाहरूले भने निश्चय पनि बढी रमाइलो मान्नुहुनेछ ।’

प्रकाशित : माघ २४, २०७५ ०८:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आरम्भ डबली ‘अब नरोकिने’

प्रदीप मेन्याङबो

सुनसरी — दर्जनौं नटक मञ्चन र अनेक कलाकार जन्माए पनि आरम्भ नाट्य डबली आर्थिक अभाव, कलाकार पलायन जस्ता कारणले थिलथिलिएको थियो । आफ्नो तीसौं स्थापना दिवसमा आरम्भ लामो समयपछि नाटक लिएर पुस अन्तिम साता देखा परेको थियो ।

रंगमञ्च पारखीहरूलाई खुसीको खबर ! आरम्भले अब मासिक रूपमा नाटक मञ्चन गर्ने भएको छ । पूर्वको रंगमञ्चमा खडेरी आएका बेला यस्तो घोषणा गर्दै आरम्भका अध्यक्ष तथा नाट्य निर्देशक गोपाल देवानले भनेका छन्, ‘धरान र धराने रंगमञ्चलाई विगतमा झैं फेरि राष्ट्रिय रंगकर्मको आधारशिविर बनाएर नियमित नाटक मञ्चन गर्ने संकल्प गरेका छौं ।’

रंगमञ्चको दुनियाँमा समाज निर्माणकै लागि प्रयास गरिरहेको उनले बताए । दर्जनौं नाटक मञ्चन र अनेक कलाकार जन्माएको आरम्भले सिर्जनशीलतालाई व्यवसायीकरण गर्न चुकेको अनुभवलाई पाठका रूपमा सम्झिने पनि उनले सुनाए । ‘पछिल्लो समयमा नयाँ कलाकार पनि जन्मिएकाले हामी आधुनिक प्रविधि र साजसज्जासाथ दर्शकश्रोतामाझ आउने तयारीमा जुटेका छौं,’ उनले भने ।

धरानमा नाटक मञ्चनको इतिहासविसं १९९७ सालसम्म पुग्छ । दुई दशक अघिसम्म नेपाल प्रज्ञा प्रतिष्ठानसँग समानान्तर रूपमा नाटक प्रदर्शन गरे पनि सुविधायुक्त रंगमञ्चीय हल वा नाटक घर भने धरानमा निर्माण भएको छैन । देवानभन्छन्, ‘काठमाडांैलाई रंगमञ्चमा चुनौतीदिने धरानसँग सुविधायुक्त हल नहुनुअत्यन्त दु:खद र दुर्भाग्यपूर्ण स्थिति हो । यसमा राज्यको नकारात्मक सोचले मुख्य भूमिका खेलेको छ । तैपनि हामीले हार मानेका छैनौं ।’

धरानको रंगमञ्चबाटै नवीन सुब्बा, प्रेम सुब्बा, शोभा खजुम, शारदा सुब्बा, शारदा शाक्य, शशि थापा सुब्बा, सुरज नाल्बो, सुरज थापा, नवीन मेन्याङबो, राजेन्द्र रिमाल, अल्पना कर्माचार्य, विनोद तखाछे, कुलचन्द्र न्यौपानेलगायत फिल्मी कलाकार र निर्देशकसम्म भएर उदाए । आरम्भले प्रज्ञा प्रतिष्ठान र पूर्वका विभिन्न हलमा ‘आदि बिनाको अन्त्य’, ‘अधुरो क्यानभास’, ‘त्याग’, ‘पृथक् पृथक् खोजहरू’, ‘अब बाँसुरी बज्दैन’, ‘यिनीहरू देश खोजिरहेछन्’ जस्ता नाटक मञ्चन गरेको थियो ।

राज्यले साहित्य, कला र रंगमञ्चलाई अनुत्पादक र आफ्नो विरोधी सत्ता मान्ने गरेको भन्दै देवान पछिल्लो राजनीतिक परिवर्तनपछि कलाकारमा आशा पलाएको बताउँछन् ।

आरम्भले स्थापना दिवसमा हालै ‘यातनाको अन्त्य’ नाटक प्रदर्शन गरेको थियो । टिकट दुई सय रुपैयाँ राखिए पनि होटल रत्नहिनको दुई सय जनाक्षमताको हलमा उक्त नाटक पहिलो पटक ‘हाउसफुल’ भएको थियो । दर्शकश्रोताकै अनुरोधमा माघ ११ मा फेरि दुई सो मञ्चन गरिएको थियो ।

प्रकाशित : माघ २४, २०७५ ०८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT