कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मायानगरीको माया

काठमाडौँ — धेरै हिसाबले सम्भावना र अवसरको थलो मानिन्छ सहरलाई । गाउँको तुलनामा सहज जिन्दगी, सुविधा अनि रोजगारीका अनेक अवसर । तर के थुप्रै सपना बुनेर काठमाडौं पस्नेहरूका लागि यो सहर सोचेजस्तो छ ? उनीहरूका समस्या कस्ता छन् ? मण्डला थिएटरमा मञ्चन भइरहेको ‘स्वप्निल स्वप्न–नगरी’ ले यस्तै समस्याहरूलाई केलाउन खोजेको छ ।

मायानगरीको माया

प्रदीपकुमार चौधरीको लेखन र विकास जोशीको निर्देशन रहेको नाटक खासगरी सहर पस्ने युवाहरूको कथाव्यथा र सहरमा गर्ने उनीहरूको संघर्षमा केन्द्रित छ ।


काठमाडौंलाई लोकेसन बनाएको भए पनि नाटकले आम रूपमा युवाहरूकै सपना र समस्या उठाउन खोजेको छ । संघीयतामा मुलुक गएको केही समय मात्रै भयो । अहिले पनि आम मनोविज्ञानमा ‘काठमाडौं नै अवसरहरूको केन्द्र’ हो ।


नाटककार प्रदीप स्वयं मोफसलबाट आएर काठमाडौंमा संघर्ष गरिरहेको कारण पनि एक प्रकारले यो नाटक उनकै पुस्ताको कथा हो । यतिसम्म कि सहरबाट अवसरहरू गाउँतिर सोझिएको भए पनि ‘मायानगर’ रूपी काठमाडौंमा फसेकाहरू गाउँ फर्किन तयार छैनन् । उनीहरू एउटा अवस्था, हीनताबोध, समस्या र सपनाहरूको गन्जागोलमा छोपिएका छन् ।


कोही रेस्टुरेन्ट खोल्ने सपना देख्छन् नाटकमा, कोही ज्याला मजदुरीमा अल्झेका छन्, कोही विदेश जाने चक्करमा फसेका छन् त कोही मुलुक फर्केर केही गर्छु भन्ने सपना देखिरहेका छन् । यिनै युवाहरूको समस्या र संघर्षका साथ नाटक अघि बढ्छ ।


बेरोजगारीको समस्या, भ्रष्ट राज्य संयन्त्रदेखि निम्नवर्गीय मजदुरका दु:ख पीडासम्मका विषय समातेको नाटकमा बहुरेखीय कथाहरू भेटिन्छन् । एउटै कथावस्तु र सरल रेखामा नाटक बगेको छैन । यसले समस्याको विविधता झल्काउँछ ।


नाटक मण्डला थिएटरको प्रशिक्षार्थी समूह (ल्याब सेभेन) का कलाकारहरूले तयार पारेका हुन् । बिना कार्की, छेजिङ जेवा भुटिया, आकाश झा, अभिषेक शर्मा, डेविड सुवेदी, ज्ञानेन्द्र भट्टराई, प्रकाश भट्टराई, रितु पौडेल, केशव अधिकारीलगायतले अभिनय गरेका छन् ।


माघ ११ देखि नियमित मञ्चनमा आएको नाटक आउँदो आइतबारसम्म देखाइनेछ ।

प्रकाशित : माघ २४, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?