समर लभ उपन्यासमा जे सशक्त फिल्ममा त्यही कमजोर

सुशील पौडेल

काठमाडौँ — छ वर्षअघि बजारमा आएको थियो उपन्यास ‘समर लभ’ । यसले युवापुस्तामाझ उपन्यासकार सुविन भट्टराईलाई मात्रै चिनाएन, युवापुस्तामाझ उपन्यास विधालाई पनि नजिक गरायो । अतीत र सायाको प्रेमकथालाई ठूलो आयतनमा फैलायो ।

छरितो संवाद, अपनत्व महसुस गर्न सक्ने सामयिक प्रेमकथा र दृश्यात्मक प्रस्तुतीकरणले ‘समर लभ’ पाठकका लागि प्रिय बन्यो ।

पाठकका लागि यतिबेला सोही उपन्यासको फिल्म ‘समर लभ’ देशभर प्रदर्शनरत छ । कथा पढेर आफ्नै स्वप्न संसार सिर्जना गरेका पाठकका लागि मुस्कान ढकाल निर्देशित उक्त फिल्मले प्रस्तुत गरेको संसार तुलनात्मक अध्ययन हुन सक्नेछ । फिल्म उपन्यासको प्रस्तुतीकरणभन्दा
दायाँ–बायाँ छैन । बरु झन्डै अढाई सय पृष्ठको कथालाई अढाई घण्टामा ढाल्दा कतिपय प्लट काटिएका छन्, छाँटिएका छन् ।

उपन्यासका पाठकका लागि ‘समर लभ’ को कथा नौलो हैन । त्रिभुवन विश्वविद्यालयको कक्षाकोठाबाट सुरु हुने अतीत शर्मा (आशिष) र साया शाक्य (रेवती) बीचको चिनाजानीले नयाँबानेश्वरदेखि कीर्तिपुरसम्मका सडक नाप्दानाप्दै घनघोर प्रेमको आकार लिन्छ । स्वच्छन्द स्वभावकी साया र केही लजालु अतीतको प्रेमले विवाहको बाटो तय गर्नुअघि नै उनीहरूको बाटो फेरिन्छ । अतीत जागिरका लागि धनगढी लाग्छ भने साया पीएचडीका लागि नर्वे ।

‘जति टाढा उति माया गाढा’ उनीहरूका लागि लागू हुँदैन । फेसबुक म्यासेन्जर र स्काइप च्याटले भौगोलिक दूरीलाई कम गराउन सक्ने कुरै भएन । साया नेपाल फर्केर अतीतसँग विवाह त गर्छे तर लगत्तै फर्किन्छे पनि । यसबीचमा उनीहरूको प्रेममा परिवार बाधक मात्र बन्दैन, साया पनि अतीतको मनमा प्रश्नको भारी बोकाएर बिस्तारै ओझेल पर्छे । असमझदारी, असन्तुष्टिसँगै नि:शब्द हुँदै सम्बन्ध अडिन्छ ।

निर्देशक : मुस्कान ढकाल
कलाकार : आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतीक

फिल्मको पटकथा पनि लेखक भट्टराईले नै तयार पारेका हुन् । यसमा उनले सामीप्यराज तिमिल्सेनाको सहयोग लिएका हुन् । पुस्तकमा कथाको गाडीलाई पिच बाटामा सुलुल्ल कुदाउन सफल भट्टराई फिल्ममा पनि गाडी त जसोतसो अघि बढाएका छन् तर बाटो पिच बनाउन सकेका छैनन् । प्रस्तुतीकरण सलल्ल बगेको छैन । उपन्यासका प्राय: सबै दृश्यलाई समेट्ने चक्करमा फिल्मले पात्र, चरित्र र घटना परिवेशको सूक्ष्मतालाई ध्यान दिन चुकेको छ ।

‘जम्पकट’ गरिएका दृश्यले फिल्मको गतिलाई अवरुद्ध पार्छ । त्यसो त उपन्यासका केही प्लट छिमल्ने जोखिम पनि मोलेका छन् पटकथा लेखकले । दिल्ली यात्रादेखि नर्वेका केही प्लट हटाउने जोखिम सराहनीय पनि छ । तैपनि फिल्म उपन्यासको तुलनामा मूल कथाको गहिराइमा डुब्न सकेको छैन ।

उपन्यासमा पाठकलाई सचित्र वर्णन गर्न सफल लेखक फिल्ममा दृश्यमार्फत पनि दर्शकलाई कथासँग आत्मसात् गराउन असफल छन् । यसको मुख्य भागीदार निर्देशक र कलाकार पनि हुन सक्छन् ।

बेला–बेला ठेस नै लागे पनि पटकथाले यात्रा तय गरेको छ तर फिल्ममा सबैभन्दा खट्किने पक्ष अभिनय र पात्र छनोट हो । आशिष र रेवती दुवैका लागि ‘समर लभ’ पहिलो फिल्म हो । अभिनयमा दुवै पर्याप्त खुल्न सकेका छैनन् । अझ आशिषलाई त लवज र संवाद सम्प्रेषणले पनि साथ दिएको छैन ।

उनको स्वर सुरुवातदेखि नै पिन्चे सुनिन्छ भने शरीर हुनुपर्ने जति छरितो लाग्दैन । तुलनात्मक रूपमा रेवतीले सायालाई केही बढी चित्रण गर्न खोजे पनि स्वच्छन्द शैली पर्याप्त लाग्दैन । उपन्यासको सशक्त पक्ष नै चरित्र र तिनले बोल्ने संवाद हो भने फिल्मको सबैभन्दा कमजोर पक्ष यही हो । अन्य सहायक कलाकारका मामिलामा पनि निर्देशकले उचित काम लिन सकेका छैनन् । कथामा रौनक बढाउन फिल्मलाई उपन्यासको भन्दा सहुलियत हुने गीत, संगीतबाट पनि हो ।

‘साया ओ साया...’ गीतले फिल्मको गतिलाई बढाएकै छतर पृष्ठभूमि संगीत परिस्थितिको भावअनुकूल लाग्दैन । अधिकांश समय संगीत कर्कश सुनिन्छ ।उपन्यासको कथा मन पराउने पाठकका लागि फिल्म हेर्दा त्यति धेरै निराश हुनु पर्दैन । कारण, फिल्मले कथालाई जसोतसो धानेकै छ तर उपन्यासको प्रस्तुतीकरण र चरित्रलाई मन पराएका पाठकका लागि फिल्म पर्याप्त नहुन पनि सक्छ ।

फिल्मले दर्शक पाउने र नपाउने सम्भावना दुवैको जस उपन्यासलाई नै जानेछ तर उपन्यास ‘समर लभ’ नपढेकाका हकमा भने फिल्म मनोरञ्जनात्मक पनि हुन सक्छ । प्रेमकथामा बनेका चल्तीका फिल्मभन्दा ‘समर लभ’ धेरै हदसम्म कथानक र रोचक छ । यो हिउँदे चिसोमा फिल्म हेर्न आउने दर्शकलाई ग्रीष्म प्रेमकथाले केही राहत दिनेछ ।

प्रकाशित : माघ २६, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिक्षित मुस्लिमको रवैया

कान्तिपुर संवाददाता

काठमाडौँ — माघ २४ गते प्रकाशित चन्द्रकिशोरको ‘नेपाली मुस्लिमको मूलबाटो’ले मुस्लिम समुदायको हितको कुरा गरेको छ ।

यसमा विमति राख्नुपर्ने कारण देख्दिन । नेपालमा मुस्लिमहरूको आगमन केही शताव्दी अघि भएको भन्ने छ । मुस्लिमहरू मधेस आन्दोलनमा सहिद भएका छन् र निश्चय पनि आफ्ना हक, अधिकारका अधिकारी हुन् । लेखकले नेपाली मुस्लिमलाई भारतीय मुस्लिमको दुष्प्रभावबाट बच्न सल्लाह दिएका छन् । तर मलाई शिक्षित मुस्लिमहरू त्यसै दुष्प्रभावमा परिरहेको आभास हुन्छ । मेरो गाउँमा पहिले शिक्षाको अभाव भए पनि हिन्दु–मुस्लिमको सौहार्दता प्रगाढ थियो । बुर्का लगाउने पनि चलन थिएन । शिक्षा प्रसारसँगै मेरो गाउँमा पनि बुर्काको चलन बढ्दै गयो । शिक्षाको उद्देश्य पर्दाप्रथा अन्त्य गर्नु हो । तर शिक्षित महिलाले भारत, पकिस्तान र अरबको नक्कल गर्दै बुर्का लगाउन थालेका छन् । यति मात्र होइन, शिक्षित मुस्लिमहरू आफूलाई मधेसी ठान्दैनन् । यो पाकिस्तानको प्रभाव हो । राज्य र प्रदेशले उनीहरूलाई त्यस प्रभावबाट जोगाउनुपर्ने देखिन्छ । मुस्लिमहरूले आफै पनि त्यसप्रभावबाट जोगिनुपर्छ ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : माघ २६, २०७५ ०९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT