कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

उत्पीडन विरुद्धको आवाज

सुनीता साखकर्मी

काठमाडौँ — चरम गरिबीको चपेटामा फसेको मान्छेले के सम्म गर्न सक्ला ? चोरी, डकैती, लुटपाटदेखि मानिसले आफ्नै छोराछोरीलाई पनि बेच्न पछि पर्दोरहेनछ ।

उत्पीडन विरुद्धको आवाज

पुतली गाउँमा बस्ने शुक्लीकी हजुरआमाले पनि पैसा र जग्गा अधियाँ कमाउन पाइने लोभमा गाउँकै चलाख साहु दयारामलाई आफ्नी जेठी नातिनी बेचिदिन्छिन् । यो थाहा पाएर शुक्ली दिदी छुटाउन आफू पनि दयारामको घरमा पुग्छिन् । के शुक्ली दिदीलाई छुटाउन सफल हुन्छिन् त ? राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा चलिरहेको नाटक ‘पिँजडाको चरी’ यसैमा केन्द्रित छ ।


फ्रान्सेली निर्देशक म्याक्सिम सिसडले नेपालका सामाजिक कथाहरूलाई समेटेर नाटक ‘पिँजडाकी चरी’ तयार पारेका हुन् । कथा सामान्य छ । गाउँमा साहुमहाजनले आफ्नो चलाखीमार्फत सोझा गाउँलेलाई ठगेको र शोषण गरेको कथा नाटकमा छ । गम्भीर विषयमा नाटकलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ । कलाकारका अभिनयले दर्शक हाँस्न बाध्य हुन्छन् । जब नाटक विषयको गहिराइमा छिर्दै जान्छ तब दर्शकको हृदयमा हलचल उत्पन्न गराइदिन्छ ।


नेपाल कृषिप्रधान देश भनिए पनि कृषिले मात्रै खान नपुग्ने पनि नेपालमा थुप्रै छन् । कृषि कामकै लागि ऋण लिन साहु–महाजन नै गुहार्नुपर्ने हालतमा कतिपय होलान् । तर साहुहरूले झूटो तमसुकमा सोझा किसानको जग्गा हडप्ने, मालपोतमा गई अर्काको जग्गा आफ्नो बनाउने गरेर दु:ख दिएका छन् ।


अहिले पनि मुलुकको ग्रामीण कर्जा प्रवाह उही परम्परागत नै छ । यही कारण मालिकको जग्गा अधियाँ कमाउन पाइने लोभमा आफ्नै सन्तान कमैया, कम्लरी पठाउने चलन नै विकास भएको थियो । शुक्ली र उनकी दिदी बेचिनुले पनि यही संकेत गर्छ ।


कानुनी रूपमा १९८२ सालमा नै चन्द्रशमशेरले दासप्रथा अन्त्यको घोषणा गरेका हुन् । २०५७ मा कमैया मुक्तिको घोषणा भयो । कम्लरीले सञ्चालन गर्दै आएको आन्दोलनलाई सम्बोधन गर्दै नेपाल सरकारले २०७० मा कम्लरी प्रथा अन्त्यको घोषणा गर्‍यो । तर उनीहरूका लागि बाँच्न उपयोगी स्रोत र साधनको परिपूर्ति भने गरिएन ।


आर्थिक अभावको कारण पेट पाल्न कतिपय पुन: कमैया बस्न गएका समाचारहरू यदाकदा आइरहन्छन् । आफ्नो जग्गा अरूले हडपेपछि नाटकको मोहन पात्र विद्रोही बन्छ । मन्त्रीदेखि साहुमहाजनलाई परास्त गर्न ऊ सफल हुन्छ । नाटकको मोहन पात्र हेर्दै गर्दा ‘कि त जोत् हलो, कि त छोड् थलो, यदि होइन भने अब छैन भलो’ भन्दै साहु–महाजनलाई चुनौती दिने भीमदत्त पन्तको याद मोहनले दिलाउँछन् । साहु–महाजनले मनपरी ब्याज बढाउँदै जाली तमसुक लेखेर भीमदत्त र उनका गाउँलेलाई दु:ख दिएको र भीमदत्तकै नेतृत्वमा जाली तमसुक जलाइएको घटना नेपाली इतिहासमा पढ्न पाइन्छ । यतिबेला भने ‘पिँजडाकी चरी’ ले दर्शकलाई मोहनको विद्रोही स्वभावमार्फत भीमदत्तकै याद दिलाइदिन्छ ।


मुलुकमा २५ प्रतिशत जनता अझै पनि भूमिहीन अवस्थामा छन् । २०२१ सालमा भूमिसुधारले जमिनदारी प्रथालाई कानुनी रूपमा समाप्त गरे पनि व्यावहारिक रूपमा भने त्यो कायमै रह्यो । २०५८ मा द्वैध स्वामित्व अन्त्य गर्न हदबन्दी तोके पनि कतिपय जमिनदारहरूले आफ्नै परिवारभित्र अंशबन्डा गरी जमिन वितरण गरेपछि भूमिहीन र सकुम्बासीलाई जमिन प्रदान गर्न राज्य असमर्थ रह्यो । त्यस्तै मोही किसानको अवस्था ज्यँुका त्यँु छ । सरकारले पटकपटक मोही र तल्सिङको जग्गा छुटाउने समय थपे पनि त्यो सुल्झिन सकेको छैन । व्यावहारिक रूपमा अहिले पनि मुलुकमा जर्जर सामन्तवाद र जमिनदारी प्रथा कायमै छ ।


गहन विषयलाई पनि रोचक ढंगले प्रस्तुत गर्न नाटक सफल छ । मञ्चमा पाश्लाक्पा शेर्पा, मनोज महर्जन, भूमिका थारू, सुनीता बाडे छन् । चार कलाकारले मञ्चमा थुप्रै पात्र चरित्र निर्वाह गरेका छन् । तर पात्र बदलिने सिलसिलालाई पनि निर्देशकले चलाखीपूर्वक हास्यात्मक बनाइदिएका छन् । जसले गर्दा नाटक हेर्ने दर्शकको ध्यान भड्किन पाउँदैन । प्रप्सको प्रयोग औचित्यपूर्ण छ । दुइटा लालटिन, दुई लट्ठी, एक पिँजडाको सुगा र कपडाका टुक्राबाटै पनि सुन्दर गाउँको बस्तीदेखि, मन्त्रीको आलिसान क्याबिन, दयाराम साहुको भव्य कोठाको सजावटको झल्को दिन्छ ।


गतवर्ष भएको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा निर्देशक म्याक्सिम नेपाल आएका थिए । उनले त्यति बेला नेपाली कलाकार र वाद्यवादकसँग केही दिनको तयारीपछि एउटा एकल नाटक निर्माण गर्ने अवसर पाए । कलाकार भूमिका थारूले थारू समुदायमा आधारित रहेर एउटा नाटक गर्ने इच्छा व्यक्त गरेपछि थारू समुदायमा विद्यमान विभेदी व्यवस्थाका बारेमा जानकारी लिएर नाटक गर्न आएको उनले बताएका थिए ।


‘नाटकले कुनै सीमा नभएको कथा, मानवबाट मानव उत्पीडित गरिने कथा बोकेको छ,’ उनले भनेका छन्, ‘मैले यस नाटकलाई तरंगका रूपमा कल्पना गर्ने गरेको छु, जीवन नै तरंग हो भन्ने विश्वास म राख्छु । नाटकमा युवा कलाकारलाई लिएर आपसी विकास र समृद्धिको उद्देश्यले निर्देशन गरेको छु ।’


रंगमञ्चमा प्रकाश परिकल्पना रूपेन्द्र शिवाकोटीले गरेका हुन् भने प्रकाश परिचालन धीरज थापामगरले । यस्तैध्वनि परिचालन आशिष काफ्लेले गरेका छन् । नेपथ्यमा आरुषजंग सारु, कृष्णगोपाल कक्षपतीले सहयोग गरेका छन् । सिनोग्राफी समीक्षा राई र कृपा खड्गीले गरेका छन् । स्टेज म्यानेजमेन्ट आदित्य शर्माले गरेका छन् । समग्रमा नाटक राम्रो बनेको छ । फागुन ४ गतेसम्म सर्वनाममा चल्नेछ ।

प्रकाशित : माघ २७, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?