कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपाली चित्रकारले जिते भारतीयको मन

‘नेपाली चित्रकलामा मौलिकता हुन्छ । भारतीय कलामा अझै त्यसको अभाव छ ।’
मधु शाही

लखनउ, भारत — पहिलेको इलाहबाद अहिले प्रयागराज भएको छ । यो थलोको पर्याय बनेको गंगा, जमुना र सरस्वती नदीको संगममा नुहाएर पुण्य कमाइने जनविश्वास चाहिँ यथावतै छ । कुम्भ मेलाले भरिभराउ यहाँ चार नेपाली चित्रकार पनि पुगेका थिए ।

नेपाली चित्रकारले जिते भारतीयको मन

संगमस्थल घुमफिरपछि उनीहरूले पुण्य त कमाए कि कमाएनन् कुन्नि, सिर्जनाको खुराक भने पाए । लखनउ फर्केपछि त्यो देखियो ललितकला अकादमी आर्ट स्टुडियोमा ।


सबै जना कुम्भ मेलामा घुमेका थिए, तर क्यानभासमा भिन्न रूपमा आफ्नो बुझाइ उतारेका थिए । ‘यही नै कलाकारको खुबी हो, जसले एउटै वस्तुलाई बहुआयामिक ढंगले महसुस गर्न सक्छ,’ चित्रकार रागिनी उपाध्यायले भनिन्, ‘जुन अरूका आँखाले देख्न सक्दैनन् ।’


रागिनीले आठ वर्षअघिको कलाकर्म पनि सम्झिइन् । ‘प्रकृति बोल्छ’ थिममा चित्र सिर्जना गर्दा उनले वाग्मती नदीको प्रदूषित अवस्थामाथि संवेदना झल्काएकी थिइन् । फोहोरले पीडित भएकी नदीको वेदना उनका चित्रमा झल्किएका थिए । तर गंगा, जमुना र सरस्वतीको सौन्दर्यमा उनले कुनै खोट देखिनन् । निर्मल–कञ्चन पानीले उनको सिर्जनाको ढाँचा फेरिदियो ।


संगममा सरस्वती नदी देखिँदैनन्, भूमिगत अवस्थामा रहेको कल्पना गरिन्छ । त्यसैले रागिनीले चित्रमा गंगा र जमुनाको संगम मात्रै देखाएकी छन् । दुई नदी आपसमा समाहित हुन्छन् । नदीको मानवीकरण गरेर उनले आत्मीयता महसुस गराउन खोजेकी छन् । रोचक पक्ष के भने, उनले नदीमा कुमारीको आवरण छुटाएकी छैनन् ।


‘कलामा मौलिकता अति आवश्यक छ,’ रागिनीले भनिन्, ‘भारतमा बगेको नदीलाई नेपालको कुमारीको मुखौटो बनाएकी छु ।’ नीलो र हरियो रंगमा नदीको बहाव देखाउन खोज्नुले स्वच्छ पानीको संकेत गर्छ । नदीमा खेलिरहेका साइबेरियन चराले धेरैको ध्यान तानेका थिए, जसको प्रभाव उनले चित्रमा उतारेकी छन् ।


‘नदीलाई नारीका रूपमा चित्रित गर्दै मैले साइबेरियन चरालाई स्वतन्त्रताको प्रतीकका रूपमा उतारेकी हुँ,’ उनले भनिन् ।


चित्रकार केशवराज खनाललाई पनि कुम्भ मेलामा नदी, डुंगा र साइबेरियन चराले तानेछ । डुंगा चढेर संगम परिक्रमा गर्दा उनका आँखा चराहरूको दैनिकीमा अडिए । यद्यपि उनले क्यानभासमा चित्रको सुरुआत अन्नपूर्ण र माछापुच्छ्रे हिमालबाट गरेका छन् ।


‘बाहिरी मुलुकमा बसेर चित्र कोर्दा आफ्नोपन कसरी झल्काउन सकिन्छ भन्ने चिन्तन आउँछ,’ केशवराजले भने, ‘यस्तो बेला दुवै मुलुकका सांस्कृतिक पक्ष झल्किने आकृति कोर्ने गर्छु । यसले आपसमा आत्मीयता बढाउँछ । नेपालका हिमाल र पहाड अनि भारतको कुम्भ मेलामा देखिएका नदी, डुंगा, चराका आकृति यो चित्रमा समायोजन गरेको हुँ ।’

यूपी आर्ट सर्कल लखनउद्वारा आयोजित कार्यशालामा काम गरिरहँदा केशवराजका चित्र हेरेर भारतीय दर्शकले हिमालकै बारेमा धेरै जिज्ञासा राखेका थिए । उनीहरूलाई केशवराजले नेपाल आएर हिमाल प्रत्यक्ष नियाल्न अनुरोध पनि गरेका थिए ।


एरिना ताम्राकार र समुन्द्रमानले भने आफ्ना काममा बाहिरी परिवेश मिसाएनन् । उनीहरूको मौलिकपन नै कलाको मूलधार थियो । समुन्द्रमानले ऐतिहासिक धरोहर संरक्षण गर्नुपर्ने थिम क्यानभासमा प्रस्तुत गरेका थिए । यो उनको पुरानै सिरिज हो । धमिलो रंग अनि निराश मुद्रामा देवताको आकृति उतारेका समुन्द्रमानले धेरै काम टेक्सचरमा गरेका छन् ।


‘भत्किएर जीर्ण हुन लागेका देवताको निराश मनस्थिति देखाउन मैले टेक्सचर शैली अपनाएको हुँ,’ समुन्द्रमानले भने ।

समुन्द्रमानका चित्रमा आशावाद पनि दृष्टिगोचर हुन्छ । दु:खी देवताले कमलको फूल समाएर हेरिरहेको आकृतिले उनको आशावादलाई प्रस्टयाउन खोजेको छ । अझै पनि हाम्रो संस्कृति बचाउन सकिने सन्देश उनले दिएका छन् ।


एरिना चाहिँ आफ्नो सिग्नेचर थिम ‘तेस्रो आँखा’ मै केन्द्रित थिइन् । प्राय: रातो रंग चलाउने उनले कार्यशालामा भने नीलो रंग छनोट गरिन् । दृश्य अवलोकनमा उनी नदीको रंगबाट प्रभावित भएको महसुस हुन्छ ।


‘शालीन र शान्त नदीजस्तै नारी मौनता क्यानभासमा झल्काउन खोजेकी हुँ, उनले भनिन् । आर्ट स्टुडियोमा भारतीय चित्रकारहरू अमित कुमार, सञ्जय के राज, चन्दन अग्रवाल, मनीषा अग्रवालका सिर्जना पनि थिए । ती चित्र निश्चित विषयमा केन्द्रित थिए । भारतीय कलामा प्राय: मुद्दा उठानमा जोड दिइएको थियो । प्रस्तुतिमा भने मौलिकताको कमी महसुस हुन्थ्यो ।


यूपी आर्ट सर्कलका अध्यक्ष चित्रकार जयकृष्ण अग्रवालले नेपाल र भारतीय कलाको अन्तर मौलिकतामा रहेको बताए । तीन पटक नेपाल घुमेका उनले थपे, ‘नेपाली चित्रकलामा मौलिकता हुन्छ । भारतीय कलामा अझै त्यसको अभाव छ ।’

प्रकाशित : फाल्गुन २, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?