२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कंगनाले आफ्नै बायोपिक निर्देशन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो पिरियड ड्रामा ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ बाट सफलता चाखेकी कंगना रनावतले एउटा ‘शाही घोषणा’ गरेर सबैलाई चकित तुल्याएकी छन् ।

कंगनाले आफ्नै बायोपिक निर्देशन गर्ने

मनमा कुनै कुरा नलुकाउनमा चिनिएकी अभिनेत्रीले बिहीबार आफ्नै बायोपिक निर्देशन गर्ने बताएकी छन् । ‘मणिकर्णिका...’ मार्फत निर्देशनमा पनि हात हालेकी उनले भनेकी छन्, ‘मेरो आफ्नै कथा मेरो अर्को निर्देशन हुनेछ । तर यो प्रोपगान्डा फिल्म होइन, मेरो फिल्मी यात्राको इमानदार प्रस्तुति हुनेछ ।’


भारतीय सञ्चार माध्यमहरूका अनुसार, त्यो बायोपिक ‘बाहुबली’ फेम केभी विजयेन्द्रले लेख्नेछन् । ‘मणिकर्णिका...’ पनि उनैले लेखेका थिए । ‘दुई साताअघि विजयेन्द्रजीले आफूलाई मेरोबारे कथा लेख्ने अनुमति दिन भन्नुभयो । यो सुनेर म नर्भस जस्ती भएँ । तर फेरि उहाँको व्यक्तित्व र विश्वनीयताले तत्कालै मेरो धक हटाइदियो र उहाँलाई अघि बढ्न भनिदिएँ ।’


सन् २००६ मा ‘ग्याङस्टर’ मार्फत बलिउडमा छिरेकी कंगनाले कैयौँ सफल फिल्म दिइसकेकी छन् । तीन चोटि त भारतको नेसनल अवार्ड नै पाइसकेकी छन् । तथापि ३१ वर्षीया अभिनेत्री केही वर्षयता अनेक विवादमा पर्दै आएकी छन् । अभिनेता हृत्तिक रोशनसँगको निकटता र बलिउडमा परिवारवादलाई प्रोत्साहन दिएकामा फिल्म निर्देशक करण जौहरसँग भनाभनका कारण कंगना समाचारहरूमा छाएकी थिइन् । तर, आँटिली उनले त्यस्ता सबै समस्याबाट पार पाउँदै पनि आएकी छन् ।


‘मणिकर्णिका...’ कै रिलिजका बेला पनि कंगनाले बलिउडमा ग्रुपिजम हावी रहेको भन्दै आफ्नो फिल्मलाई आमिर खान, आलिया भट्ट जस्ता कलाकारले सहयोग नगरेको गुनासो गरेकी थिइन् । बलिउडका ए–लिस्टर कलाकार आफूप्रति असहिष्णु बनेको र आफ्ना विरुद्ध गोलबद्ध भएको उनको आरोप थियो । उनले त्यस्ता कलाकारहरूले तिनका फिल्म सार्वजनिक हुने बेला सहयोगको अपेक्षा राख्ने तर आफ्ना लागि कहिल्यै सहयोगी नदेखिने उनको भनाइ थियो ।


खास गरी हृत्तिकसँगको प्रेम सम्बन्ध छताछुल्ल भएपछि र त्यसमा कंगनाले दिएका कडा अभिव्यक्तिपछि बलिउड उनीप्रति असहिष्णु रहँदै आएको हो । पछि करण पनि कंगनाको तारो बने । एकपछि अर्को सेलेब्रिटीका बारेमा तीतो पोख्न थालेपछि कंगना एक्लिएकी हुन् । तैपनि उनले आफ्नो पहिलो निर्देशन तथा अभिनय रहेको फिल्म ‘मणिकर्णिका...’ लाई आफू एक्लैको काँधमा राखेर सय करोड क्लबको सफलता दिलाइदिइन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?