भिन्न शैलीका गणेश
काठमाडौँ — भरतनाट्यम् नृत्य गर्दा गणेश देवतालाई स्तुति गर्ने मुद्राहरू छुट्टै हुन्छन् । तर गणेशले नै भरतनाट्यम् नृत्य गरेको भने सुनिँदैन । तर चित्रकार सुष्मा राजभण्डारीले गणेश आफैंले नै भरतनाट्यम् गर्दै गरेको पेन्टिङ बनाएकी छन् ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बुधबारसम्म चल्ने सामूहिक पेन्टिङ प्रदर्शनीमा ‘डान्सिङ गणेश’ शीर्षकमा सुष्माले नाच्दै गरेका गणेशलाई उतारेकी हुन् ।
प्रदर्शनीमा सुष्माका साथै चन्दा श्रेष्ठ, रत्नकाजी शाक्यका पेन्टिङ पनि प्रदर्शनमा छन् । सुष्माले गणेशकै शृंखलालाई यस प्रदर्शनीमा पनि प्राथमिकता दिएकी छन् । उनले कम्पोजिसन शीर्षकमा बनाएको पेन्टिङमा नेपालमा प्रख्यात चार विनायक अशोक विनायक (मरु गणेश), सूर्यविनायक, कार्यविनायक (चोभारको गणेश) र कमलविनायकको पेन्टिङ बनाएकी छन् ।
नेपालमा धार्मिक मान्यता अनुसार चार विनायक एकै ठाउँमा राखेर पूजा गर्यो भने घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता रहेको सुष्माले बताइन् । त्यसैगरी पौराणिक फलश्रुतिअनुसार एकैदिन यी चारै मन्दिर घुम्यो भने पुत्र प्राप्त हुन्छ भन्ने विश्वास छ । सुष्माले स्नातकोत्तर तहमा गणेशमाथि नै थेसिस गरेकी थिइन् ।
सुष्माका अनुसार, भारतमा आठ विनायक प्रख्यात छन् भने थाइल्यान्डमा बाह्र विनायक प्रख्यात छन् । जापानमा गणेशले जापानी राक्षस मारेको भन्दै पुज्ने चलन रहेको सुष्माले बताइन् । चीनमा पनि गणेशलाई पुज्ने गरेको र त्यहाँ चार हजार वर्ष पुरानो गणेशको मूर्ति भेटिएको दाबी पनि उनले गरिन् ।
प्रदर्शनीमा राखिएका प्राय: पेन्टिङमा गणेशले बन्चरो, रुद्राक्षको माला, मुला र लड्डु समातेको देखिन्छ । तर एउटा पेन्टिङमा भने गणेशले सर्प समातेका छन् र सर्पलाई नै कुल्चिएका छन् । सुष्माका अनुसार यो कमलपोखरीको गणेश हो । कमलपोखरीको गणेश मूर्तिलाई ध्यान दिएर नियाल्दा सर्प कुल्चिएको र समातेको देखिने उनले बताइन् । ‘कमलपोखरीको गणेशलाई विष्णुको अवतार पनि मानिन्छ,’ उनले भनिन् ।
सुष्माको एउटा पेन्टिङमा इन्द्रजात्राको परिवेश देखिन्छ । जहाँ कुमारीको रथ तानिसकेपछि हुने दाँगीको जात्रालाई उनले क्यानभासमा उतारेकी छन् । इन्द्र पारिजातको फूल चोर्न आउँदा काठमाडौंका स्थानीयले इन्द्रलाई समात्छन् र इन्द्र खोज्दै आएको ऐरावत हात्ती (पुलुकिसी) लाई पनि समात्छन् ।
त्यससँगै इन्द्रकी आमा पनि दाँगीको रूपमा आउँछिन् । पछिल्लो समय दाँगीको जात्रामा वर्षभरि मरेका मानिसहरूका परिवारजन पनि सहभागी हुन थालेका छन् । उनी भन्छिन्, ‘दाँगीसँगै आफ्ना मृतक आफन्तहरू स्वर्ग पुग्छन् भन्दै मृतकका आफन्तहरू दागीको पछिपछि लाग्ने चलन आएको छ ।’
त्यस्तै चित्रकार चन्दा श्रेष्ठ ल्यान्डस्केप गर्छिन् । उनले पेन्टिङमा विष्णु, मच्छिन्द्रनाथ, महादेव, चितवनका स्थलगत चिजहरूलाई पेन्टिङमा उतारेकी छन् । तेल रंगका माध्यमबाट गरिएका पेन्टिङमा उनले ‘डिटेलिङ’ लाई ध्यान दिएकी छन् ।
उनले नेवार परम्परालाई समेत आफ्नो पेन्टिङको विषय बनाएकी छन् । विवाहपछि पहिलोपटक दुलही माइत फर्कंदै गरेको परिवेशलाई उनले क्यानभासमा सजाएकी छन् । नेवार शैलीका घर, झ्याल ढोका, ढोकामा पौभा चित्र लगायत बनाएर उनले सांस्कृतिक कलाकौशललाई पनि उजागर गर्ने कोसिस गरेकी छन् ।
अर्का चित्रकार रत्नले भने राजधानीको असनदेखि इन्द्रचोकको सडक र घरहरूलाई विषय बनाएर पेन्टिङ गरेका छन् । उनको पेन्टिङ बुझ्नको लागि भने टाढाबाट नियाल्नुपर्छ । टाढाबाट हेर्दा उनको पेन्टिङमा काठमाडौंको काष्ठमण्डप, घर, घरका झ्याल, पसलमा झुन्डिएका सामानदेखि मानिसहरू पनि छुट्टिन्छन् । उनले यससँगै पछिल्लो महाभूकम्पपछिको वातावरण पनि पेन्टिङमा उतारेका छन् ।
प्रकाशित : फाल्गुन ५, २०७५ ०८:०५