२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अपर्याप्त प्रयास

सुशील पौडेल

काठमाडौँ — बलिउडले बासी बनाइसकेको फर्मुलामै फिल्म बन्ने आरोप खेप्दै आएका नेपाली फिल्मकर्मीले पछिल्लो समय आफ्नै कथा, परिवेश र पात्रलाई टिपेर फिल्म बनाउने प्रयास गर्नु राम्रो हो । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ पनि यही प्रयासको सिलसिला हो ।

अपर्याप्त प्रयास

व्यावसायिक धारका फिल्मबाट अलग रहेर बनेका यसअघिका धेरै फिल्मको समस्याजस्तै ‘बुलबुल’ मा पनि कथाको बहाव ढिलो र द्वन्द्वको ग्राफले उत्कर्ष लिन सकेको छैन । फिल्म पात्र, चरित्र र संवाद लवजकै भुमरीमा बढी रुमल्लिएको छ ।


वर्ष दिनकी छोरी छोडेर साउदी अरब गएको पतिलाई छ वर्षदेखि पर्खिरहेकी छे रणकला (स्वस्तिमा) । पतिले नै छोडेको टेम्पो चलाएर छोरीको पढाइ, होस्टेल खर्च र आफ्नो अनि पक्षाघात भएका ससुराको खर्चपानी पुर्‍याइरहेकी छे । भर्खर जवानीमा कुदिरहेकी रणकलाका लागि पैसाको भन्दा पतिको साथको खाँचो छ ।


छोरी पनि बाबाकै बारेमा बढी सोधेर हैरान दिन्छे । ‘पति पाल्न र छोरी पढाउनकै लागि पैसा त मै पनि कमाउन सक्छु नि,’ रणकलामा यति भन्ने हिम्मत छ । तर टेम्पो मिस्त्रीदेखि यात्रुसम्मले गर्ने छेडखानीमा विरोध जनाइहाल्ने हिम्मत छैन । आफ्नै टेम्पोचालक साथी भीमा (लक्ष्मी) का पतिले च्वाप्पै म्वाइँ खाएर जाँदा पनि खासै प्रतिक्रिया जनाउँदिन । गरिबीले जति गाँजे पनि ओठमा लाली र आँखामा गाजल लगाएर सक्दो चिटिक्क परेरै टेम्पो लिएर निस्कन्छे ।


उता, राजधानीमा रात्रिकालीन चौकीदारी गर्ने अर्घाखाँचीको चोपेन्द्र (मुकुन) रणकलाको जिन्दगीमा प्रवेश गर्छ । पतिको बाटो पर्खेर बसिरहेकी रणकलाको बाटो अचानक चोपेन्द्रले छेकेपछि ऊ कस्तो निर्णय लिन्छे होला ? अथवा, परिस्थितिले कस्तो मोड लिन्छ होला ? रणकलाका लागि यौनकुण्ठाले बढी च्याप्छ वा पारिवारिक, सामाजिक प्रतिष्ठाले ? फिल्मले ओपन इन्डिङ दिएर यसमा दर्शकलाई नै सोच्ने सहुलियत दिएको छ ।


यसअघि पनि ‘साँघुरो’ जस्तो वैकल्पिक धारको फिल्मको पटकथा लेखेर प्रशंसा बटुलेका विनोद पौडेल यसपटक ‘बुलबुल’ बाट निर्देशनमा पनि होमिएका हुन् । आफ्नै कथालाई पटकथामा ढालेकाले उनको फिल्म चेतबारे जानकारका लागि यो फिल्म अपेक्षित पनि हो । पात्र निर्माण, तिनको संवाद, लवज र लवाइखवाइमा पौडेल जति प्रस्ट छन्, उति नै विषयप्रवेशमा ढिलो, कथा बहावमा सुस्त र कथा बैठानमा चुस्त बन्न सकेका छैनन् ।


छायांकन, सेटअप फिल्मको मुडअनुसार अब्बल छन् । पृष्ठभूमि संगीत मध्यम छ । यसले पनि फिल्मको साख जोगाउन मद्दत गरेको छ । त्यसबाहेक निर्देशकले फिल्ममा बिम्बको मीठो प्रयोग गरेका छन् । सुरुवातदेखि लिन्ठिङ लिन्ठिङ हल्लिरहेको चक्काकै भरमा गुडिरहेको रणकलाको टेम्पो उनकै पक्षाघात भएका ससुरा स्याहार्दै चलिरहेको जीवनभन्दा फरक छैन । साहुले पासपोर्ट जफत गरेकैले घर फर्कन र पैसा पठाउन नपाएको पति कुरेकी रणकलाको मोबाइल रिङटोन गीत ‘मेरो जीवनबाट जाने भए जाऊ...’ ले उसकै व्यथा बोलिरहेको भान हुन्छ । यिनले फिल्मको सौन्दर्य बढाउन छिटपुट काम गरेका छन् ।


‘बुलबुल’ को सरप्राइज प्याकेज चोपेन्द्रको चरित्र निर्वाह गरेका मुकुन हुन् । उनले अर्घाखाँचीको पृथक् लवज पस्कनेदेखि अभिनय (सुरुमा केही लाउड लाग्छ) सम्म सबैमा न्याय गरेका छन् । रणकलाको भूमिकामा स्वस्तिमा र पतिको प्रताडना सहेर पनि जीवन चलाइरहेकी भीमाको भूमिकामा लक्ष्मीको अभिनय सहज छ तर पटकथा भने सहायक पात्र र तिनका उपकथालाई मूल कथा र मूल पात्रसँग एकाकार गराउनबाट चुकेको छ ।


आफूले पाएको दु:ख छोरीले नपाओस् भनेर छोरीलाई धेरै पढाउने संकल्प गरेकी रणकला मजदुरीका लागि बिदेसिएको आफ्नो पतिका पक्षाघात भएका बाबुलाई भने आश्रममा लगेर मिल्काउन चाहन्छे, आफ्नो नयाँ गन्तव्यको अवरोध ठान्दै । यसले रणकलाको स्वार्थी मनोवृत्ति झल्काउने हुँदा दर्शकमा फिल्मको मूल चरित्र कमसल लाग्ने डर उत्तिकै छ ।


छोराछोरीले नहेरे पनि बुहारीले नै संरक्षण दिइरहन्छु भन्ने सोच पालेको भए रणकलाको नायकत्व स्थापित हुन सक्ने सम्भावना थियो । उनले बिग्रेको पांग्रा त फेरिनन् नै, टेम्पो नै छोडिदिइन् । हरेक असल प्रयास प्रशंसाको हकदार पक्कै हुन्छन् तर सबै प्रयास सार्थक नहुन पनि सक्छन् । पर्याप्त नहुन पनि सक्छन् ।


वैकल्पिक धारमा रहेर आफ्नै समाजका भुइँपात्र र तिनका सामान्य लाग्ने असामान्य कथालाई उनेर फिल्म बनाउनु ‘बुलबुल’ को असल प्रयास हो । फिल्मले जैविक खुराक दर्शकलाई चखाउन त खोज्यो तर त्यसको पक्वानमा पर्याप्त ध्यान दिन सकेन । स्वादलाई थाँती राखेर कसैले यस्ता खुराक खाने जमर्को गर्छ भने तिनका लागि ‘बुलबुल’ मध्यम फिल्म हो ।


फिल्म समीक्षा

बुलबुल

निर्देशक :विनोद पौडेल

कलाकार :स्वस्तिमा खड्का, मुकुन भुसाल, लक्ष्मी बर्देवा, जोयश पाण्डे, दीपक क्षत्रीलगायत ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?