२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘लुट्न सके लुट् कान्छा’ : व्यंग्यलाई बारबेर !

पशुपतिले नियतवश पार्टीको पक्ष–विपक्षमा बोल्नुभएको हो जस्तो लाग्दैन । तर, अहिले हामी स्वतन्त्रताको उचाइमा छौं भन्दैमा जे भन्न खोजेको हो, त्यो डाइरेक्ट भन्नुपर्छ भन्ने छैन ।- मनोज गजुरेल, हास्यव्यंग्य कलाकार
सुनीता साखकर्मी

काठमाडौँ — प्रसंग १ 
‘चढ्न नि हुने, जोत्न नि हुने, तर त्यसको गोबरले पोत्न नहुने, मुख नभा ’को, पुच्छरमा टाउकोमा गा ’को, त्यो के हो ?’ 
‘भैंसी’
‘हैन ।’

‘लुट्न सके लुट् कान्छा’ : व्यंग्यलाई बारबेर !

राष्ट्रिय गाउँ खाने कथा प्रतियोगिता भाग १ मा मदनवंश (मदनकृष्ण श्रेष्ठ) ले सोधेको प्रश्नको उत्तर थाहा नभएपछि हरिकृष्ण (हरिवंश आचार्य) ले काठमाडौं नगर पञ्चायत दिँदै ‘उत्तर के त ?’ भनेर सोध्छन् ।


काठमाडौं नगरपञ्चायतको सेरोफेरो सबै आफ्नो भन्दै मदनवंशले जवाफमा भन्छन्, ‘नेपाली जनता नि ! नेपाली जनतालाई चढ्न ’नि हुन्छ, जोत्न ’नि हुन्छ । नेपाली जनताको मुख छैन, त्यसले जे गरे ’नि बोल्दैन ।’


पञ्चायती कालमा पनि हलमा उपस्थित दर्शकहरू गलल्ल हाँस्छन् ।


प्रसंग २

‘पार्टीको कार्यकर्ता भएपछि मुसाको पनि यत्रो पावर ! मुसाको जति पनि पावर नभएको जागिर के खानु ! धिक्कार नै हो ।’


राजनीतिक दलका कार्यकर्ताबारे यसै भनेका छन्, मदनकृष्ण श्रेष्ठले ‘धूम्रकेतु’ प्रहसनमा । सप्रमाण पक्रिइएको अपराधीलाई छोड्न राजनीतिक दलका नेताको दबाब आएपछि मदनकृष्णले यही प्रहसनमा व्यंग्यात्मक गीत पनि गाउँछन् :


आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ

नियमकानुन मिच्नेलाई ’नि छोड्नुपर्‍या छ ।

हलभरि हाँसो गुन्जिन्छ ।


प्रसंग ३

हास्यव्यंग्यकार शैलेन्द्र सिम्खडा देश तथा विदेशमा कार्यक्रम गर्न पुग्दा कविता वाचन गर्छन् । युट्युबमा विभिन्न च्यानलले अपलोड गरेका उनका भिडियोहरू हेर्ने र उनलाई मन पराउने दर्शक पनि धेरै छन् । एक पटकको कवितामा शैलेन्द्र भन्छन् :


देशको परिस्थिति

मुटु जलेर जेठ जस्तो

मन भत्किएर असार जस्तो

आँखा बर्सिएर श्रावण जस्तो

यति राम्रो देशमा जन्मिएर पनि कष्ट भोग्नुपर्ने

किनकि नेता छानेछौं रावण जस्तो ।

०००


विगतमा कलाकारहरूले सत्तालाई निसाना बनाएका व्यंग्यवाणका केही नमुना हुन् यी । हास्यव्यंग्यको इतिहास हेर्दा प्राय: राजनीतिक दल, नेता र कार्यकर्ता नै तारो बन्ने गरेको पाइन्छ । सामाजिक व्यंग्य पनि नभएका होइनन्, तर धेरैजसोले सुरुदेखि नै समसामयिक राजनीतिलाई व्यंग्यको माध्यमका रूपमा प्रयोग गर्दै आएका छन् ।


यही पृष्ठभूमिमा गायक पशुपति शर्माले पनि ‘लुट्न सके लुट् कान्छा...’ शीर्षक व्यंग्यगीत तीन दिनअघि युट्युबमार्फत सार्वजनिक गरे । यो गीत केही बेरमै युट्युब नेपाल ट्ेरन्डिङको शीर्ष १० मा समेत पर्‍यो । तर, पशुपतिको गीतको भाग्य उपर्युक्त तीनवटा उदाहरणको जस्तो रहेन ।


किन उठ्यो विवाद ?

पशुपतिको गीत सार्वजनिक भएपछि सत्तानिकट व्यक्ति र समूहहरूबाट गीतको विरोध हुन थाल्यो । सामाजिक सञ्जाल चलाउनेहरू पक्ष–विपक्षमा धु्रवीकृत भए । सत्तासीन नेकपाको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष किरण पौडेलले उक्त गीतले सरकार र सम्बद्ध दलको मानमर्दन गरेको दाबी गर्दै फेसबुकमा लामो पोस्ट राखे ।


उनले त्यो गीतमा भएका ‘कमजोरी’ बुँदागत रूपमा उल्लेख गर्दै पशुपतिका कार्यक्रमहरू आ–आफ्ना ठाउँमा बहिष्कार गर्न–गराउन युवा साथीहरूलाई अपिल गरे । पशुपतिले भिन्न राजनीतिक झुकाव र चरित्रको कारण योजनाबद्ध हिसाबले कम्युनिस्ट पार्टीलाई खुइल्याउँदै चुनावी गीत जस्तो गरी कांग्रेस पार्टीको पक्षपोषण गरेको पौडेलको आरोप थियो ।


उक्त गीतमा ‘डेढ अर्बको हेलिकप्टर’, ‘यमराजको शासन’, ‘कुकुर’, ‘वाइड बडी’ जस्ता शब्दावली प्रयोग हुनुले पशुपतिको दुर्नियत देखिएको भन्दै उनले पशुपतिलाई समयमै आफ्ना ज्ञात–अज्ञात गम्भीर त्रुटि नसच्याए उनको करिअरमा असर पर्न सक्ने कदम चाल्न आफू बाध्य हुने धम्कीसमेत दिएका थिए ।

विवादले थामिने नाम नलिएपछि पशुपतिले युट्युबबाट भिडियो हटाए, सुधारेर अपलोड गर्छु भन्दै । उनले पनि युवा संघलाई प्रस्टीकरण जस्तो फेसबुकमा लामै पोस्ट राखेका थिए । पौडेलले यसका लागि पशुपतिलाई धन्यवाद दिए र विकृति–विसंगतिविरुद्ध अझ सशक्त रूपमा आवाज उठाउनका लागि कामना गर्दै आइन्दा कुनै निश्चित विचार र समुदायप्रति पूर्वाग्रह नझल्काउन घुमाउरो चेतावनीसमेत दिए ।


गीत जस्ताको तस्तै युट्युबमा राख्न आग्रह

पशुपतिले गीत युटयुबबाट निकालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले त्यसबारे पुनर्विचार गर्न पशुपतिलाई आग्रह गरेको छ । गीतबारे बहस चुलिएपछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले यस्तो अनुरोध गरेको हो ।

प्रतिष्ठानले उक्त गीत डिजिटल प्लेटफर्ममा राख्ने वा हटाउने सम्बन्धमा कहीँकतैबाट आधिकारिक निवेदन, अनुरोध वा जानकारी संस्थामा नआएको, गीत हटाउने विषयलाई लिएर संस्थामा कसैले पनि औपचारिक प्रस्ताव दर्ता नगराएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्द कलाकार आफैंलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ, तर कुनै दबाब या धम्कीका कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ ।’

पशुपति प्रतिष्ठानका उपाध्यक्षसमेत हुन् ।


म जनताको गीत गाउने मान्छे : पशुपति

‘लुट्न सके लुट् कान्छा’ गीतमा प्रयुक्त शब्द र फुटेजमाथि युवा संघले आपत्ति जनाएपछि आफूले भिडियो हटाएको पशुपतिले स्विकारे । तर नियतवश कसैको आत्मसम्मानलाई हानि पुर्‍याउने किसिमले फुटेज र फोटो वा शब्दको प्रयोग नगरेको उनले प्रस्ट्याए ।

लोकगीतले लोकका भाव, मर्म बोक्नुपर्छ र केही न केही सन्देश सम्प्रेषण गर्नुपर्छ भनेरै आफूले सिर्जना गर्दै आएको उल्लेख गर्दै पशुपतिले कान्तिपुरसँग आइतबार राति भने, ‘बाटोमा हिँडिरहँदा आमा, हजुरआमा, बुवाहरूले भनेका कुराहरूलाई टपक्क टिपेर गाउने प्रयास गरेको हुँ । मेरो सिर्जनाले कसैको आत्मसम्मानमा ठेस पुग्छ भने मलाई पनि सन्तुष्टि हुन्न । म त जनताको गीत गाउँछु । जे देख्यो त्यही गाउँछु । मैले गाएको, लेखेको गीत सुन्नेलाई यसले त ठीक भन्यो है भन्ने पर्‍यो भने आफूलाई पनि मजा हुन्छ । कसैको आत्मसम्मानमा ठेस पुग्छ भने, कसैलाई चित्त दुख्छ भने मैले एउटा शब्द फेर्दैमा साह्रै घटेर सानो हुने पनि हैन । जिन्दगीभरि सरलतामा बग्नु पनि राम्रो हो, जटिलतामा दौडनुपर्छ भन्ने पनि त हैन ।’ युवा संघको आपत्तिलाई आफूले अन्यथा नठानेको पनि सुनाए ।

प्रतिष्ठानले कलाकारलाई समर्थन गर्दै र भ्रष्टाचारमाथि कलाकारले बोल्न पाउनुपर्ने भन्दै विज्ञप्ति निकालेकामा आफूलाई राम्रो लागेको पशुपतिले बताए । ‘तर, उक्त गीत प्रतिष्ठानको आग्रहबमोजिम पूर्ववत् अपलोड गर्ने वा सम्पादनसहित अपलोड गर्ने भन्नेबारे मैले सोच्न भ्याइसकेको छैन । कार्यक्रममा व्यस्त भएको हुनाले आइतबार मात्रै काठमाडौं आइपुगेँ । सोमबार यसबारे निर्णय गर्छु ।’


‘समालाेचना हुनु राम्रो’

लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमै जमेका कलाकार मनोज गजुरेलका अनुसार, स्रष्टाको रचनामा आलोचना वा समालोचना हुनु राम्रो हो । पशुपतिको गीतको विवादबारे उनले भने, ‘पशुपति नेपाली माटो बुझेको सर्जक हुनुुहुन्छ । जनताको लवजलाई आफ्ना रचनामा प्रस्तुत गर्ने गायकमा पर्नुहुन्छ । उहाँले नियतवश पार्टीको पक्ष–विपक्षमा बोल्नुभएको हो जस्तो लाग्दैन ।’

सुरुदेखि नै हास्यव्यंग्यमा घोचपेच वा त्रुटिलाई हास्यव्यंग्यकारले प्रस्तुत गर्दै आएको उल्लेख गर्दै उनले पहिले हुने व्यंग्यहरूमा कलात्मक पक्ष बलियो रहने गरेको बताए । ‘पहिले राजा र पञ्चायतको समयमा गरिने व्यंग्यहरू कलात्मक हुने भएकोले जसलाई व्यंग्य गरेको हो, त्यसैलाई थाहा भएन होला,’ उनले भने, ‘अहिले हामी स्वतन्त्रताको उचाइमा छौं । समय परिवर्तन भयो भन्दैमा स्रष्टामाथि कसैले नियन्त्रण गर्न चाहिँ सक्दैन ।’

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?