कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायली फिल्मलाई गोल्डेन बियर

कान्तिपुर संवाददाता

(बर्लिन) — इजरायली फिल्म ‘सिनोनियम्स’ लाई उत्कृष्ट फिल्मको गोल्डेन बियर सुम्पिँदै ६९ औं बर्लिन फिल्म फेस्टिभल सकिएको छ ।

इजरायलबाट फ्रान्स आएको यहुदी युवाले पेरिसमा आफ्नो पहिचान लुकाउन गर्ने प्रयत्नबारे यो फिल्म बनेको छ । फिल्मलाई इजरायली निर्देशक नादाव लुपिडले निर्देशन गरेका हुन् । यो उनको आफ्नै भोगाइमा आधारित फिल्म हो ।

इजरायली फिल्मलाई गोल्डेन बियर

फ्रान्सेली अभिनेत्री जुलियट बिनोसे नेतृत्वको जुरीले शनिबार यो घोषणा गरेको हो । पुरस्कार वितरण समारोहमा निर्देशक नादावले यो फिल्मलाई आफ्नी आमाले अन्तिम साससम्म सम्पादन गरेको बताए । ‘फिल्मको आधा सम्पादन अस्पतालमा र आधा स्टुडियोमा गरियो,’ उनले भने । उनले यो फिल्मले फ्रान्स र इजरायल दुवैतिरका दर्शकलाई असन्तुष्ट बनाउन सक्ने खतरा रहेको औंल्याउँदै आफूले भने यसलाई स्क्यान्डलका रूपमा नबनाएको बताए । ‘म यसलाई राजनीतिक भनाइका रूपमा नभई सिनेमाको सेलिब्रेसनका रूपमा ग्रहण गरिदिन सबै दर्शकलाई अनुरोध गर्छु,’ उनले भने । पछिल्लो समय फ्रान्समा यहुदीहरूमाथि हमला भएका समाचार आएका थिए ।


ग्रान्ड जुरी सिल्भर बियर अवार्ड फ्राँस्वाँ ओजोको ‘बाई द ग्रेस अफ गड’ ले हात पार्‍यो । क्याथोलिक चर्चमा बाल यौन हिंसाको सिकार भएका पीडितको न्यायको संघर्षमा यो फिल्म बनेको हो ।


महिला निर्देशकका फिल्मको बाहुल्य रहेको यस वर्ष जर्मन निर्देशक एंगेला सेनेलिकले ‘आई वाज एट होम, बट’ का लागि उत्कृष्ट निर्देशकको सिल्भर बियर पाइन् ।


उत्कृष्ट अभिनेता र अभिनेत्री दुवै विधामा चिनियाँ कलाकार अब्बल ठहरिए । ‘सो लङ, माइ सन’ शीर्षक सुन्दर पारिवारिक कथाका लागि वाङ जिङ चुनले अभिनेता र योङ मेईले अभिनेत्रीको अवार्ड पाए । वाङ चियाबोउईको फिल्ममा यी दुई पतिपत्नीको भूमिकामा थिए । वाङ तिनै निर्देशक हुन् जसको फिल्म ‘बेइजिङ बाइसाइकल’ ले विश्वभर चर्चा पाएको थियो ।


पटकथा विधामा ‘पिरान्हाज’ उत्कृष्ट भयो । चिनियाँ निर्देशक चाङ यिमाउको फिल्म ‘वान सेकेन्ड’ अन्तिम समयमा प्रतिस्पर्धाबाट बाहिरिएको थियो । फिल्मको प्राविधिक काम नसकिएकाले सहभागी नभएको जानकारी फेस्टिभलले दिए पनि यसमा राजनीतिक कारण भएको र फिल्म चिनियाँ सरकारको सेन्सरमा परेको अनुमान धेरैले गरेका छन् ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?