३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘मेरो गाउँ, मेरो भिडियो’ च्यालेन्ज

कान्तिपुर संवाददाता

बिर्तामोड — वी विल राइज (हामी उठ्ने छौं) फाउन्डेसन ले केही समयअघि घोषणा गरेको थियो, ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज । त्यही मेसोमा फाउन्डेसनको टोली देश दौडाहामा छ ।

फाउन्डेसन निर्देशक निर्मल श्रेष्ठ, संस्थापक मुकुन्द बोगटी, १३ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पा र आरोही देउराली चाम्लिङ शनिबार झापामा थिए । करिब एक घण्टा स्थानीय सञ्चारकर्मीसँग गफिए ।

‘हाम्रो मूल उद्देश्य भनेकै पर्यटन वर्षको प्रचारप्रसारमा सहयोग गर्ने हो,’ फाउन्डेसन निर्देशक श्रेष्ठले भने, ‘देशका नयाँ गन्तव्यको प्रवद्र्धन गर्न भिडियो च्यालेन्ज गरेका हौं ।’ सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरिसकेको छ । फाउन्डेसनले देशभरका सञ्चारकर्मी र सर्वसाधारणसँग भिडियो तयार पार्न आग्रह गर्दै सुझावसमेत संकलन गरिरहेको छ ।


काठमाडौंसहित देशको पश्चिम क्षेत्रमा गरिएका कार्यक्रमहरूमा मिडियाकर्मीदेखि सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको श्रेष्ठले बताए । फाउन्डेसनले वीरगन्ज, जनकपुर, इटहरी, धनकुटा लगायतमा अन्तरक्रिया गरिसकेको छ ।


‘कार्यक्रममा मिडियाकर्मीसँगै इच्छुक सबैले भाग लिन पाउँछन्,’ बोगटीले भने । उनका अनुसार फाउन्डेसनले केही समययता ‘जब चिनिनेछ तपाईंको गाउँठाउँ तब खुल्नेछ तपाईंको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ । ‘अहिलेसम्म सिनेमा, खेलकुद, सरकार र समाजका अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूले यस अभियानको प्रचारमा सहयोग गर्दै भिडियो सन्देश दिइसकेका छन्,’ बोगटीले भने ।


नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, कलाकारहरू भुवन केसी, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, कोमल वली, श्वेता खडका र जितु नेपाल, खेलाडीहरू दीपक विष्ट र सोमपाल कामी, मिस नेपाल शृंखला खतिवडा, क्याप्टेन विजय लामा लगायतले भिडियोमार्फत अभियानको प्रचार गरेका छन् ।


देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवद्र्धन गर्नु भिडियो च्यालेन्जको उद्देश्य हो । ‘पर्यटकीय सम्भावना बोकेका क्षेत्र धेरै छन्,’ श्रेष्ठले थपे, ‘तर, प्रचारमा छैनन् । ती ओझेलमा परेका क्षेत्र, लोप हुन लागेको जातिको पहिचान र संस्कृति बाहिर ल्याउनु हाम्रो ध्येय हो ।’


छानिएकामध्ये १० वटा भिडियोबीच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट भिडियोले १ लाख रुपैयाँ नगद पाउनेछ । दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाउनेछन् । पब्लिक च्वाइसमा परेको अर्को भिडियोलाई पनि १ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?