गायक श्रेष्ठको अभिनन्दन

कान्तिपुर संवाददाता

(सुनसरी) — दीप श्रेष्ठ संगीत क्षेत्रमा लामो कालखण्डदेखि सक्रिय रहिरहेका थोरै नेपाली संगीतकर्मीमा पर्छन् । अविराम संगीतकर्ममा ५० वर्ष बिताएका यी गायक/संगीतकारलाई गृहनगर धरानमा अभिनन्दन गरिएको छ । 

गायक श्रेष्ठको अभिनन्दन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शनिबार साँझ आयोजित समारोहमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले श्रेष्ठलाई नेपाल क्लव हङकङका तर्फबाट अभिनन्दनपत्र प्रदान गरे । उनलाई ढाकाटोपी र दोसल्ला पहिर्‍याएर सम्मानसमेत गरे ।


दर्जनौं कालजयी गीत दिएर नेपाली संगितलाई धनी बनाएका गायक श्रेष्ठले २०२५ मा पहिलो गीत ‘म पत्थरको देवता हैन’ रेकर्ड गराएर संगीतको औपचारिक यात्राको सुरु गरेका थिए । यही गीत रेकर्डका आधारमा श्रेष्ठले सांगीतिक यात्राको आधा शताब्दी पूरा भएको अवसर पारी नेपाल क्लब हङकङले अभिनन्दन गरेको हो ।


‘नेपाली सांगीतिक आकासमा श्रेष्ठजीको योगदान अतुलनीय छ,’ मुख्यमन्त्री राईले भने, ‘उहाँ धरान र प्रदेशको मात्र नभई देशकै अमूल्य गहना हुनुहुन्छ । राज्यले उहाँ जस्ता कलाकारको पहिचान र कदर गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन । फागुन अन्तिममा यो प्रदेशमा हुने चलचित्र महोत्सवमा प्रदेश सरकारले पनि उहाँलाई सम्मान गर्नेछ ।’


अभिनन्दन समारोहमा प्रदेशका सभामुख प्रदीप भण्डारी, धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भन्डारी सुवेदी, आयोजक नेपाल क्लव हङकङका प्रदीप थापा लगायतले गायक श्रेष्ठलाई फुल, माला र खादा लगाएर नागरिक अभिनन्दन गरे । समारोहमा पूर्वका संगीतकर्मी, रंगकर्मी, चलचित्रकर्मी, व्यवसायी, राजनीतिक दलका नेता र सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति थियो ।


गृहनगरमा अभिनन्दित भएपछि भावुक भएका श्रेष्ठले भने, “२०२५ सालको पुस १ गते धरानबाट नाटक लिएर काठमाडौं गएको टोलीमा म पनि थिएँ । त्यस बेला राजा महेन्द्रका अगाडि मैले ‘म पत्थरको देउता होइन’ गाएपछि त्यसको भोलिपल्टै रेडियो नेपालमा मेरा दुइटा गीत रेकर्ड भएका थिए । त्यसपछि म संगीत क्षेत्रमा सक्रिय भएर लागें । आज परिणामस्वरुप आफ्नै गृहनगरमा मेरो सांगीतिक यात्राको स्वर्ण उत्सव मनाउन पाएं ।’


श्रेष्ठले बीचबीचमा आफ्ना गीत सुनाउँदै धरानमा बितेका बालापन, किशोर अवस्था र सांगीतिक यात्राका संघर्ष, परिवारमा आइपरेका घटना पनि साझा गरे । उनले ‘म पत्थरको देवता होइन’, ‘म त दूरदेखि आएँ’, ‘कति कमजोर रहेछ भाग्य’, ‘भन्थिन् मेरी उनी’, ‘हुँ यात्री एउटा’, ‘हर रात सपनीमा’, ‘जति हाँसूँ भन्छु’, ‘मुटुको ढोका’, ‘साइँली बरी चिया बारीमा’, ‘बितेका कुराले’ जस्ता गीत सुनाएका थिए । उनलाई श्रीमती गायिका सोफिया गुरुङ श्रेष्ठ र गायिका तायाहाङ्मा राईले गायनमा साथ दिएका थिए ।


गायक श्रेष्ठलाई अभिनन्दन गर्नुअघि धरान संगीत प्रतिष्ठान र सेवक अभियानका तर्फबाट नगर परिक्रमा गराइएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?