कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पलेँटीमा महिला संगीतकर्मी 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली संगीतमा मल्लकालीन समयसम्म महिलाहरूको उपस्थिति देखिँदैन । त्यसपछि उदाए वा उदाएनन्, यो पनि अज्ञात नै छ । तर राणाकालीन समयदेखि भने केही महिला संगीत क्षेत्रमा देखिने गरी नै प्रवेश गरे ।

पलेँटीमा महिला संगीतकर्मी 

र, पहिलो रेकर्डेड गायिकाको पहिचान गायिका बनाइन् मेलवा देवीले । उनको चिनारी कस्तो बन्यो भने, ‘ठुमरीकी रानी’ को उपनामले समेत चिनिन्थिन् ।


लामो अन्तरालपछि पुनः सुरु भएको पलेँटीको शुक्रबारको पहिलो प्रस्तुतिको सुरुवात गायिका मीना निरौलाले उनै मेलवा देवीको गीतमार्फत गरिन् :

न घरलाई घर कहिन्छ

नारी नै दरबार हो...


शुक्रराज शास्त्रीले महिलाका विशेषतालाई उतार्दै लेखेको गीतलाई पलेँटी कसेर मीनाले सुनाउँदै गर्दा दर्शकश्रोता नोस्टाल्जिक भए । कालिकास्थानस्थित नेपालयको आरशालामा दर्शकश्रोताले साढे दुई घण्टा मेलवासँगै नेपाली सांगीतिक क्षेत्रमा केही महिलाले गाएका डेढ दर्जन गीत मीनाको स्वरमा सुन्ने अवसर पाए ।


नेपालयले सञ्चालन गर्दै आएको यो शृंखलामा पलेँटी संयोजक आभाषले नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूसँगको संस्मरणसँगै उनीहरूले विगत र वर्तमानमा नेपाली संगीतको क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चासमेत गरे । मेलवादेवीबाट सुरु भएको शृंखलामा मीनाले क्रमशः कोइलीदेवीको ‘सम्झिरहन्छु निशदिन केवल हजुरलाई....’, तारादेवीको ‘फूलको थुंगा बहेर गयो...’ गाइन् ।


आभाषका अनुसार, नेपाली संगीत क्षेत्रमा नेपाली मूलका भारतीय गायिकाहरूले पनि ठूलो योगदान पुर्‍याएका छन् । ‘सन् १९९४ तिर म पहिलोपटक दार्जिलिङ पुगेको थिएँ, घुम्दै गर्दा मामाले अरुणा लामालाई चिनाए,’ आभाषले अरुणासितको संस्मरण साझा गरे, ‘रेडियोबाट गीत सुन्दै गर्दा उनी दार्जिलिङकी बासिन्दा हुन् भन्ने पनि थाहा थिएन । अरुणाको स्वरमा अद्भुत आकर्षण थियो ।’


त्यसपछि मीनाले अरुणा लामाको ‘सबैले भन्थे....’ गाइन् । नेपाली संगीतमा शान्ति ठटालको योगदान पनि उदाहरणीय छ । स्वतन्त्रसँगै थुप्रै फिल्मी गीतमा उनले संगीत दिएकी छन् । उनैको ‘उडिजाऊँ भने म पन्छी हैन..’, ‘सम्हालेर राख, सँगालेर राख...’ कार्यक्रममा गाइयो ।


त्यस्तै, डेजी बराइलीको ‘एउटा खुल्ला किताब हुँ म...’, दावा ग्याल्मोको ‘सहरभित्र केको हल्ला...’, गौरी केसीको ‘रानी तलाउ किनारा...’, तारा थापाको ‘तारी नदेऊ हे माझी दाइ...’, मीरा राणाको ‘मखमली चोलो चाहिँदैन...’, हीरादेवी वाइबाको ‘फरिया ल्याइदेछन्, तैपनि राता घनन..’, सुनीता सुब्बाको ‘चिरबिर गर्ने चरीको स्वरले..’ , लता मंगेशकरले गाएको नेपाली गीत ‘आकाशको तिरमिरे तारा...’, उनकै बहिनी उषा मंगेशकरको स्वर रहेको ‘वसन्त नै बस्न खोज्छ..’ पनि मीनाले गाइन् । गायिका हीरादेवीसित भेट्ने कोसिस गर्दागर्दै पनि भेट्न नपाएको सुनाइरहँदा आभाषको गला अवरुद्ध भएको थियो, आँखा रसाएका थिए ।


माइत मणिपुरबाट काठमाडौँमा घर बनाएकी मीनाले आफैँले गाएको मणिपुरी गीत पनि सुनाइन् । कार्यक्रमको अन्त्य पनि मेलवादेवीकै गीत ‘सवारी मेरो रेलैमा...’ बाट गरियो । पलेँटीमा वाद्यवादनमा सुरज, सुन्दर, बुद्ध, दिनेश र सन्देशले साथ दिएका थिए । पलेँटी अब भने तीनदिने हुने नेपालयले जनाएको छ । सुरुमा महिनाको अन्तिम सप्ताहान्त शुक्रबारदेखि आइतबारसम्म प्रस्तुत गरिने कार्यक्रममा दर्शकश्रोताको चासो बढ्दै गए एक सातासम्म चलाइनेछ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?