३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हुँदै छ अन्तर्राष्ट्रिय नाट्य मेला

८ देशका ३० नाटक काठमाडौंमा 
१३ देशका रंगकर्मी एकै ठाउँ
कान्तिपुर संवाददाता

काठमाडौँ — आउँदो साता राजधानी रंगमञ्चमय हुँदै छ । सहरका सबै थिएटरहरू व्यस्त हुनेछन् । मुलुकभित्रका मात्रै हैन, एसियादेखि युरोपसम्मका रंगकर्मी भेला हुनेछन्, नाटक मञ्चन गर्नेछन्, अन्तरक्रिया र कार्यशालामा पनि भाग लिनेछन् ।

हुँदै छ अन्तर्राष्ट्रिय नाट्य मेला

राजधानीमा क्रियाशील विभिन्न सात वटा नाट्य समूहले पहिलो पटक अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्न लागेका हुन् । सोमबार उद्घाटन हुने महोत्सवका लागि मुलुकबाहिर इटलीदेखि मुलुकभित्र कर्णालीसम्मका रंगकर्मीहरू राजधानी आइसकेका छन् । उनीहरू धमाधम रिहर्सल जुट्दै छन् ।


शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार महोत्सवमा नेपालसहित विभिन्न आठवटा मुलुकका नाट्यकर्मीहरूका ३० वटा नाटक छानिएका छन् । ती नाटकहरू अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीस्थित शिल्पी थिएटर, त्रिपुरेश्वरस्थित कौशी थिएटर, कीर्तिपुरस्थित थिएटर मल, स्वयम्भू होटल बज्रस्थित नागा थिएटरमा मञ्चन हुनेछन् । ‘सबै थिएटरमा रंगमञ्चसम्बन्धी तस्बिर प्रदर्शनी पनि हुनेछन्,’ महोत्सवका संयोजक सोमनाथ खनालले भने, ‘त्यसका लागि दुई सयवटा नाटकका तस्बिरहरू छानेका छौं ।’


सामाजिक रूपान्तरणका लागि कला–यात्रा

कला केका लागि ? लामो समयदेखि बहसको विषय बन्दै आएको छ । महोत्सवले भने ‘सामाजिक रूपान्तरणका लागि कला–यात्रा’ भन्ने थिम तय गरेको छ । यही थिमअनुसार रंगकर्मी अनुप बराल, विमल सुवेदी, कला अभियन्ता अस्मिना रञ्जित, साहित्यकार विप्लप प्रतीक, अस्ट्रियाली रंगकर्मी माइकल थोन आउजरको टोलीले संसारभरबाट प्राप्त झन्डै दुई सय नाटकमध्येबाट ३० वटा छानेको छ ।


संयोजक खनालका अनुसार महोत्सवको थिमलाई सघाउने ‘लोकल’ र ‘ग्लोबल’ दुवै प्रकृतिका नाटक छनोटमा परेका छन् । ‘समावेशीदेखि महिलासम्मका सामाजिक मुद्दाका नाटकहरू छन्,’ खनालले भने, ‘दृष्टिकोणसहितको कला हुनुपर्छ भन्ने मान्यतालाई महोत्सवमार्फत प्रवर्द्धन गर्न खोजेका हौं ।’


भारतबाट महिला केन्द्रित

रोचक के भने, भारतबाट छानिएका नाटकहरू प्रायः महिला निर्देशकका सिर्जना छन् भने विषयवस्तु पनि महिलामै बढी केन्द्रित छन् । युनिकर्न एक्टर्स स्टुडियो दिल्लीको प्रस्तुति रहने त्रिपुरारी शर्माको नाटक ‘रूप अरूप’ मा अनुहारको आदरमा महिलालाई हेरिने पुरुषवादी दृष्टिकोणप्रति व्यंग्य छ भने भारतकै पुनेस्थित आईएपीएआर ग्रुपको नाटक ‘इन ट्रान्जिट’ को निर्देशकदेखि कलाकार सबै महिला नै छन् ।


त्यस्तै भारत बैंग्लोरस्थित द बिग फ्याट कम्पनीको प्रस्तुति रहने शावरी रावको नाटक ‘हेड टु हेड’ ले मोटा महिलाहरूको मुद्दालाई समेटेको छ । यसबाहेक बैंग्लोरबाटै दिपीका अरविन्दको नाटक ‘आई एम नट हियर’, निम्मी राफेलको ‘निद्रावाथोम’, भारत बहरमपुरबाट विप्लप देको ‘चाम्पावती’, मुम्बईबाट अश्वेत भट्टको ‘एक मुलाकात मन्टेसे’, असमबाट किस्मत बानोको ‘हेलन’, वंगलादेशबाट युसुफ हसनको ‘मत्तब्रिङ’ छानिएका छन् ।


त्यस्तै, इटलीबाट अन्ना दोरा दुर्नो, अफगानिस्तानबाट साइद इद्रिस फकरी, डेनमार्कबाट ज्याक एस माथिसन, म्यासेडोनियाबाट निना निकोलिक्ज, भारतबाटै हार्दिक शाह र भिक्टर थाउदमको नाटक पनि छनोटमा परेका छन् । नेपालबाट छनोटमा परेका नाटकहरूमा पनि सामाजिक विषयवस्तु नै केन्द्र छन् । किरण चाम्लिङले ‘जोखाना’ मा द्वन्द्वमा बेत्तपा नागरिकको कथाव्यथा टिपेका छन् भने कर्णालीबाट हीरा बिजुलीले नाटक ‘गर्भ छित्त’ मा महिलाका समस्या उठाएका छन् ।


नम्रता केसीको ‘मोक्षदा’ मा हिन्दु मिथकमा आधारित पञ्चकन्याको कथा छ भने प्रियंका झा र सविन कट्टेलको ‘किशोरी’ मा नारीकै मनोदशा । उता इलामका चेतन आइथुपोको नाटक ‘माङ्गेना’ मा मुन्धुमी दर्शनको सन्दर्भ छ भने सिजन दाहालको ‘गैंडा टाइम्स’ मा जनावरको अधिकार वकालत । यसबाहेक चे शंकरको ‘मेमोरी यार्ड’, पत्रिका घिमिरेको ‘च्याप्टर कन्फेसन : माई फादर इज मर्डरर’, सुदाम सिकेको ‘पाँच’, युवराज शर्माको ‘आरन’ पनि महोत्सवमा छानिएका छन् ।


११ अन्तरक्रिया ४ कार्यशाला

एक साता चल्ने महोत्सवअन्तर्गत विभिन्न सामानन्तर कार्यक्रमहरू पनि छन् । जसअन्तर्गत विभिन्न विषयमा ११ वटा अन्तरक्रिया र ४ वटा रंगमञ्च कार्याशाला हुनेछन्, जसमा नेपालसहित १३ वटा मुलुकका रंगकर्मीले भाग लिनेछन् । धेरैजसो अन्तरक्रिया मण्डलाकै घुम्ती थिएटर जुनकिरीमा हुनेछन् ।


यसबाहेक शिल्पी, थिएटर मल र कौशी थिएटरमा पनि अन्तरक्रिया हुनेछन् । महोत्सवको कार्यसूचीअनुसार मण्डलाको जुनकिरी (ट्रकमा बनाइएको घुम्ती थिएटर) मा ‘रंगमञ्चको किनारै किनार’, ‘सिनेमा र नाटकको भूमध्य रेखाबाट’, ‘लुकिङ आउट, लुकिङ विदिन’, ‘कसरी लेखिँदै छ नेपाली नाटक ? कस्तो लेखिनुपर्छ ? कसले लेख्छ ?’, ‘वर्णमालाको अन्तिम अक्षरबाट नेपाली रंगमञ्चलाई हेर्दा’, ‘डिसाविलिटी इन्क्लुजन इन थिएटर आर्टस्’ र ‘रंगमञ्चमा नेपथ्यको सम्मान’ विषयक प्यानल छलफल हुनेछन् ।


कार्यशालाका लागि भने पुल्चोक ललितपुरस्थित फ्रान्सेली केन्द्र तय गरिएको छ । यहाँ अर्जेन्टिनाका रंगकर्मी कन्स्टान्जा बिटोफले ‘डान्स एन्ड फिजिकल थिएटर वर्कसप’, फ्रान्सका रंगकर्मी फ्रेडरिक सिमोनले ‘पुपेट्री वर्कसप’, इटलीका रंगकर्मीद्वय आन्ना डोरा र निकोला पिएन्जोलाले ‘ओपन कल ४३ : अ फिजिकल थिएटर वर्कसप’ र भारतीय रंगकर्मी अश्वाथ भट्टले ‘फाइन्ड योर क्लाउन’ वर्कसप दिनेछन् ।


राजधानीमा क्रियाशील नाट्य सूहहरू (मण्डला, शिल्पी, कौशी, थिएटर मल, कथा घेरा, एक्टर्स स्टुडियो, वान वर्ल्ड थिएटर) ले पहिलोपटक सञ्जाल बनाई गर्न लागेको महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?