१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उज्जैन पुग्यो नेपाली चित्रकला

कान्तिपुर संवाददाता

काठमाडौँ — ठमेलको व्यस्त बजारकै छेउ छ मिथिला यें आर्ट ग्यालरी । परम्परागत मिथिलासँगै समसामयिक चित्रकलालाई स्थान दिँदै आएको यो ग्यालरीले यस पटक नेपाली कलाकृतिलाई भारत पुर्‍याउने काम गरेको छ ।

उज्जैन पुग्यो नेपाली चित्रकला

भारतको उज्जैनस्थित क्लब फनकार आर्ट ग्यालरीमा यो साता ९ नेपाली चित्रकारहरूको सिर्जना सजिए । फनकार आर्ट ग्यालरीकै निम्तोमा मिथिला येंले नेपालबाट प्रदर्शनीको संयोजन गरेको थियो ।


कालिदास र राजा विक्रमादित्यको सहर भनेर चिनिने भारतको मध्य प्रदेशस्थित ऐतिहासिक सहर उज्जैनमा ‘इन्टरनेसनल फ्रेन्डसिप ग्रुप आर्ट एक्जिबिसन २०१९’ शीर्षकमा दुई देशीय कला प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीका लागि नेपालबाट जया शर्मा, विभूषण ताम्राकार, श्यामसुन्दर यादव, उपकार घमाल, मञ्जु खडका, सुन्दर श्रेष्ठ, किशोर नकर्मी, प्रकाश मानन्धर र कान्छाकाजी भासिमा उज्जैन पुगेका थिए ।


बिहीबार सकेको प्रदर्शनीमा यी नौ जना स्रष्टाबाहेक नेपाल ललितकला प्रतिष्ठानका कुलपति केके कर्माचार्य, मिथिलादेवी यादव, रमेश खनाल, सुषमा राजभण्डारी, विपना महर्जन, विक्रम प्रजापती, विनोद के गुप्ता, डिराम पाल्पाली, उत्तम डंगोललगायतका सिर्जना पनि राखिएको थियो ।


प्रदर्शनीमा सहभागी चित्रकार जयाका अनुसार भारतबाट संजिदा र सञ्जय, इन्डोनेसियाका एन्टोनिअस खो, फ्रान्सका ग्रेवी भिसेन्ट, मेक्सिकोका जर्ज पलासिस, जर्मनीका पिटर हार्गेट र बंगलादेशबाट साइफुल चरु लगायतका कलाकृति पनि थिए । विषय र शैली दुबै हिसाबले नेपाली कलाकृतिहरूमा विविधता रहेको जयाले बताइन् ।


उनका अनुसार श्यामसुन्दर यादवले मिथिला कला, विभूषण ताम्राकारले चित्रकलासहित बोतलभित्र सिन्काको प्रयोगले बनाइएको सिंहदरबार, उपकार घमालले लक्ष्मीप्रसाद देवकोटा, मञ्जु खडकाले प्रिन्ट मेकिङ, सुन्दर श्रेष्ठले पानी रंगबाट बनाएको परम्परागत पौवा, किशोर नकर्मीले परम्परागत बुद्ध, प्रकाश मानन्धरले हराउँदै गएको मौलिक नेपाली बस्ती, वास्तुकला र स्तुपा लगायतका विषयमा काम गरेका छन् । त्यस्तै कान्छाकाजी भासिमाले नेवारी बाजालाई क्यानभासमा उतारेका छन् भने जया स्वयंले चाहिँ डिजिटल आर्ट ।


माध्यमको रूपमा भने चिक्रकारहरूले तैल, एत्रेलिक र वाटर कलर छानेका थिए । पौभा, थाङा, प्रिन्ट मेकिङदेखि डिजिटल चित्रसम्मको विविधता बोकेको नेपाली चित्रकलाको शैली र विषयवस्तुको भारतीय कला पारखीले खुलेर प्रशंसा गरेको जयाले बताइन् ।


प्रदर्शनीको उद्देश्य ‘प्रकृतिका रंग जोगाऔं’ भन्ने रहेको मिथिला यें ग्यालरीका सञ्चालक एवं चित्रकार श्यामसुन्दर यादवले बताए । प्रकृतिसँगको खेलबाडले निम्त्याउने भयावहता, मानिसले गुमाउँदै गएको आफ्नो मौलिकता जस्ता विषयवस्तुलाई चित्रमार्फत बहसमा आएको उनले दाबी गरे ।


प्रदर्शनीकै बीच नेपाल र भारतका चित्रकारहरूबीच कार्यशाला समेत सम्पन्न भएको र त्यस क्रममा निर्मित कलाकृति पनि केही समय भित्र नै प्रदर्शनीमा राखिने बताइएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?