३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मन चल्छ क्यानभासमा

सुनिता साखकर्मी

काठमाडौँ — चित्रमा पात्रहरूको शरीर चलायमान देखाउनु सामान्य हो, तर त्यही पात्रहरूको चञ्चल मन देखाउनु भने गाह्रो काम हो । चित्रकार रोशन भण्डारीले यस्तै चुनौती मोलेका छन् ।

मन चल्छ क्यानभासमा

ठमेलस्थित दलाई ला आर्ट स्पेस ग्यालरीमा सोमबारदेखि ‘स्ट्रोक्स अफ साइलेन्स’ शीर्षकमा सुरु एकल चित्र प्रदर्शनीमा राखिएको पेन्टिङमा रोशनले पात्रको मुडलाई उतार्ने प्रयास गरेका छन् ।


प्रदर्शनीमा सानाठूला दस पेन्टिङ छन् । त्यसमध्ये एउटा पेन्टिङमा हातमा किताब बोकेर सानो बालक टुक्रुक्क बसिरहेको देखिन्छ । किताबमा प्रस्तुत विषय यति रोचक छ कि उक्त पुस्तकबाट उनले आँखा अन्यत्र डुलाएकै छैनन् । चित्रकार रोशनको यो पेन्टिङमा बालकको शरीर स्थिर छ, तर उनको मन भने चलायमान देखिन्छ । यसका लागि रोशनले पृष्ठभूमिमा रंगहरूसित खेलेका छन् । पात्रको मनमा बनेको कल्पनाको चित्रण पृष्ठभूमिमा हलुका रंगहरूका माध्यमले उनले देखाउने प्रयास गरेका छन् ।


त्यसो त रोशनलाई क्यानभासको बालकभित्र आफैं महसुस हुने गर्छ । ‘सानोमा किताब पढदै गर्दा देखिएका चित्र र पढिएका अक्षरहरूले अर्कै संसार पुर्‍याइदिन्थ्यो,’ उनले भने, ‘कल्पनामै भए पनि किताब र अक्षरको संसार हामी आफैं पुगेको आभास हुन्थ्यो । बाल्यकालको त्यही सम्झनालाई क्यानभासमा उतारेको हुँ ।’


रोशन मात्रै नभई हरेक स्वस्थ मानिसले बस्दाबस्दै कल्पनाका माध्यमबाट धेरै कुराहरू सोच्न पुग्छन् । शरीर स्थिर रहे पनि मानिसको मन भने चलायमान नै हुन्छ । यही मानिसको मनभित्रको गतिलाई रोशनले आफ्ना चित्रहरूमा रंगमार्फत व्याख्या गर्न खोजेका छन् । प्रायः पेन्टिङहरूमा मानिसका मनका भित्री गति, कल्पनाशीलता, अस्थिरता या चञ्चलतालाई भिन्नाभिन्नै शैलीमार्फत उनले उतारेका छन् ।


कतै उनले अमूर्तताको साहरा लिएका छन् भने कतै फिगरेटिभ कम्पोजिसनलाई प्राथमिकताका साथ फ्युजन । उनको चित्रमा कल्पना र वास्तविकताको पनि फ्युजन भेटिन्छ । जसरी मानिसमा बाहिरी कुराले प्रभाव पार्छ, त्यस्तै रोशनको चित्रमा देखिने हरेक क्यारेक्टरलाई बाहिरीको रङहरूले प्रभाव पारिरहेको देखिन्छ । उनी पेन्टिङमा फिगर पनि पृष्ठभूमिका रूपमा प्रयोग गर्छन् भने कुनै बेला पृष्ठभूमिलाई मुख्य फिगरकै रूपमा उतार्छन् ।


रोशन भारतस्थित भारती विद्यापीठअन्तर्गतको फाइन आर्टस कलेजबाट स्नातक हुन् भने त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर । उनले हेम गंगा प्रतिभा युवा पुरस्कार, क्यानले गरेको कार्टुन प्रतियोगितामा तेस्रो, पुनेमा भएको द इन्डियन एक्स्प्रेस प्रतियोगितामा टप टेनमा परेका थिए भने अन्य थुप्रै पदक पनि जितेका छन् । उनको प्रदर्शनी एक महिनासम्म जारी रहनेछ ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?