१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुई वर्षमा ७० नयाँ निर्देशक

सुशील पौडेल

काठमाडौँ — डिजिटल प्रविधिको विकाससँगै नेपालमा फिल्म निर्माण र प्रदर्शन दर हात्तै बढेको छ । फिल्मको संख्यासँगै यसमा आवद्ध कलाकार, प्राविधिकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । जसमा नयाँ निर्देशक भित्रिने मात्रा सर्वाधिक देखिएको छ ।

दुई वर्षमा ७० नयाँ निर्देशक

दुई वर्षमा रिलिज झन्डै १ सय ७५ फिल्ममध्ये ७० फिल्मबाट नयाँ निर्देशक भित्रिएका हुन् । २०७४ सालमा मात्रै झन्डै ७८ फिल्म रिलिज भएकामा २७ निर्देशकले डेब्यु गरेका थिए भने यस वर्षसम्म ९७ फिल्मले प्रदर्शन मिति निश्चित गरेकामा ४३ भन्दा बढी नयाँ निर्देशक थपिने भएका छन् ।


‘यो संख्या त अचम्म लाग्ने गरी धेरै भएछ । सायद निर्देशन विधालाई नै सजिलो ठानेर पो आएका हुन् कि ?’ ‘भिसा गर्ल’ बाट २०७३ मा नै निर्देशनमा डेब्यु गरेका प्रचण्डमान श्रेष्ठले भने, ‘अरू विधामा प्राविधिक कुरा जान्नुपर्छ । तर निर्देशनमा सहायक निर्देशकहरू राखेर एक्सन र कट भन्न जाने पुग्छ भन्ने मानसिकताले पनि काम गरेजस्तो लाग्छ । नाम कमाउनकै लागि खेलवाडमा आउने धेरै छन् ।’ आधा शताब्दी लामो इतिहास बोकेको स्वदेशी फिल्म क्षेत्रले भर्खर मात्रै आफूलाई बामे सार्दै छ । नयाँ प्रविधि भित्रिएको छ ।


कथा, विषयवस्तुमा आफ्नोपना खोज्ने सुरुवात भइरहेको छ । यस्तोमा नयाँ निर्देशक नयाँ सोचका साथमा आउनु सकारात्मक पक्ष हो । फिल्म ‘लूट’ बाट निश्चल बस्नेतलाई भित्र्याएका निर्माता माधव वाग्लेको मान्यता पनि यही हो । भन्छन्, ‘नयाँ मान्छे नआई नयाँ काम आउँदैन । पढेर र बुझेर निर्देशनमा आएको राम्रो हो ।’ तर उनी पनि संख्यात्मक रूपमा यति धेरै भित्रिनुलाई सुखद भने मान्दैनन् । ‘सबैमा निश्चल बस्नेत नै बन्न खोज्ने प्रवृत्ति छ । हतारिएर चाँडो सफलता खोज्ने हुँदा परिणाम राम्रो आएको छैन । यसले त झन् मुर्गा प्रवृत्ति हाबी हुन्छ,’ वाग्लेले भने ।


फिल्म, संगीतसँग नजिक रहेर रिपोर्टिङ गर्दागर्दै संगीता श्रेष्ठ पनि यसै वर्ष ‘कथा काठमाडौं’ बाट निर्देशनमा डेब्यु गरिन् । भलै, फिल्मले व्यावसायिक सफलता त पाएन तर समीक्षात्मक हिसाबले श्रेष्ठलाई एक हदसम्म सन्तुष्टि भने दिलायो । उनी छोटो अवधिमा नै यतिका धेरै नवनिर्देशक भित्रिनुको कारण खोतल्दै भन्छिन्, ‘यसो हुनुमा फिल्मप्रतिको आकर्षण नै होला । कुनै बेला म्युजिक भिडियो निर्देशनमा पनि यस्तै हृवीम थियो । अहिले त्यो ओरालो लाग्ने क्रममा छ । फिल्ममा पनि नामका लागि मात्रै आएको भए गलत हो । संख्या बढेर मात्रै फिल्म उद्योग माथि उठ्दैन ।’


उनी निर्देशक भित्रिएको अनुपातमा फिल्म पनि राम्रा आएका भए सन्तुष्ट हुने अवस्था आउने भए पनि त्यो हुन नसकेको जिकिर गर्छिन् । ‘सबै नयाँ सोच नै लिएर आएको देखिँदैन । नाम र ट्यागकै लागि आउने जमात पनि ठूलो छ । व्यावसायिक रूपमा सफल नै हुनुपर्छ भन्ने हैन तर केही नवीन र राम्रो सोच त देखिनुपर्ने हो,’ श्रेष्ठले थपिन् ।


‘छक्का पन्जा’ बाट सफल डेब्यु गरेकी निर्देशक दीपाश्री निरौला नवनिर्देशक भित्रिनुलाई स्वाभाविक मान्छिन् । नेपाली फिल्मको स्तर र बजार राम्रो हुँदै गइरहेका बेला आकर्षण पनि बढेको हुन सक्ने उनको अनुमान छ । ‘पहिलेका निर्देशकले आफूलाई समयको बहावअनुसार परिवर्तन गर्दै लान नसक्दा नै नयाँले मौका पाइरहेका हुन्,’ निरौलाले थपिन्, ‘तैपनि नयाँ निर्देशकको काममा पनि ठूलो परिवर्तन देखिएको त छैन । प्रयास भने भइरहेको छ ।’


निर्देशकमा के बिक्छ भन्ने ज्ञान हुनुका साथै पटकथा र भाग्यले पनि साथ दिए मात्र सफल हुने उनको धारणा छ । ‘नयाँ निर्देशकले पनि आफूलाई प्रमाणित गर्न गाह्रो छ । पहिलो बलमा नै छक्का हान्नुपर्ने बाध्यता छ,’ निरौलाले भनिन् । त्यसो त निर्देशक श्रेष्ठको मान्यता पनि यस्तै छ । भन्छिन्, ‘पहिलो काम राम्रै भएर पनि फिल्म चलेन भने दोस्रो फिल्म पाउने मौका निर्देशकलाई कमै हुन्छ ।’


दुई वर्षभित्रमा ७० नवनिर्देशक भित्रिए पनि औंलामा गन्न सकिने मात्रै नोटिस भए । ‘ए मेरो हजुर २’ बाट झरना थापा, ‘दुई रुपैयाँ’ बाट असीम शाह, ‘इन्टु मिन्टु लन्डनमा’ बाट रेनेशा राई, ‘बुलबुल’ बाट विनोद पौडेल, ‘घामपानी’ बाट दीपेन्द्र लामा, ‘भुइँमान्छे’ बाट नवराज बुढाथोकी, ‘देश खोज्दै जाँदा’ बाट प्रकाश आङदेम्बे, ‘नाका’ बाट अमित श्रेष्ठलगायतका काम मात्रै उल्लेख्य रहे ।


सहायक निर्देशनको लामो अनुभव सँगालेर निर्देशनमा आउनेको संख्याभन्दा निर्माता वा कलाकार निर्देशक बन्ने र फिल्म अध्ययन गरी वा विदेशी फिल्म उद्योगमा काम गरेको अनुभवका आधारमा भिक्रिने त्रम ठूलो छ । छोटो समयमै ठूलो संख्यामा नयाँ निर्देशक आउँदा अपरिपक्वता आउने खतरा देख्छन्, निर्देशक प्रचण्डमान । भन्छन्, ‘यो हदसम्म नयाँ मान्छे आउँदा अपरिपक्वता बढ्छ । केही राम्रा निर्देशक पनि नआएका हैनन् ।


तर उत्कृष्ट काम पनि यी दुई वर्षमा खासै देख्न पाइएको छैन । निर्देशनमा बढोत्तरी भएपछि असफल नै भए पनि घटेर काम गर्ने सोच पनि हत्तपत्त आउँदैन । ठूलो संख्यामा असफल हुँदा झन् निर्मातालाई पंगु बनाउने वा मुर्गा बनाउने खेल बढ्छ ।’ उनी कुनै बेला चलेकै निर्देशकमा पनि पछिल्लो समय काममा नयाँपन र सुधार नदेखिएको तर्क गर्दै थप्छन्, ‘सक्रिय निर्देशकले पनि आफ्नो निर्देशकीय पहिचान, शैली स्थापित गर्न सकिरहेका छैनन् । यस्तोमा नयाँलाई पनि पुरानाको काम हेरेर यति त मै पनि गर्न सक्छु नि भन्ने आँट पलाएको हुन सक्छ ।’ ९५ प्रतिशत निर्देशकलाई त ‘सट ओके’ हुनुको कारण पनि थाहा नभई त्यसै भनिरहेका हुने उनको आरोप छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?