१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

छाउघरले बनायो रंगकर्मी

मधु शाही

सुर्खेत — नाटकमा उनको भूमिका आमाको थियो । छाउ प्रथाले पीडित छोरीको वेदनामा विनीता भण्डारी रोइरहेकी थिइन् । यद्यपि उनीसँगै नाटकका अरू पात्रका आँखा पनि उत्तिकै रसाएका थिए । तर, उनको आँसुमा भिन्नै पीडा थियो । वास्तविकता र वेदना थियो ।

छाउघरले बनायो रंगकर्मी

मञ्चमा नाटक सकिएको निकै बेरपछि पनि उनको आँसु थमिएन । पर्दा पछाडि पनि सुँक्कसुँक्क गर्दै थिइन् उनी । ‘छाउको नाटक जति पटक गर्छु उति नै रुन्छु,’ आँसु पुछ्दै उनी भन्छिन्, ‘यसमा मेरै कथा दोहोरिन्छ ।’


सुर्खेतमा जारी ‘रारा राष्ट्रिय नाटक महोत्सव’ को दोस्रो दिन नाटक ‘छाउ’ मा अछामकी विनीताले अभिनय गरेकी थिइन् । नाटकमा उठान गरिएको विषय उनको भोगाइमा मिल्दोजुल्दो थियो । खप्तड सांस्कृतिक मञ्च परिवार कैलालीको प्रस्तुति रहेको उक्त नाटकलाई पुष्प अवस्थीले लेखन एवं निर्देशन गरेका थिए । आमाको भूमिका गरेकी विनीताका लागि यो नाटक आफ्नै जीवनजस्तो थियो ।

खासमा छाउगोठले विनीताको जीवन फेरिदिएको हो । १४ वर्षको उमेरमा छाउगोठ बस्दाको पीडा उनको मस्तिष्कमा अझै ताजा छ । ‘त्यो रात सम्झँदा अझै आङ सिरिङ्ग हुन्छ,’ विनीताले भनिन्, ‘एक पटक छाउ बस्दा हरियो सर्पले टोकेर झन्डै मरिनँ ।’ अभिनयको पीडाबाट निस्केपछि आराम गर्दै उनले आफ्नो कथा सुनाइन् । साउनको महिना थियो । घरभन्दा तीन सय किलोमिटर पर छाउगोठ ।


झमझम पानी परिरहेको थियो । टुकी बत्तीको सहारामा एक्लै बसिरहेकी थिइन्, हरियो सर्प ओछ्यान आइपुगेछ । एक्कसि पीडा भयो, हरियो सर्पले टोकिसकेछ । पीडाले चिच्याउँदै उनी रोइन् । गुहार मागिन् । रातभरि गुहार माग्दा सुनिदिने कोही भएनन् । स्कुल पढदा सर्पको टोकाइको प्राथमिक उपचार गर्ने घरेलु तरिका सिकेकी थिइन् । ‘सर्पको विष फैलिन नदिन खुट्टाको तल र माथिको भागमा कपडाले बेस्सरी बाँधेँ,’ उनले सुनाइन्, ‘तर पीडा कम भएन । रातभरि रुँदै बसेँ । ‘भोलिपल्ट बिहान आमा आउनुभएपछि मात्रै अस्पताल जाने वातावरण बन्यो ।’


गाउँका कार्यक्रमहरूमा सामाजिक सन्देशसहित ससाना नाटक बनाउने लहर नै थियो । पीडा खेपेपछि विनीताले छाउ प्रथा हटाउन नाटककै सहारा लिने सोच बनाइन् । स्कुलमा पढदापढदै उनी स्थानीय नाट्य समूहसँग आबद्ध भइन् । घरबाट निस्कन परिवारको अनुमति लिनुपर्ने समाजमा खुलेआमनाटक खेल्नु सहज थिएन ।


‘परिवारविरुद्ध उभिएरै भए पनि रंगकर्ममा लागें,’ उनले भनिन्, ‘घरघर पुगेर नाटक देखाउँदै छाउगोठ हटाउने सन्देश दिन थालेँ ।’ समय क्रममा रंगमञ्चमै विनीताको मन बस्यो । अनि अभिनय तिखार्न काठमाडौं लागिन् । अचेल उनी काठमाडौंमै कला संघर्ष गर्दै छिन् । पाका रंगकर्मी वीरेन्द्र हमालसँग नाचघरमा ५ महिना नाटक सिकेर उनी टेलिसिरियलतिर पनि सक्रिय हुन थालेकी छन् ।


उनी यति बेला टेलिशृंखला ‘डिट्ठा साब’ र ‘उल्टो सुल्टो’ मा पनि अभिनय गरिरहेकी छन् । अछाममा छाउगोठबाट उठेर सहरमा संघर्षरत विनीताको दैनिकीमा धेरै परिवर्तन आए पनि जन्मेको थलो भने छाउगोठमै अल्झिएको देख्दा उनी खिन्न हुन्छिन् । पीडा त्यति बेला हुन्छ, जब काठमाडौंबाट घर पुग्दा छाउ पस्नुपर्ने बाध्यता आइपर्छ ।


‘अहिले पनि घर पुग्दा महिनावारी भए भने छाउघरमै बस्नुपर्छ,’ उनी भन्छिन्, ‘म परिवर्तन भएँ, समाज जहाँको त्यहीँ छ ।’ उनी छाउ हटाउन नाटक खेल्न भने छोडेकी छैनन् । अभिनयमार्फत कुप्रथाविरुद्ध निरन्तर संघर्ष जारी छ । उनको विचारमा युवा आफैंबाट परिवर्तनको सुरुवात नगरेसम्म अन्धविश्वास अन्त्य सम्भव हुँदैन । छाउ बस्ने चिन्ताले अचेल उनी रजस्वला भएको कुरा लुकाउनसमेत थालेको बताउँछिन् । ‘छाउ हटाउन पीडित नै जुट्नुपर्छ,’ उनी भन्छिन् ।


गाउँमा थुप्रै नाटक खेलेर छाउप्रथाविरुद्ध अभियानसमेत चलाएकी उनलाई अहिले लाग्छ, ‘छाउ हटाउने जोसमै रंगकर्मी बनेछु ।’

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?