रारा राष्ट्रिय महोत्सव : जुम्ला नाटक खेल्छ

मधु शाही

सुर्खेत — ओठमा लाली र आँखामा गाजल । उनीहरूको शृंगार यतिमै पूर्ण थियो । गालामा कुनै कस्मेटिक रंग थिएन । हिउँले फुटेर गाला हल्का गुलावी भएका थिए ।

रारा राष्ट्रिय महोत्सव : जुम्ला नाटक खेल्छ

जुम्लाको सिँजादेखि चिसो छिचोल्दै ६ जना किशोरी नाटक खेल्न सुर्खेतको वीरेन्द्रनगर झरेका थिए । सुर्खेतमा जारी रारा राष्ट्रिय नाटक महोत्सवमा जुम्लाको नाटक समूह विशेष आकर्षण नै बन्यो । उनीहरूलाई हेर्नेले कलाको अर्ग्यानिक झल्को पाएको महसुस गर्थे । सबैभन्दा चाख लाग्दो कुरा १८ जनाको समूहमा मिसिएर आएका ६ जना किशोरीको

हिम्मत र रंगमञ्चप्रतिको मोह प्रशंसायोग्य थियो ।


स्कुल पढ्दै गरेका उनीहरू नाटकमा भर्खरै पाइला टेक्दै छन् । हिउँले स्कुल छपक्कै छोपेकाले धेरै समय पढ्न जानै नपाएको कथा हालिन् मेनुका जिसीले । १६ वर्षकी उनले स्कुल नगई घरमै थन्किनु भन्दा नाटक खेलेर सदुपयोग गर्ने सोच बनाइन् । यस अघि दुई/तीन वटा नाटकमा अभिनय गरेको अनुभव उनीसँग छ । त्यसपछि नै रंगकर्ममा चासो बस्न थालेको हो, उनको । ‘नाटक त खेल्न्या हो,’ उनी भन्छिन्, ‘तर, कहाँसम्म खेलिन्छ थाहा छैन ।’


कक्षा ८ मा पढ्ने ज्योति विक समूहमध्येकी अलि लजालुमा पर्छिन् । कम बोल्ने उनको बानी होइन तर आफूले बोलेको खस भाषा सुनेर अरू हाँस्ने हुन् कि भन्ने चिन्ताले सताउँछ उनलाई । आफ्नो जिल्ला छोडेर अरू ठाउँ जाँदा बोल्नै गाह्रो लाग्छ रे उनलाई । ‘बोली सुनेर पाखे पो भन्या हुन् कि जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘त्यसैले कम बोल्छु ।’


किताबका अक्षर रट्नुभन्दा उनलाई नाटक खेल्न सजिलो लाग्छ रे । त्यसैले घरमा कामधन्दा सकाएर समूहसँग नाटक अभ्यास गर्न सधैं पुग्ने गर्छिन् । केही महिनायता उनमा अभिनयको रुचि बढ्न थालेको सुनाइन् । यहाँसम्म कि पँधेरामा पानी लिन जाँदा पनि स्क्रिप्ट घोक्दै हिँड्ने गर्छिन् । ‘उकालोओरालो कटेको पत्तै पाउँदिनँ,’ उनी भन्छिन्, ‘नाटक खेल्न रमाइलो लाग्छ । तैपनि समस्या छ केटीमान्छे भएपछि ।’


महोत्सवमा आउनुअघि उनले आमालाई निकै रिझाउनुपरेको थियो । घरमा धेरै काम गरेर खुसी पारेपछि नाटक खेल्न जाने अनुमति पाएको उनले बताइन् । उनले ‘आमै मुं नाटक खेल्न बाइलादो (जाँदै छु),’ भन्दा आमा लामो समय मौन बसेकी थिइन् रे । जब आमाले आफ्नै लबजमा ‘जा–जा सांटा आएस् बार नु गरेस् (छिटो आएस् ढिलो नगरेस्)’ भनिन्, ज्योतिको अनुहारमा भिन्नै उज्यालो छायो ।


कल्पना बुढाले पढाइ छोडेको लामो समय भयो । तर, उनी घरमै सीमित हुन चाहिनन् । रंगमञ्च उनका लागि समाजसँग साक्षात्कार गर्ने रचनात्मक थलो हो भन्ने लाग्छ । सुरुका केही वर्ष छोरी बिग्रिई भन्दै परिवार तनावमा थियो । ‘अहिले त समाजलाई नै पीर छ,’ उनी भन्छिन्, ‘नाटक खेल्ने केटीको बिहे हुँदैन भनेर कुरा काट्छन् ।’ बिहे होला/नहोला, यो विषयमा कल्पनाले प्रस्ट धारणा बनाएकी छन् । उनका अनुसार भाग्य भए बिहे होला नभए नाटकै खेलेर रमाउँला ।


अभिनय गर्न कठिन लाग्दैन ? प्रश्नमा उनीहरू सहजै भन्छन्, ‘आफ्नै भोगाइ देखाउन के कठिन ?’ उनीहरूका अनुसार आफूले देखेको भोगेको जीवनशैली प्रस्तुत गर्न सजिलो हुन्छ । बरु खुला चौरमा बसेर अभ्यास गर्नुपर्ने बाध्यता हुँदा चाहिँ गाह्रो हुने उनीहरूले बताए । नाटक खुला आकाशमुनि बन्छ र खुलामै प्रदर्शन हुन्छ । कर्णाली खस संस्कृति मञ्चको प्रस्तुतिमा नाटक ‘फड्को’ मञ्चन गरेका उनीहरूले महोत्सवमा मौलिकताको अर्थ बुझाउन सफल भएका थिए । नाटक रन्नीबहादुर घर्तीले लेखन र निर्देशन गरेका थिए । रन्नीबहादुर भन्छन्, ‘जुम्लामा हाम्रा कथा थुप्रै छन् तर हेर्ने दर्शक छैनन् ।’

प्रकाशित : फाल्गुन २७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?