कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोटोले काम गुमाएका सिद्दिकी

एजेन्सी

काठमाडौँ — यति बेला नवाजुद्दिन सिद्दिकी बलिउडका लागि हट केक नै हुन् । अचेल उनी फिल्मको अफर कुरेर बस्नु पर्दैन । निर्देशक, निर्माता नै उनलाई फिल्ममा खेलाउन लागि पर्छन् । सिद्दिकी आफूलाई उत्कृष्ट लागेको प्रोजेक्टमा मात्रै काम गर्ने भएकोले पनि उनले खेल्ने गरेका फिल्म दर्शकमाझ पहिल्यै खास बनिसकेका हुन्छन् ।

फोटोले काम गुमाएका सिद्दिकी

यति बेला उनको सान्या मल्होत्रासँगको फिल्म ‘अटोग्राफ’ रिलिज क्रममा छ । रफीको भूमिकामा रहेका उनी फिल्ममा एक संघर्षशील फोटोग्राफरको चरित्रमा छन् जो बाटोमा भेटिने अपरिचितका फोटोहरू खिचेर बेच्ने गर्छन् र घर खर्च गुजारा गरिरहेका हुन्छन् । अथवा, फोटो उनको जीवनमा अहम् बनेर रहेको छ ।


त्यसो त फोटोको अनौठो किस्सा सिद्दिकीको जीवनमा पनि घटेको रहेछ । उनी गहुँ गोरो वर्णको भएकै कारण धेरै ठाउँमा लज्जित हुनुपरेको छ । कतिपय प्रोजेक्ट त छालाको रङकै कारण पनि छोड्नुपरेको दुःख सुनाउँदै सिद्दिकीले भने, ‘मलाई कतिपय निर्देशकले कालो भएकैले खेलाउन मानेका छैनन् । उनीहरू मलाई लिँदा थप लाइट जुटाउनुपर्ने भएकोले खर्च बढ्ने भन्दै लिन इन्कार गर्थे ।’


हालै, रितेश बत्रा निर्देशित फिल्म ‘फोटोग्राफ’ को एक पत्रकार भेटघाटमा उनले यसको खुलासा गरेका हुन् । पत्रकारले सिद्दिकीले कहिल्यै फोटो एल्बमको पोर्टफोलियो बनाउनुपर्‍यो कि परेन भन्ने सवालमा सिद्दिकीले रमाइलो घटना सुनाए । त्यसताका संघर्षशील कलाकारहरूका लागि फोटो एल्बम बनाएर चलेका फिल्म कम्पनीका कार्यालयमा छोड्ने चलन हुन्थ्यो ।


फोटो हेरेरै निर्माता, निर्देशकहरू त्यस्ता कलाकारलाई फोन गरेर बोलाउँथे र प्रोजेक्टमा लिने गर्थे । सन् २००० तिर सिद्दिकीले पनि त्यसै गर्ने गरेको सुनाए । ‘ती दिनमा पनि फिल्म, सिरियल वा म्युजिक भिडियोमा कास्टिङ हुनु पहिले प्रोडक्सन अफिसमा आफ्नो फोटो दिनुपर्थ्यो । मेले पनि मुम्बईको जुहूस्थित एक फोटो स्टुडियोमा खिचेर पोर्टफोलियो बनाएको थिएँ । त्यहाँ हामी सबै कलाकारले एउटै कोट लगाएर फोटो खिचाउँथ्यौँ र सबै प्रोडक्सन कम्पनीमा बाँड्थ्यौँ ।’


‘फोटो खिच्ने बेला स्टुडियोको फोटोग्राफरले लाइट बढाएर मेरो फोटो खिचिदिए । फोटोमा म खुब गोरो देखिएको थिएँ । त्यो फोटो लगेर महेश भट्टको अफिसमा छोडेर आएँ,’ सिद्दिकी तब उत्साहित भए, जब केही दिनमै उनलाई भट्ट अफिसबाट म्युजिक भिडियोमा लिड रोलको अफर आयो । जसमा सिद्दिकी एक फोटोग्राफरकै भूमिकामा हुने र उनलाई देखेर एक सुन्दर युवती फिदा हुने प्लट रहेछ ।


‘फोटो हेरेर त उहाँहरूले मलाई छनोट गरिसक्नुभएको रहेछ । तैपनि एकपटक प्रत्यक्ष पनि भेट्ने भनेर अफिसमा बोलाइयो,’ जब उनी हतारिएर पुगे । भिडियो निर्देशकले नै पहिले चिन्न सकिनछन् । त्यस बेलाको अवस्था सुनाउँदै सिद्दिकीले भने, ‘निर्देशकले नवाज नै म हुँ भन्ने चिन्न मुस्किल परेपछि आफैंले चिनाउनुपर्‍यो । त्यसपछि ती महिला निर्देशक यति चकित भइन् कि फोटोमा देखिएजस्तो त कहीं कतैबाट पनि लाग्दैन त भन्न थालिन् ।’


सिद्दिकीले पनि फोटोग्राफरले लाइट बढाएर गोरो बनाइदिए पनि असलमा देखिने म यस्तै हुँ भने । ‘त्यसपछि त मेरो उक्त रोलका लागि कास्टिङ नै गर्न तयार भएनन्, अरू कसैले गर्‍यो,’ आखिर १९ वर्षपछि तिनै सिद्दिकी अहिले चम्किरहेका छन् भने ‘फोटोग्राफर’ मा स्वयं शीर्ष भूमिकामा छन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?