१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भूकम्पले भत्केको सपना

सुर्खेतको रारा राष्ट्रिय नाटक महोत्सवमा देखाइएको ‘नौगेडी’ मा अभिनय गर्दै कलाकार ।
कृष्णप्रसाद गौतम

सुर्खेत — च्यान्टे र मनमायाको स्थानीय परम्पराअनुसार विवाह हुन्छ । विवाह गरेको लामो समयसम्म यो दम्पतीले बच्चा पाउन सक्दैनन् । जसका कारण पटकपटक लोग्ने स्वास्नीबीच खटपट भइरहन्छ । मनमाया सधैं एउटा सन्तान र नौगेडीको आशमा हुन्छिन् । च्यान्टे गाउँमा बालीघरे प्रथामा लुगा सिलाउने दलित पात्र हो ।

भूकम्पले भत्केको सपना

५ दिनका लागि ऊ अर्को गाउँमा लुगा सिलाउन गएको हुन्छ । उसले गाउँ फर्किएको दिनमै थाहा पाउँछ, मनमाया गर्भवती भएको कुरा । मनमाया गर्भवती भएसँगै परिवारमा सुखका दिन सुरु हुन्छन्, च्यान्टेले मनमायाको खुब ख्याल गर्न थाल्छ । यसैक्रममा भुइँचालो आउँछ, घर भत्किएर मनमायाको मृत्यु हुन्छ । उनको मृत्युसँगै च्यान्टेले दुःखले कमाएर बनाएको नौगेडी मनमायालाई दिने सपनासमेत अधुरै रहन्छ ।


मञ्जरी नाट्य समूह लमजुङका कलाकारहरूले यही वियोगात्मक कथा आधारित नाटक ‘नौगेडी’ पस्के, सुर्खेतमा जारी रारा राष्ट्रिय नाटक महोत्सवमा । मंगलबार मञ्चन गरिएको नाटकमा छुवाछुत, मानव बेचबिखन, बेरोजगारी, राजनीतिक विषय समेटिएको नाटकको निर्देशक थिए, पुरु लम्सालले । नाटकमा जितेन्द्रसिंह ठकुरी, रिता थापा, इन्द्र आचार्य, मञ्जु गिरी, निर्मला परियार, गंगा नेपाली, केदारबहादुर बोहरालगायत १२ कलाकारको अभिनय छ । मनछुने कथा र कलाकारको मौलिक अभिनयसहितको नाटकले दर्शकमा छुट्टै छाप छोड्न सफल भएको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताए । ‘नाटकमा कथा मात्र राम्रो भएर हुँदैन, अभिनय पनि जीवन्त हुन जरुरी छ,’ सभामुख शाहीले भने, ‘सफल नाटकको सामथ्र्य नौगेडीमा पाइयो । समाजका घटना–परिघटनालाई नाटकले कलात्मक ढंगले पस्किएको छ ।’


राष्ट्रियसभा सदस्य खेम नेपालीले समाजमा रहेका कुरीति र कुसंस्कार हटाएर समृद्ध नेपालको निर्माणमा एकजुट हुन नाटकले सन्देश दिएको बताए । उनले रूपान्तरण र समाज निर्माणका लागि नाटकले युवालाई प्रेरणा प्रदान गरेको जनाए । मंगलबारै शान्तिका लागि युवा सञ्जाल, बर्दियाको प्रस्तुतिमा झकेन्द्र बिसीले निर्देशन गरेको ‘हिटा’ को मञ्चन गरियो । थारु समुदायमा सुनाइँदै आइएको चर्चित लोककथालाई ‘हिटा’ मा समावेश गरिएको निर्देशक बिसीले बताए । मूलपात्र हिटामार्फत थारू समाजको प्रतिबिम्वलाई नाटकमा देखाइएको निर्देशक बिसीले जनाए । ‘गैरथारू समाजमा हुर्किए पनि थारू समुदायको संस्कृतिले मलाई लामो समयदेखि छोएको छ,’ उनले भने, ‘यो नाटक मेरो जीवनको समेत ठूलो सिकाइ हो ।’


सुशील चौधरीले लेखेको नाटकमा निरजकुमार चौधरी, दीपकसिंह थारू, शिवानी चौधरी, उषा चौधरी, पारु थारू, मुस्कान थारू, हीरा चौधरी, संगीता चौधरी मञ्जु डगौरालगायत १५ कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?