२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फेरिए लोकभाका चर्चामा सामाजिक गीत

अमृता अनमोल

बुटवल — दोहोरी भन्नासाथ सोचिन्छ, यो केटा–केटीबीचको जुहारी हो । लोकभाकामा माया–प्रेमको व्याख्या हो । बुटवलमा आयोजित राष्ट्रिय दोहोरी प्रतियोगिताले भने यस मान्यतालाई बदलिदिएको छ । लोकदोहोरीलाई फरक ढंगले परिभाषित गर्ने जमर्को गरेको छ ।

फेरिए लोकभाका चर्चामा सामाजिक गीत

पाँचौं राष्ट्रिय खुला दोहोरी रनिङ सिल्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सव अन्तर्गत बुटवल मण्डपमा १९ फागुनदेखि शनिबारसम्म सप्ताहव्यापी लोक दोहोरी घन्कियो । तर, दोहोरीमा केटाकेटीबीचको माया–प्रेमको फितलो व्याख्या सुनिएन । मायामा भाग्ने योजना पनि बुनेनन् । मायामा सबै त्याग्ने कुरा पनि सुनिएन । सट्टामा देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाले व्यक्ति तथा समाजमा ल्याएको उतार–चढावलाई गीतका माध्यमबाट पस्किइयो । गीतमार्फत युवाको विदेश पलायन, वृद्धवृद्धाको बिजोग, पारिवारिक विखण्डन र महिला हिंसालाई प्रमुख रूपमा उठाइयो । कृषि व्यवसायको प्रवद्र्धन, सरसफाइ, विद्यार्थी सचेतना, महिला सशक्तीकरण, सुशासन, गरिबी न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयलाई रूपमा प्रस्तुत गरियो ।


आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले गीतबाट सामाजिक सन्देश र चेतना प्रवाह गर्न यसो गरेको बताए । ‘मायाप्रेमलाई मात्रै केन्द्र बनाएर गाइने दोहोरी गीतले समाजमा खासै सकारात्मक छाप दिन सक्दैन,’ उनले भने, ‘यसैले दोहोरीको विषयवस्तु फेरेका हौं ।’ समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने गीत पस्किँदा दर्शकसमेत खुसी भएको उनले बताए । ‘लोकगीत र लोकभाका गायक गायिकाको व्यक्तिगत हुँदैन, यो त देश र समाजको सम्पत्ति र संस्कृति हो,’ पंगेनीले भने, ‘त्यसैले समाज परिवर्तनसँगै लोकदोहोरी र यसका विषय फेर्न उपयुक्त ठान्यौं ।’


प्रतियोगितामा ४० जिल्लाका ५६ समूहको सहभागिता थियो । यसअघि जस्तो महिला–पुरुषबीच मात्रै प्रतियोगिता भएन । पुरुष–पुरुष र महिला–महिलाले पनि दोहोरीमा भाग लिए । लोकदोहोरीका लागि १६ विषय छनोट भएका थिए । आर्थिक र सामाजिक अवस्थाले पारिवारिक रूपमा आएको विभाजनलाई रोक्ने र पारिवारिक मायाप्रेम कसरी बढाउने भन्ने विषयमा गीत केन्द्रित रहे । पाको पुस्ता वृद्धाश्रम जानुपरेको, गरिबीले छोराछोरीले पढ्न नपाएको, भाइ–भाइ अंशबन्डामा लडेको, सम्पत्ति र वैदेशिक रोजगारीका लागि पति–पत्नी छुट्टिनुपरेको, छोराछोरीको बिचल्लीलगायतका विषय दोहोरीमा समावेश गरिएका थिए । आफ्नो ज्ञान, सीप र परिश्रम स्वदेशमै खर्चिनुपर्नेमा जोड दिइयो । लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य तथा दोहोरी प्रतियोगिता संयोजक प्रचण्ड जीसीले भने, ‘सामाजिक सन्देश प्रवाह गर्ने विषयवस्तुलाई गीत बनाएका हौं ।’


२५ सदस्यीय मूल्यांकन समितिको निर्देशनमा प्रतियोगितामा गायक–गायिकाले ३० भाका पस्किएका थिए । तिनलाई ७ चरणमा छनोट गरिएको थियो । सुर, ताल, लय, शब्द संयोजन, मौलिकता, हाउभाव सबैलाई आधार मानेर अंक गणना गरिएको मूल्यांकन समितिका एक सदस्यले बताए । निर्णायक संयोजक चन्द्र शर्माले विषयवस्तुमा दिइएको समस्यालाई गीतमार्फत सकारात्मक रूपले समाधान गर्ने तरिका प्रस्तुत गर्नेलाई प्राथमिकतामा राखिएको बताए । ‘दोहोरी गीत भए पनि एक किसिमको खेल र सामाजिक सन्देश प्रवाहका रूपमा प्रतियोगिता भयो,’ उनले भने, ‘एक पक्षले गाएको ३० सेकेन्डभित्र अर्कोले गीतबाट फर्काउनुपर्ने थियो । हरेक प्रतियोगितामा सामाजिक विषय जोडिएका थिए ।’


दोहोरी गीत उपाधिका लागि शनिबार प्रतियोगिता भयो । पाको पुस्ता वृद्धाश्रममा जानुपरेको अवस्थालाई कालीपारे भाकामा प्रस्तुत गर्न भनियो । बाल्यकालदेखिका साथी उमेरमा कमाउने र परिवार पाल्ने ध्याउन्नमा लाग्दा छुट्टिएको ६० वर्षपछि एकैपटक देवघाटको वृद्धाश्रममा भेट भएका थिए ।

यो परिवेशमा बगेर गीत पस्केका नगरकोट दोहोरी साँझका राजु केसी प्रथम भए । उनले २ लाख नगद र सिल्ड प्राप्त गरे । नगरकोट दोहोरी साँझकै रवीन लामिछाने द्वितीय भए । उनले नगद १ लाख रुपैयाँ पाए । तृतीय छनोटका लागि ससुरा र ज्वाइँ बनेर गाउनुपर्ने थियो । वैदेशिक रोजगारीबाट फर्केका ज्वाइँ घरमा दुःखको बोझ उठाउन नसकेर माइती आएकी छोरीका बाबुबीचको दोहोरी थियो ।

भाका ‘पछ्यौरी लेऊ बैना आजै टुंगो लगाइदेऊ, माया छ कि छैन’ थियो । प्रतियोगितामा रोल्पा कलाकार समाजका भीम पौडेल र नगरकोट दोहोरी साँझका प्रकाश पराजुलीले समान अंक ल्याएपछि दुवै तृतीय भए । उनीहरूले समान ५२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । क्वाटर फाइनलसम्म पुगेका पोखराका जीवन सिग्देल र काठमाडौंकी देवी आले सर्वोत्कृष्ट गायक/गायिका घोषित भए । उनीहरूले जनही १५ हजार प्राप्त गरेका छन् । त्यस्तै गामबेंसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का, काठमाडौंकै प्रकाश दुरा, धादिङकी अस्मिता डीसी र सिन्धुुपाल्चोककी कल्पना दाहाल उत्कृष्ट गायक/गायिका भए ।

उनीहरू प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे । प्रतिष्ठानकी सचिव राधिका हमालले लोकभाका र दोहोरी गीतको विस्तारका लागि समयसँगै शब्द र विषयवस्तु फेरेको बताइन् । ‘समयसँगै सूचना प्रविधि, जीवन जिउने र बुझ्ने कला फेरिएको छ,’ उनले भनिन्, ‘गीतबाट परिवर्तनको बिगुल फुक्न र नयाँ पुस्तालाई समेत दोहोरीमा झुम्ने गराउन दोहोरीलाई सामाजिक विषयवस्तुमा ढालेका हौं ।’

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?