भद्रगोल नै ट्रेन्डिङमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ प्रसारण हुँदै आएको हास्य सिरियल ‘भद्रगोल’ यट्युब च्यानलमा पनि निरन्तर ट्रेन्डिङमा पर्न थालेको छ  । मिडिया हबको प्रस्तुतिमा अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको ‘भद्रगोल’ को २ सय १ भाग पनि मंगलबार साँझसम्म युट्युबको नेपाल ट्रेन्डिङको एक नम्बरमा यथावत छ  ।

पछिल्लो समय उक्त सिरियलका नयाँ भाग युट्युब ट्रेन्डिङमा आउन थालेका छन् । गत शुक्रबार युट्युबमा अपलोड गरिएको ‘भद्रगोल’ को पछिल्लो भाग युट्युबको कतार ट्रेन्डिङमा समेत तेस्रो नम्बरमा परेको छ ।

चार दिनमा नै साढे १६ लाखभन्दा बढी भ्युज पाएको उक्त भाग हेरेपछि झन्डै ३ हजार प्रतिक्रिया छन् । ‘भद्रगोललाई सधैं माया गरेर ट्रेन्डिङ नं. १ मा रहन सफल पार्नुभएको हुनाले हामी सबै खुसी छौं,’ सिरियलकी मुख्य कलाकारमध्येकी एक रक्षा श्रेष्ठले प्रतिक्रिया लेख्दै शुभचिन्तक तथा फ्यानलाई धन्यवाद दिएकी छन् ।

युट्युबमै संगीता खड्का प्रतिक्रियामा लेख्छिन्, ‘पाँडे हजुरबालाई यस्तो यस्तो आइडिया कहाँबाट आउँछ होला ?’ त्यसो त नेपाल पाण्डे समाजले भने उक्त चरित्रमाथि आपत्ति जनाएको छ । समाजले फागुन २१ गते मिडिया हबलाई ‘हास्य पात्रको रूपमा पाण्डेलाई कपोलकल्पित ढंगले चित्रित गर्दा मन दुखेको’ उल्लेख गर्दै पत्र पठाएको छ । पाण्डे समाजले समाजमा असर पु¥याउने कथा र प्रदर्शनलाई नस्विकार्ने पनि पत्रमा उल्लेख गरेको छ । सिरियलमा पाँडे चरित्रलाई छुल्याहा र भँडुवा स्वभावका रूपमा पस्किइँदै आएको छ ।

एक साताअघि नेश स्टुडियो च्यानलबाट अपलोड म्युजिक भिडियो ‘ओह मैचा...’ युट्युबको नेपाल ट्रेन्डिङमा दोस्रो नम्बरमा झरेको छ । नेवारी पृष्ठभूमिमा क्लासिकल टोन दिएर तयार पारिएको उक्त भिडियोले छोटो समयमै ट्रेन्डिङको पहिलो नम्बरमा थियो । ब्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्यको उक्त म्युजिक भिडियोलाई मंगलबारसम्म युट्युबमा २० लाख भ्युज छ । उक्त भिडियोलाई फेसबुकमा सेयर गर्दै निर्देशक निश्चल बस्नेतले लेखेका छन्, ‘एक पटक सुनौं है । आनन्द आउँछ । मलाई मनपर्‍यो ।’

उक्त भिडियोलाई झन्डै ३३ सय प्रतिक्रिया आइसकेको छ भने शतप्रतिशतले गीत र भिडियोलाई रुचाएका त छन् नै, नेवारी संस्कृतिलाई भिडियोमा प्रस्तुत गरिएकोमा पनि प्रशंसा गरिएको छ । ब्रिजेशले नेश स्टुडियोबाट आफूहरूको पहिलो प्रयास रहेको उल्लेख गर्दै यसमा सधैं देखिँदै र सुनिँदै आएको म्युजिक भिडियोभन्दा भिन्न बनाउन खोजेको बताए । नरेश बरालले प्रतिक्रियामा ब्रिजेशलाई दीपक बज्राचार्यपछि नेवारी संस्कृतिलाई यति राम्रोसँग पस्कन सकेको भन्दै तारिफ गरेका छन् ।

नेपाल ट्रेन्डिङको तेस्रो नम्बरमा फेरि ‘भद्रगोल’ कै क्लिप्स नै परेको छ । रामसार मिडियाले शिवरात्रि स्पेसल भन्दै ‘भद्रगोल’ को १४ मिनेट लामो भिडियोलाई साता दिनअघि अपलोड गरेको थियो । भिडियोलाई १० दिनमा झन्डै २५ लाखपटक हेरिएको छ । त्यसैगरी, ट्रेन्डिङको चौथो नम्बरमा भने फिल्म ‘यात्रा’ को रिमेक गीत ‘चट्ट रुमाल...’ परेको छ । सात दिनअघि ओएसआर डिजिटल च्यानलले अपलोड गरेको भिडियोलाई १५ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

६ हजार बढी प्रतिक्रिया पोस्ट भइसकेको उक्त गीतलाई अधिकांशले भने नकारात्मक प्रतिक्रिया जनाएका छन् । सम्राट शाक्यको निर्देशन रहेको ‘यात्रा’ ले पुरानो फिल्म ‘आफ्नो मान्छे’ को शम्भुजित बाँस्कोटा र साधना सरगमले गाएको गीतको रिमेक हो । अत्यधिक प्रतिक्रियामा पुरानो गीतलाई रिमेकमा न्याय गर्न नसकेको भन्दै आलोचना गरिएको छ । दीपु भाट प्रतिक्रियामा लेख्छन्, ‘यो गीत युट्युबबाट हटाएको राम्रो । पुराना गीतलाई न्याय हुनेछ ।’

दुर्गा तामाङ लेख्छन्, ‘ए ठेट्ना हो, पुरानो त्यस्तो दमदार गीतलाई न्याय गर्न सकिँदैनथ्यो भने त्यही पुरानो गीत बजाएर तिघ्रा बजारेको भए हुन्थ्यो नि ।’ युट्युबमा नेपाल ट्रेन्डिङको पाँचौँ स्थानमा रियालिटी टीभी सो ‘को बन्छ करोडपति’ को ११ औं भाग परेको छ । अभिनेता राजेश हमालद्वारा सञ्चालित कार्यक्रममा अभिनेता भुवन केसी र अनमोल केसी प्रतिस्पर्धी छन् । फिल्म ‘क्याप्टेन’ को प्रचार भागका रूपमा रहेको विशेष प्रस्तुतिलाई १३ लाख बढी पटक हेरिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेरिए लोकभाका चर्चामा सामाजिक गीत

अमृता अनमोल

बुटवल — दोहोरी भन्नासाथ सोचिन्छ, यो केटा–केटीबीचको जुहारी हो । लोकभाकामा माया–प्रेमको व्याख्या हो । बुटवलमा आयोजित राष्ट्रिय दोहोरी प्रतियोगिताले भने यस मान्यतालाई बदलिदिएको छ । लोकदोहोरीलाई फरक ढंगले परिभाषित गर्ने जमर्को गरेको छ ।

पाँचौं राष्ट्रिय खुला दोहोरी रनिङ सिल्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सव अन्तर्गत बुटवल मण्डपमा १९ फागुनदेखि शनिबारसम्म सप्ताहव्यापी लोक दोहोरी घन्कियो । तर, दोहोरीमा केटाकेटीबीचको माया–प्रेमको फितलो व्याख्या सुनिएन । मायामा भाग्ने योजना पनि बुनेनन् । मायामा सबै त्याग्ने कुरा पनि सुनिएन । सट्टामा देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाले व्यक्ति तथा समाजमा ल्याएको उतार–चढावलाई गीतका माध्यमबाट पस्किइयो । गीतमार्फत युवाको विदेश पलायन, वृद्धवृद्धाको बिजोग, पारिवारिक विखण्डन र महिला हिंसालाई प्रमुख रूपमा उठाइयो । कृषि व्यवसायको प्रवद्र्धन, सरसफाइ, विद्यार्थी सचेतना, महिला सशक्तीकरण, सुशासन, गरिबी न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयलाई रूपमा प्रस्तुत गरियो ।


आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले गीतबाट सामाजिक सन्देश र चेतना प्रवाह गर्न यसो गरेको बताए । ‘मायाप्रेमलाई मात्रै केन्द्र बनाएर गाइने दोहोरी गीतले समाजमा खासै सकारात्मक छाप दिन सक्दैन,’ उनले भने, ‘यसैले दोहोरीको विषयवस्तु फेरेका हौं ।’ समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने गीत पस्किँदा दर्शकसमेत खुसी भएको उनले बताए । ‘लोकगीत र लोकभाका गायक गायिकाको व्यक्तिगत हुँदैन, यो त देश र समाजको सम्पत्ति र संस्कृति हो,’ पंगेनीले भने, ‘त्यसैले समाज परिवर्तनसँगै लोकदोहोरी र यसका विषय फेर्न उपयुक्त ठान्यौं ।’


प्रतियोगितामा ४० जिल्लाका ५६ समूहको सहभागिता थियो । यसअघि जस्तो महिला–पुरुषबीच मात्रै प्रतियोगिता भएन । पुरुष–पुरुष र महिला–महिलाले पनि दोहोरीमा भाग लिए । लोकदोहोरीका लागि १६ विषय छनोट भएका थिए । आर्थिक र सामाजिक अवस्थाले पारिवारिक रूपमा आएको विभाजनलाई रोक्ने र पारिवारिक मायाप्रेम कसरी बढाउने भन्ने विषयमा गीत केन्द्रित रहे । पाको पुस्ता वृद्धाश्रम जानुपरेको, गरिबीले छोराछोरीले पढ्न नपाएको, भाइ–भाइ अंशबन्डामा लडेको, सम्पत्ति र वैदेशिक रोजगारीका लागि पति–पत्नी छुट्टिनुपरेको, छोराछोरीको बिचल्लीलगायतका विषय दोहोरीमा समावेश गरिएका थिए । आफ्नो ज्ञान, सीप र परिश्रम स्वदेशमै खर्चिनुपर्नेमा जोड दिइयो । लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य तथा दोहोरी प्रतियोगिता संयोजक प्रचण्ड जीसीले भने, ‘सामाजिक सन्देश प्रवाह गर्ने विषयवस्तुलाई गीत बनाएका हौं ।’


२५ सदस्यीय मूल्यांकन समितिको निर्देशनमा प्रतियोगितामा गायक–गायिकाले ३० भाका पस्किएका थिए । तिनलाई ७ चरणमा छनोट गरिएको थियो । सुर, ताल, लय, शब्द संयोजन, मौलिकता, हाउभाव सबैलाई आधार मानेर अंक गणना गरिएको मूल्यांकन समितिका एक सदस्यले बताए । निर्णायक संयोजक चन्द्र शर्माले विषयवस्तुमा दिइएको समस्यालाई गीतमार्फत सकारात्मक रूपले समाधान गर्ने तरिका प्रस्तुत गर्नेलाई प्राथमिकतामा राखिएको बताए । ‘दोहोरी गीत भए पनि एक किसिमको खेल र सामाजिक सन्देश प्रवाहका रूपमा प्रतियोगिता भयो,’ उनले भने, ‘एक पक्षले गाएको ३० सेकेन्डभित्र अर्कोले गीतबाट फर्काउनुपर्ने थियो । हरेक प्रतियोगितामा सामाजिक विषय जोडिएका थिए ।’


दोहोरी गीत उपाधिका लागि शनिबार प्रतियोगिता भयो । पाको पुस्ता वृद्धाश्रममा जानुपरेको अवस्थालाई कालीपारे भाकामा प्रस्तुत गर्न भनियो । बाल्यकालदेखिका साथी उमेरमा कमाउने र परिवार पाल्ने ध्याउन्नमा लाग्दा छुट्टिएको ६० वर्षपछि एकैपटक देवघाटको वृद्धाश्रममा भेट भएका थिए ।

यो परिवेशमा बगेर गीत पस्केका नगरकोट दोहोरी साँझका राजु केसी प्रथम भए । उनले २ लाख नगद र सिल्ड प्राप्त गरे । नगरकोट दोहोरी साँझकै रवीन लामिछाने द्वितीय भए । उनले नगद १ लाख रुपैयाँ पाए । तृतीय छनोटका लागि ससुरा र ज्वाइँ बनेर गाउनुपर्ने थियो । वैदेशिक रोजगारीबाट फर्केका ज्वाइँ घरमा दुःखको बोझ उठाउन नसकेर माइती आएकी छोरीका बाबुबीचको दोहोरी थियो ।

भाका ‘पछ्यौरी लेऊ बैना आजै टुंगो लगाइदेऊ, माया छ कि छैन’ थियो । प्रतियोगितामा रोल्पा कलाकार समाजका भीम पौडेल र नगरकोट दोहोरी साँझका प्रकाश पराजुलीले समान अंक ल्याएपछि दुवै तृतीय भए । उनीहरूले समान ५२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । क्वाटर फाइनलसम्म पुगेका पोखराका जीवन सिग्देल र काठमाडौंकी देवी आले सर्वोत्कृष्ट गायक/गायिका घोषित भए । उनीहरूले जनही १५ हजार प्राप्त गरेका छन् । त्यस्तै गामबेंसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का, काठमाडौंकै प्रकाश दुरा, धादिङकी अस्मिता डीसी र सिन्धुुपाल्चोककी कल्पना दाहाल उत्कृष्ट गायक/गायिका भए ।

उनीहरू प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे । प्रतिष्ठानकी सचिव राधिका हमालले लोकभाका र दोहोरी गीतको विस्तारका लागि समयसँगै शब्द र विषयवस्तु फेरेको बताइन् । ‘समयसँगै सूचना प्रविधि, जीवन जिउने र बुझ्ने कला फेरिएको छ,’ उनले भनिन्, ‘गीतबाट परिवर्तनको बिगुल फुक्न र नयाँ पुस्तालाई समेत दोहोरीमा झुम्ने गराउन दोहोरीलाई सामाजिक विषयवस्तुमा ढालेका हौं ।’

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT