कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साकुराजस्तो प्रेमकथा

पोखरा र काठमाडौंमा जापानी फिल्म फेस्टिभल
कान्तिपुर संवाददाता

काठमाडौँ — जापान भन्नेबित्तिकै पैंयु साकुरा फूलको चर्चा हुन्छ । पैंयु प्रजातिको यो फूल छिट्टै फुल्छ र झर्छ । जापानी फिल्म ‘हाना नो अतो’ मा युवती इतो यही साकुरा बगैंचामा उभिरहेकी छन् । यहीँ पहिलो पटक भेटछन् उनले मनपर्ने मान्छे । तर, उनको प्रेम साकुराको फूलजस्तै झरिगएको उनलाई पत्तै हुँदैन । प्रेमीले संसार छोडे पनि उनी यादहरूमा बाँचिरहन्छिन् र तिनै यादलाई शक्तिमा बदल्दै एउटा रहस्यको पर्दाफास गर्छिन् । 

साकुराजस्तो प्रेमकथा

सामुराई परिवारमा जन्मेकी एक युवतीले आफ्नो प्रेम पाउन गरेको संघर्ष कथामाथि बनेको फिल्म ‘हाना नो अतो’ (आफ्टर द फ्लावर्स) सन् २००९ मै बनेको हो । नेपालीलाई छाडेर हिन्दी र अंग्रेजी फिल्मले रजाइँ गर्ने हाम्रा हलहरूमा यस्ता फिल्म हेर्ने अवसर जुर्ने कुरै भएन ।


केन्जी नाकानिसीले निर्देशन गरेको यो अर्थपूर्ण प्रेमकथा बोकेको फिल्म राजधानीमा देखाइँदै छ । जापानी दूतावास र जापान फाउन्डेसनले गर्न लागेको जापानी फिल्म फेस्टिभलमा यसपटक यो फिल्म पनि परेको छ । फिल्ममा जापनी अभिनेत्री केइको कितागावा अभिनेता सुनतारो मियाओ, मासाहिरो कोमोतोलगायतको मनछुने अभिनय र उनीहरूको संघर्ष हेर्न सकिन्छ ।

प्रेमकथाको केन्द्रमा छिन्, इतो (केइको कितागावा) । साकुरा बगैंचामा एक झल्को देखभेट भएकै कारण मागोशिरो (सुनतारो मियाओ) सित प्रेममा परेकी इतोले आफ्नो प्रेम प्राप्तिका लागि गरेको प्रयास लोभलाग्दो छ । उनले आफ्नो प्रेम र आत्मसम्मानका लागि गरेको संघर्षले फिल्मलाई अघि बढाएको छ ।


मध्यकालीन समान्ती समाजको बेला जापानमा उदय भएको लडाकु सामुराईहरूको अनुशासन, उनीहरूको संस्कृति र सिकाइ प्रक्रिया पनि फिल्ममा बोनसको रूपमा उपलब्ध छन् । सामुराई परिवार बीचमै हुने षड्यन्त्र र केटाकेटीलाई नसोधी छिन्ने विवाह परम्पराको कारण इतोले प्रेमी गुमाउँछिन् । तैपनि उनी आफ्नो बाबुबाट प्राप्त गरेको तरबार विद्यालाई प्रयोग गर्दै अघि बढछन् र प्रेमीको दुश्मनलाई सिध्याउँछिन् ।


शुक्रबारदेखि पोखराबाट सुरु हुने फेस्टिभलमा अन्य फिल्म पनि छानिएका छन् । एनिमेसन, लभ ड्रामा, कमेडी, साइफाईदेखि बालबालिका केन्द्रित फिल्मसम्म । पोखराको गैरापाटनस्थित च्याम्बर अफ कमर्सको हलमा सिनोभु याजुचीको ‘सर्भाइभल फ्यामिली’, रिउता ताशाकीको ‘नान्जी किड्स्’, याशुहिरो योसिउराको ‘टाइम अफ इभ द मुभी’, ओसामु मिनोरिकावाको ‘इट्स अ ब्युटिफुल लाइफ’ देखाइने जापानी दूतावासका सांस्कृतिक विभागका ईश्वरीप्रसाद भट्टले जनाए ।


त्यस्तै राजधानी काठमाडौंको आर्मी अफिसर्स हलमा हुने मार्च २२ देखि हुने फेस्टिभलका लागि पाँचवटा फिल्म छानिएका छन् । फरक फिल्मको स्वाद चाख्न रुचाउने राजधानीका दर्शकले मोकोटो सिन्काईको रोन्मान्टिक एनिमेसन ड्रामा ‘फाइभ सेन्टिमिटर पर सेकेन्ड’, नाओकी मियाहाराका एनिमेसन फिल्म ‘पोप इन क्यु’, नाआतो कुमाजावाको रोमान्टिक कमेडी ‘फ्रम मु टु यु’, अकिरा आगाटाको ‘द रेसिपे अफ फर्च्युन’ र केन्जी नाकानिसीको ‘हाना नो अतो’ हेर्न पाइनेछन् ।


जापानी समाज, संस्कृति, सपना र मनोविज्ञान बुझ्न फिल्म फेस्टिभलले सघाउने भट्टले बताए । जापानी ल्यांग्वेज टिचर्स एसोसियशन (जाल्टान) सँगको सहकार्य रहेको फेस्टिभलमा जापानी दूतावास र जाल्टानले फ्री पास उपलब्ध गराउने विज्ञिप्तिमा जनाइएको छ । हरेक वर्ष पोखरा र काठमाडौंमा फेस्टिभल हुँदै आएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?