झुम्दै वसन्त रागमा

प्रशान्त माली

काठमाडौँ — राजधानीको वसन्तपुर दरबार क्षेत्रमा बिहीबार बिहान गुठियारको भीडभाड थियो । उपत्यकाका तीनै जिल्लाका मानिस सहभागी भए । रंग, अबिर छ्यापी र वसन्त राग गाएर नाच्दै रमाइलो गर्ने बाक्लै थिए । यो भीडमा हनुमान ढोकामा तीनतले चीर ठड्याएपछि मुलुकभर होली पर्व सुरु भएको जनाउ पनि हो । 

झुम्दै वसन्त रागमा

बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा परम्पराअनुसार रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको चीर ठड्याएको थियो । चीर ठड्याएपछि फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म नेपालीहरू मैत्री एवं सद्भावनापूर्वक एकापसमा रंग, अबिर छ्यापेर होली खेलेर वसन्त ऋतुको स्वागत गर्ने परम्परा छ ।


हिन्दु युवा महासंघका अध्यक्ष राजन महर्जनका अनुसार वसन्त ऋतुमा मानिसको मात्र होइन, जनावर र चराचुरुंगीमा समेत मौसम फेरबदलको संकेत आउँछ । कामवासनासमेत बढ्ने विश्वास छ । ‘होली पूर्णिमाको भोलिपल्टदेखि वसन्त ऋतु लाग्दछ । यसैले वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई मदनोत्सव भन्ने पनि गरिन्छ,’ उनले भने । चीर ६ गते राति ९ बजेर २३ मा ढालिने र १० बजेर ३ मिनेटमा बाल्ने साइत जुरेको छ । पर्वको अवसरमा गुरुजुको पल्टनले तोप पडकाई हर्षबढाइ गरेका थिए । साथै अबिर छर्किई होली पर्वको स्वागत गरियो । धादीले मृदंगामा बजाइएको तालमा श्रीकृष्णको स्तुति गाएका थिए । हनुमानढोका दरबारभित्र रहेको मोहनकाली चोकमा राजा प्रताप मल्लको पालामा काठले बनाइएको हातमा मुरली लिएका श्रीकृष्ण र नौवटा विभिन्न मुद्राका अर्धनग्न गोपिनीका मूर्ति सजाई अबिर छर्किर्ई पूजा गरिएको थियो ।


पौराणिक कथनअनुसार दानवराज हिरण्यकश्यपुले विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । आगोले विष्णुभक्त प्रह्लादलाई छोएन । बरु होलिका नै भष्म भइन् । यसरी होलिका रूपी पापवृत्ति जलेर भष्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतीक चीर दाह गर्ने परम्परा रहेको विश्वास गरिन्छ ।

प्रकाशित : चैत्र १, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?