प्रदेश जोड्दै नाटक

कृष्णप्रसाद गौतम

(सुर्खेत) — नेपाली रंगमञ्च सम्बद्ध विभिन्न ९ कार्यपत्र प्रस्तुति र एक दर्जन बढी नाटक मञ्चनसहित ‘रारा राष्ट्रिय नाटक महोत्सव’ सकियो । महोत्सवमा करिब पाँच हजार दर्शक सहभागी भएको आयोजकको दाबी छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले स्थानीय नाट्य संस्था आरंग नेपालसँग मिलेर गरेको महोत्सवको महत्त्वपूर्ण पाटो के रह्यो भने पूर्वी नेपालदेखि पश्चिम कर्णालीसम्मका रंगकर्मीहरू एकै थलोमा भेला भए, आआफ्ना सिर्जना देखाए अनि छलफल गरे ।

रारा राष्ट्रिय नाटक महोत्सवमा देखाइएको नाटकमा अभिनय गर्दै कलाकार । तस्बिर : कान्तिपुर



Citizen

नेपाली रंगमञ्चीय गतिविधिको पनि विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यता साथ आफूहरूले पहिलोपटक राष्ट्रिय स्तरको नाट्य महोत्सवको थलो सुर्खेत रोजेको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

नयाँ राजनीतिक परिर्वतनसहित मुलुक अग्रगति र समृद्धितिर अघि बढिरहेको अवस्थामा राष्ट्रिय संस्कृति निर्माणलाई पनि समृद्धिकै महत्त्वपूर्ण पाटोको रूपमा अघि बढाउनुपर्ने तर्क राख्दै उनले यही अभियानअन्तर्गत महोत्सव गरिएको बताए । ‘स्थानीय कलाकारहरूले आफ्ना सिर्जना मात्रै पस्केनन्,’ उनले भने, ‘ती सिर्जनामार्फत स्थानीय अर्ग्यानिक संस्कृति, विषयवस्तु, जीवनशैली विकासका सपना, परिकल्पना र समस्याहरूले समेत पस्के । यस हिसाबले महोत्सवका सबै सिर्जना र कार्यपत्रहरू अर्थपूर्ण रहे ।’ समापन समारोहको क्रममा थापाले खस सभ्यताको उद्गमस्थल कर्णालीको ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्न पनि महोत्सव सफल रहेको दाबी गरे । ‘सातै प्रदेशबाट आएका रंगकर्मीबीच सौहार्दता, भ्रातृत्व, र अन्तर्घुलन संस्कृति पनि सुरु भएको छ,’ उनले भने, ‘एक ठाउँको संस्कृति र समाजलाई अर्को ठाउँका मानिसले चिन्ने, हेर्ने र महसुस गर्ने अवसरको रूपमा यस्ता महोत्सवहरू निरन्तरता दिइनुपर्छ । सांस्कृतिक संस्थान योजनासहित अघि बढेको छ ।’

उनले रंगकर्मीबीच गरिएको प्राज्ञिक बहस र छलफलले नेपाली रंगमञ्चलाई दिशानिर्देश गरेको पनि उनले दाबी गरे । महोत्सवमा अभि सुवेदी, रमेशरञ्जन झा, सावित्री कक्षपती, कान्छी महर्जन, प्रवीण पुमा, चक्रप्रसाद पाण्डे, अशोक थापा, पुरु लम्साल, प्रवीण खतिवडालगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । महोत्सवको अन्तिम दिन सामाजिक कुसंस्कारविरुद्धको सन्देशसहित युथ क्रिएसन पोखराले नाटक ‘घेरो’ मञ्चन गर्‍यो । कपिल शर्मा निर्देशित नाटकमा नेपाली समाज भएका विभिन्न अन्धविश्वास तोड्ने प्रयत्न गरिएको थियो । भजनमार्फत समाजका कुरीति तोड्ने सन्देश नाटकमा दिइएको थियो । राष्ट्रियसभा सदस्य एवं साहित्यकार खेम नेपालीले भजनमार्फत सामाजिक कुसंस्कारलाई प्रस्तुत गरिएको नाटकले नेपाली समाजको सामाजिक संस्कारको प्रतिविम्बित गरेको बताए । ‘राजनीतिसँगै सांस्कृतिक परिवर्तन जरुरी रहेको सन्देश नाटकले दिएको छ,’ उनले भने, ‘सामाजिक कुसंस्कार तोड्न नाटक सफल भएको छ ।’

निर्देशक शर्माले सामान्य विषयमा नाटक गर्नु जटिल विषय भएको बताए । ‘हामीले हाम्रा समाजमा घटिरहेका सामान्य विषयलाई कहिल्यै दह्रोसँग उठाउन सकेनौं, हाम्रो संस्कृति लोप भयो भनेर चिन्ता मात्र गरिरह्यौं,’ उनले भने, ‘सायद जिन्दगी एक सिकाइ हो, त्यही सिकाइलाई चरितार्थ गर्न मैले घेरोको निर्देशन गर्ने जोखिम बहन गरे ।’ नाटकमा मदुसूदन पौडेल, ताराखर पौडेल, विनोद पौडल, लक्ष्मण डुम्रे, शर्मिला बस्नेत, ममता मञ्जुल, अञ्जना पौडेललगायत १० कलाकारले अभिनय गरेका छन् ।

समापनकै क्रममा ‘ङ’ समूह काठमाडौंको प्रस्तुतिमा प्रवीण खतिवडाको निर्देशन रहेको अर्को नाटक ‘एक बोली, एक दाम’ को समेत मञ्चन गरियो । नाटकमा एकजना पात्र चार रुपैयाँ लिएर मकै किन्न भनी सदरमुकाम जान लागेको बेला बाटोमा एक सन्तसँग भेट हुन्छ । बोलीपिच्छे एक रुपैयाँ लिने सर्तमा ऊसँग कुरा गर्न साधु मञ्जुर हुन्छ । किसानले आफूसँग भएको सबै रुपैयाँ सन्तलाई दिन्छ । सन्तले पनि रुपैयाँ पाएपछि एक गहकिलो जीवनोपयोगी सन्देश दिन्छ । पछि सहर पुग्दा किसान आपत्मा पर्छ । सन्तले भनेको कुरालाई आत्मसाथ गर्दै ऊ बाँच्न सफल भएको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । ‘यो कथा हाम्रो समाजमा चलेको परम्परा र परिधिको कथा हो,’ निर्देशक खतिवडाले भने, ‘पुर्खाहरूको लोककथालाई दर्शकको पुस्तकालय बनाउने अभियान स्वरूप यो नाटक प्रस्तुत गरिएको हो ।’ उनले जीवनदर्शनलाई कथामा जोड्न खोजिएको जनाए । नाटकमा सुदाम सिके, दीपेन्द्र शाही, शक्ति राई, संगीत सापकोटा, गोविन्द पराजुली, सिजन दाहालले अभिनय गरेका छन् ।

महोत्सवले सुर्खेत मात्र नभई सिंगो कर्णाली प्रदेशमा रंगमञ्चीय तरंग निर्माण गरेको स्थानीय आयोजक आरंग नेपालका अध्यक्ष गणेश गौतमले बताए । कर्णाली प्रदेशका संस्कृतिलाई प्रवर्द्धन गर्न महोत्सव सफल भएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

प्रकाशित : चैत्र १, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

झुम्दै वसन्त रागमा

प्रशान्त माली

काठमाडौँ — राजधानीको वसन्तपुर दरबार क्षेत्रमा बिहीबार बिहान गुठियारको भीडभाड थियो । उपत्यकाका तीनै जिल्लाका मानिस सहभागी भए । रंग, अबिर छ्यापी र वसन्त राग गाएर नाच्दै रमाइलो गर्ने बाक्लै थिए । यो भीडमा हनुमान ढोकामा तीनतले चीर ठड्याएपछि मुलुकभर होली पर्व सुरु भएको जनाउ पनि हो । 

राजधानीको बसन्तपुरमा बिहीबार चीर ठड्याई होली पर्व सुरु गरिँदै । तस्बिर : संजोग मानन्धर/कान्तिपुर

बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा परम्पराअनुसार रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको चीर ठड्याएको थियो । चीर ठड्याएपछि फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म नेपालीहरू मैत्री एवं सद्भावनापूर्वक एकापसमा रंग, अबिर छ्यापेर होली खेलेर वसन्त ऋतुको स्वागत गर्ने परम्परा छ ।

हिन्दु युवा महासंघका अध्यक्ष राजन महर्जनका अनुसार वसन्त ऋतुमा मानिसको मात्र होइन, जनावर र चराचुरुंगीमा समेत मौसम फेरबदलको संकेत आउँछ । कामवासनासमेत बढ्ने विश्वास छ । ‘होली पूर्णिमाको भोलिपल्टदेखि वसन्त ऋतु लाग्दछ । यसैले वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई मदनोत्सव भन्ने पनि गरिन्छ,’ उनले भने । चीर ६ गते राति ९ बजेर २३ मा ढालिने र १० बजेर ३ मिनेटमा बाल्ने साइत जुरेको छ । पर्वको अवसरमा गुरुजुको पल्टनले तोप पडकाई हर्षबढाइ गरेका थिए । साथै अबिर छर्किई होली पर्वको स्वागत गरियो । धादीले मृदंगामा बजाइएको तालमा श्रीकृष्णको स्तुति गाएका थिए । हनुमानढोका दरबारभित्र रहेको मोहनकाली चोकमा राजा प्रताप मल्लको पालामा काठले बनाइएको हातमा मुरली लिएका श्रीकृष्ण र नौवटा विभिन्न मुद्राका अर्धनग्न गोपिनीका मूर्ति सजाई अबिर छर्किर्ई पूजा गरिएको थियो ।

पौराणिक कथनअनुसार दानवराज हिरण्यकश्यपुले विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । आगोले विष्णुभक्त प्रह्लादलाई छोएन । बरु होलिका नै भष्म भइन् । यसरी होलिका रूपी पापवृत्ति जलेर भष्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतीक चीर दाह गर्ने परम्परा रहेको विश्वास गरिन्छ ।

प्रकाशित : चैत्र १, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT