१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

द म्यान फ्रम काठमान्डु - “विश्वको ढोका खोल्छ”

सुशील पौडेल

काठमाडौँ — सुपर हिरो हैन, एउटा हिरोको यात्रा कथा भनिएको ‘द म्यान फ्रम काठमान्डु’ शुक्रबारदेखि नेपाल रिलिज भइरहेको छ । यसका लागि रिलिजको पूर्वसन्ध्यामा नै काठमाडौं झरिसकेका छन्, फिल्मका मुख्य कलाकार ‘ब्याड म्यान’ उर्फ गुल्सन ग्रोभर । बिहीबार मात्रै पाटन दरबार स्क्वायरमा फिल्मको प्रमोसन गर्न पुगेका गुल्सन बिहीबार फिल्मको प्रिमियर सोमा देखिएका थिए । यो उनको तेस्रो नेपाल भ्रमण हो ।

द म्यान फ्रम काठमान्डु - “विश्वको ढोका खोल्छ”

‘पहिलो पटक मनीषा कोइरालाको बिहेका लागि आएको थिएँ,’ गुल्सन मनीषालाई आफ्नो अति मिल्ने साथी मान्छन् । त्यसो त नेपाल आउनुअघि नै उनले नेपाल र यहाँको संस्कृति, खानपानबारेमा मनीषाबाट नै धेरै सुनेका रहेछन् । ‘मेरो घरनजिकै मनीषाको पनि छ । उनका कारण पनि म नेपालको कला, संस्कृति, खानपान र नेपालीका बारेमा जानकार थिएँ । मनीषाकै घरमा मैले नेपाली खाना खाएको थिएँ । हिजो पनि यहाँ नेपाली खाना नै खाएँ । सबै मीठो लाग्यो तर नुन अलि चर्को खाने रहेछन्,’ फिल्मको चरित्रका कारण ‘ब्याड म्यान’ को ट्याग पाएका भए पनि गुल्सन वास्तविकतामा त्यसको विपरीत देखिए । मनीषाको तारिफमा उनले थपे, ‘मनीषालाई नेपालका लागि विश्वकै राजदूतभन्दा हुन्छ । उनको नेपालप्रतिको माया र सम्मान अधिक छ । जहाँ जान्छिन्, नेपालको सुवास फैलाउँछिन् ।’ यति बेला भने उनी नेपाल र हलिउडको ज्वाइन्ट भेन्चरमा पेमा ढोन्डुपले निर्देशन गरेको फिल्म ‘द म्यान फ्रम काठमान्डु’ को सुवास छर्न काठमाडौं आइपुगेका हुन् । दोस्रो पटक उनलाई नेपाल बोलाएको फिल्म यही थियो । सुटिङ दौरान उनी आएका थिए ।


भारतमा जन्मेका तिब्बती मूलका पेमा लस एन्जल्समा फिल्म निर्देशन पढेका हुन् । गुल्सनसँगको उनको दोस्ती १७ वर्ष पुरानो हो । ‘फिल्मप्रति ऊ अति समर्पित छ । उसले जति पनि फिल्म बनाउने योजना गर्छ, मलाई नै खेल्न प्रस्ताव गरिरहेको हुन्छ,’ सन् २००४ को ‘वी आर नो मंक्स’ मा पनि गुल्सनलाई खेलाएका पेमाले दोस्रो फिल्ममा पनि लिए । यस फिल्मप्रति भने गुल्सनको आशा उच्च देखिन्छ । भन्छन्, ‘यो केवल फिल्म मात्रै नभई नेपाली फिल्म उद्योगको विकासका लागि कोसेढुंगा पनि हुने विश्वास छ । पहिलो पटक हलिउड र नेपालको संयुक्त ब्यानरमा यो तहसम्मको प्रयास भएको छ । हलिउडदेखि नेपालसम्म सुटिङ, हलिउड–नेपाल र अरू देशका कलाकार एक भएर बनाइएको छ । फिल्म त मैले हेर्न पाएको छैन तर विश्वास छ धेरै राम्रो बनेको हुनुपर्छ । प्रयासचाहिं तारिफयोग्य थियो । यसले गर्दा हामी संयुक्त ब्यानरमा काम गर्नका लागि अन्य धेरै ढोकाहरू खोल्न सक्छौं ।’


४० वर्षअघि ‘हम पाँच’ बाट अभिनय यात्रा थालेका ६३ वर्षीय गुल्सनले भारतीय फिल्मबाहेक पनि धेरै विदेशी फिल्ममा काम गरेका छन् । ‘म त्यस्तो पहिलो भारतीय कलाकार हुँ जो पोलिस, इरानियन, मलेसियन, क्यानेडियन, ब्रिटिस, जर्मन, फ्रेन्च, हलिउडजस्ता फिल्ममा महत्त्वपूर्ण भूमिकामा रहेर काम गरेको छु,’ गुल्सनले यति बेला नेपाली फिल्मसमेत गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफूले खेलेका हरेक विदेशी फिल्म त्यस देशका लागि ‘टर्निङ प्वाइन्ट’ समेत हुने गरेको जिकिर गर्दै ‘द म्यान फ्रम काठमान्डु’ ले पनि नेपाली फिल्म उद्योगमा नयाँ बाटो तय गर्ने विश्वास व्यक्त गरे । ‘यस्ता असल प्रयासलाई पत्रकार, दर्शक र सबै मिलेर सहयोग गर्नुहोला ताकि यसले फिल्मवालालाई मात्रै नभई सारा नेपाली फिल्म उद्योगलाई फाइदा हुनेछ र अरू धेरै ज्वाइन्ट भेन्चरहरू भित्रिने छन्,’ राजधानीको झम्सीखेलको एक होटलमा भएको कुराकानीमा गुल्सनले कान्तिपुरसँग भने, ‘यो फिल्म नेपालमा मात्रै नभई विश्वका अन्य देशमा पनि रिलिज हुने भएकोले नेपालप्रति विश्वको ध्यान आकृष्ट हुनेछ । हेर्नुस् त, ठूला–ठूला क्यामेरा बोकेर हाम्रा फिल्मकर्मी बलिउडमा बसे तर भारतलाई ओस्कर असमको एक व्यक्तिले बनाएको फिल्मले दिलायो । सफलता कहाँबाट पाइन्छ केही थाहा हुन्नँ ।’


गुल्सनले ‘द म्यान फ्रम काठमान्डु’ केवल साथीको फिल्म भएर मात्रै गरेका थिएनन् । ‘खासगरी फिल्म खेल्न पहिले त समय मिल्नुपर्छ, त्यसपछि भूमिका अनि पारिश्रमिकको कुरा आउँछ,’ गुल्सनलाई त यस फिल्मको सुटिङ समय पोलिस फिल्मकै सुटिङसँग जुधिरहेको थियो । तैपनि खेलिछोडे । ‘जब पोल्यान्डमा हिउँ पर्न ढिलो भयो र सुटिङ सोचेको समयमा सुरु नहुने भयो । अनि म यसको सुटिङका लागि उडेर काठमाडौं आउन पाएँ ।’ उनले यस फिल्ममा लगभग नि:शुल्क नै काम गरेको उल्लेख गर्दै थपे, ‘तर पनि म यस फिल्मको हिस्सा हुन पाउँदा खुसी छु । एउटा नयाँ प्रयासप्रति मेरो सम्मान रहन्छ । नयाँ रोचक विषयलाई नयाँ सोच र नयाँ सर्जकलाई सहयोग गरिँदैन भने त्यो कलाकारको सफलताको अर्थ छैन । मैले ठूला–ठूला फिल्म र ब्यानरसँग काम गरेको छु । जब कुनै सानो भए पनि चित्तबुझ्दो फिल्म पनि आयो भने म गर्छु । कतिपय फिल्मको पूरा बजेटभन्दा बढी त मेरो पारिश्रमिक हुने गर्छ । तर पनि म ‘आई एम कलाम’ जस्ता फिल्म गर्छु । यदि मेरो सफलता वा स्टारडम कुनै राम्रो फिल्मका लागि काम आउँछ भने मात्रै म त्यो स्टारडम वा सफलतालाई जायज मान्छु ।


पेमाले पनि यो फिल्म बनाउने जब प्रयास गरे अनि यति राम्रो टिम, निर्माता जोडिएको छ भने किन नगर्ने भन्ने लाग्यो ।’

गुल्सन ग्रोभरले फिल्ममा हलिउड कलाकार जोस म्यानुअलदेखि पाकिस्तानी कलाकार हमिद शेख र नेपाली कलाकार आना शर्मा, नीर शाह, कर्मा शाक्य, पारामिता राना, आमिर गौतम, शिशिर वाङ्देल, पुष्कर गुरुङलगायतसँग काम गरेका छन् । निर्देशक पेमाले नेपालका नकिम उद्दिनसँग मिलेर निर्माण गरिएको यस फिल्मको संगीत ज्यासन कुँवरले दिएका हुन् भने छायांकन कार्लोस मेडिनाको रहेको छ । गुल्सनले नेपाली प्राविधिक र कलाकार काममा मिहिनेती र गजब लागेको प्रतिक्रिया दिँदै उनीहरूप्रति अगाध सम्मान रहेको बताए । फेरि गतिलो प्रयास कुनै गरिन्छ भने दोहोर्‍याएर नेपाली फिल्म खेल्न तयार रहेको बताउँदै उनले यसै फिल्मको पनि निर्देशकले दोस्रो भाग बनाउन चाहिरहेको सुनाउँदै भने, ‘तर भगवान्ले के चाहेको छ भन्ने कुरा शुक्रबार रिलिजपछि नै थाहा हुन्छ ।’

प्रकाशित : चैत्र १, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?