२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गीतभन्दा फरक “साइँली”

भीम घिमिरे

पोखरा — गीत ‘साइँली’ लाई नै आधार मानेर कथा तयार पार्ने र फिल्म बनाउने भन्ने सोचेका थिएनन् गायक हेमन्त रानाले । ‘रामबाबु गुरुङले तयार पार्नुभएको स्क्रिप्टमा फिल्म बनाउँदा ठीक हुन्छ भन्ने लागेपछि ‘साइँली’ प्रोजेक्ट अघि बढायौं,’ उनले भने ।

गीतभन्दा फरक “साइँली”

दुई वर्षअघि चर्चित भएको गीत ‘सुन साइँली...’ लाई फिल्मका निर्मातामध्येका रानाले नै गाएका हुन् । उक्त गीतको म्युजिक भिडियोले युट्युबमा २ करोड भ्युज छुन लागेको छ । परदेश पुगेको युवक र उसको बाटो कुरेर गाउँमा बसेकी उनकी जीवनसंगिनीको भावनात्मक संवादसहितको भिडियोले गीतलाई झन् लोकप्रिय बनायो । उक्त म्युजिक भिडियोमा देखाइएको कथामा केही चरित्र, प्रसंग बिस्तार र समायोजन गरेपछि ‘साइँली’ ले फिल्मको आकार पाएको हो । फिल्म चैत १५ देखि प्रदर्शन हुँदै छ ।


‘साइँली गीतले वैदेशिक रोजगारीको चक्रमा जेलिएको नेपाली समाजको कथा बोलेको छ तर, गीतले भन्दैन पूरा कथा,’ फिल्म ‘साइँली’ का बारेमा जानकारी दिन शुक्रबार पोखरामा आयोजित कार्यक्रममा युवा गायक रानाले भने, ‘हाम्रो समाजमा अरू पनि थुप्रै साइँला–साइँली छन्, फिल्ममा अरूका पनि कथाहरू छन् । पूरा कथालाई हामीले फिल्ममा देखाउने प्रयास गरेका छौं ।’


आफैं पनि वैदेशिक रोजगारीमा रहेकाले त्यस्तो विषयले मन छोएको उनले बताए । ‘किताब र कथाहरूमा फिल्म बन्नु नौलो नभए पनि सफल हुनु/नहुनु चुनौती रहन्छ,’ उनले भने, ‘हामीले पनि गीतलाई आधार मान्दै फिल्म बनाएर एउटा परीक्षण नै गरेका हौं ।’ नेपाली समाजमा वैदेशिक रोजगारीका अवस्था देशका कुनै पनि भेगका लागि अनौठो नभएकाले दर्शकले सहज रूपमा लिने उनको अपेक्षा छ ।


हेमन्त साउद र कालीप्रसाद बाँस्कोटाले तयार पारेको ‘सुन साइँली...’ गीतको म्युजिक भिडियोमा देखिएका मेनुका प्रधान र गौरव पहारी नै फिल्ममा पनि मूलपात्रका रूपमा रहेका छन् । साथमा दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे र माओत्से गुरुङको प्रभावशाली भूमिका थपिएको छ । संगीतकार बाँस्कोटा भन्छन्, ‘साइँली गीत नेपाली समाजका लागि एउटा विम्ब बन्यो तर, यसैलाई लिएर फिल्म बनाउनु चुनौती मोल्नुभन्दा कम थिएन । समग्रमा कथालाई चरित्रहरूले न्याय गरे/नगरेको छुट्याउने जिम्मा दर्शकको हो ।’ गीतलाई आधार माने पनि फिल्मले वैदेशिक रोजगारी र यसले नेपाली समाजमा पारेको प्रभावका आयामलाई केलाउने उनको ठम्याइ छ ।


फिल्मकी शीर्ष पात्र मेनुकाले ‘साइँली’ मा अभिनय गरिरहँदा नेपाली समाजमा महिलाले निर्णय लिन सक्ने/नसक्ने क्षमताको परीक्षण आफैंबाट गर्न पाएजस्तो लागेको बताइन् । ‘पात्रका रूपमा म महिलाको निर्णय क्षमता र अप्ठ्यारा अवस्थाप्रति साक्षात्कार भएँ,’ उनले भनिन्, ‘एउटा महिलाका लागि कठिन निर्णयहरू लिनुपर्दाका अवस्था सजिलो हुने रहेनछ भन्ने लाग्यो ।’ फिल्मका लागि सिर्जनशील कलाकर्मीको समूह पाएकाले आफूले ‘साइँली’ पात्रका रूपमा सक्दो परिश्रम गरेको उनले बताइन् ।


काठमाडौंमा फिल्मको अन्तिम प्राविधिक काम गर्दै रहेका निर्देशक रामबाबु गुरुङ भने कार्यक्रममा अनुपस्थित थिए । उनले दिनुपर्ने प्रश्नको उत्तर दिँदै कलाकार दयाहाङ राईले भने, ‘पोखराको माथिल्लो क्षेत्रलाई सुटिङका लागि छान्नुका कारण त्यहाँको समाजमा जातीय विविधता भएकाले पनि हो ।’


विभिन्न जातजाति मिलेर बनेका परिवारहरूका अनुहार मेल खाने ठाउँको छनोट गर्दा सुटिङ स्पट कास्की हुन पुगेको उनले बताए । फिल्मको छायांकन हेम्जाकोट र घाचोकमा गरिएको कलाकार प्रकाश घिमिरेले बताए । ‘म साइँलीको ससुराको भूमिकामा छु,’ उनले भने, ‘फिल्ममा साइँली विदेश जान्छिन् । गाउँघरको अहिलेको अवस्था बोल्ने भए पनि गीतमा देखेको भन्दा कथा केही फरक छ ।’


रंगमञ्च हुँदै फिल्म क्षेत्रमा आएका प्रधान, राई र घिमिरेजस्ता कलाकारका बीच आफूलाई सुरुसुरुमा अभिनयलाई लिएर केही संकोच लागेको बताउने पहारीले भने, ‘म रंगमञ्चबाट फिल्ममा आएको होइन तर, रंगमञ्चबाट आएकाहरूका बीचमा काम गर्नुपर्दा गाह्रो हुने हो कि जस्तो लागेको थियो । सुटिङ सुरु भएपछि मात्रै बिस्तारै सबै कुरा मिल्दै गयो ।’ सबै कलाकारबाट हौसला र सहयोग पाएकाले आफूलाई दिइएको पात्रको अभिनयमा सक्दो न्याय गरेको उनले बताए ।


कलाकार राईले पहारीको कामको खुलेर प्रशंसा गरे । ‘म फिल्ममा आएर यो क्षेत्रलाई बुझ्ने प्रयासमा छु, गौरव फिल्मबारे पढेर आएको हुनाले ऊसँगको काम सजिलो भयो,’ उनले भने, ‘फिल्ममा जो जुनसुकै क्षेत्रबाट आए पनि काम गर्ने क्षमता र उसको आइडियालाई मानिने भएकाले उसको सुझबुझबाट मैले पनि सिक्न पाएँ भन्ने लागेको छ ।’

प्रकाशित : चैत्र २, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?