महिना दिन खेल्न छोडे रानाथारु

भवानी भट्ट

कञ्चनपुर — कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारूका बस्तीमा यति बेला होलीपर्वको तयारी सुरु भइसकेको छ । राना गाउँमा ढोलक बज्न थाले भने होली आगमन भएको अनुमान गरिन्छ । रानाहरूको प्रमुख चाड नै होली भएकाले उनीहरूको बस्तीमा होली नाचमा सहभागी हुने युवा/युवती आफ्नो परम्परागत पहिरन र गहनाको चाँजो मिलाउन व्यस्त भएका छन् ।

यो समुदायमा फागु पूर्णिमाभन्दा एक महिनाअघि सुरु हुन्छ होली । पूर्णिमाका दिन होलिका दहन गरिन्छ । भोलिपल्ट त्यही खरानीको टीका लगाएर फेरि गाउँमा होली खेलिन्छ । होलिका दहन गरेपछि पनि कम्तीमा ८ दिन र गाउँको आकार हेरेर १०/१२ दिनसम्म पनि खेलिन्छ । यसरी होली खेल्ने राना थारू समुदायको पुरानो परम्परा हो ।


तर, अचेल यो परम्परा हराउँदै गएको छ । एक महिनाभन्दा बढी खेलिने होली एक हप्तामा साँघुरिएको छ । अन्य समुदायमा तीन दिन मात्रै चल्ने होली फागु पूर्णिमाका दिन सकिन्छ ।


गाउँमा होली खेल्नेहरू पनि कमै हुन्छन् । ‘होलीमा अब पहिले जस्तो रौनक रहेन,’ कञ्चनपुरको भीमदत्त नगरपालिका १६ नयाँ कटानका नाथुराम रानाले भने, ‘पहिले होली सुरु हुँदा गाउँमा अर्कै माहोल हुन्थ्यो, बालबालिकादेखि युवा–युवती र वृद्धवृद्धा सबै त्यसमै रमाउँथे ।’ आफ्नै मौलिक पहिरनमा सजिएर मादल बजाउँदै बूढापाकाहरूले गाउने होली गीतले गाउँ नै गुञ्जायमान हुन्थ्यो ।

राना थारू समुदायले फागु पूर्णिमाको अघिल्लो पूर्णिमादेखि होली खेल्न सुरु गर्थे ।


हरेक दिन पालैपालो गरी एक महिनासम्म सबैका घरमा खेलिन्थ्यो । ‘साँझदेखि रातभरि होलीमा नाचेर रमाउथ्यौं खेल्थ्यौं,’ नाथुराम भन्छन्, ‘साँझदेखि बिहानसम्म समयअनुसार होलीका फरक–फरक गीत छन् । साँझ बालबालिकालाई सुताउने खालका र उज्यालो हुने बेला घर–परिवारलाई उठाउने र सूर्योदयसम्बन्धी गीत गाइन्थ्यो । बिहान होली सकेर त्यहीँ घरमा मिठाई खाएर बिदा भइन्थ्यो ।’ रामायणका गाथा र कृष्णलीलासँगै समुदायका मौलिक गीतमा महिला र पुरुषसँगै नाच्दा होलीको रौनक बेग्लै हुन्छ ।


होलिका दहनपछि पनि कम्तीमा ८ देखि १०/१२ दिनसम्म होली खेलिन्छ । यो परम्परा भने अहिले पनि जारी छ । ‘अहिले अरूको होली सकिएपछि हाम्रो सुरु हुन्छ,’ नयाँ गाउँकै स्थानीय पर्शुराम रानाले भने, ‘विगत जस्तो एक/डेढ महिनासम्म रमाइलो नभए पनि ८/१० दिन भने खेल्छौं ।’ उनका अनुसार फागु पूर्णिमापछि खेलिने होली पनि गाउँमा रहेका सबै घरमा खेलिन्छ । होली खेलेकै घरमा खानापिन गर्ने चलन छ ।


बिहान पालो पुगेको घरमा गएर होली खेल्नेबारे जानकारी गराइन्छ । घरमुलीले खाना खुवाउने तथा अन्य व्यवस्थापन गर्न सक्ने भए एक पटक बिहान नै होली खेलिन्छ । त्यसलाई राना थारू भाषामा ‘होरी मनबान’ भनिन्छ । साँझ फेरि पूरै गाउँलेहरू होली खेल्न निस्कन्छन् ।

प्रकाशित : चैत्र ४, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?