२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपथ्यले उराल्यो दुबई

काठमाडौँ — नेपथ्यका मुख्य गायक अमृत गुरुङले जब आफ्नो गीतको थिम खुलाउँदै दर्शकतिर प्रश्न फ्याँके, ‘सबैभन्दा पहिले हामी...?’ २५ सय दर्शकले भरिभराउ हलमा जवाफ गुन्जियो, ‘नेपाली ।’

नेपथ्यले उराल्यो दुबई

त्यसअघि नै अमृतले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै त्यसरी नै लेखेका थिए, ‘सबैभन्दा पहिले हामी..., धन्यवाद दुबई, माया र साथका लागि’ केही समयपछि ‘अल नासेर लिजर ल्यान्ड’ को मञ्चमा बसेका कलाकार र दर्शकदीर्घा पूरै नचाउँदै गुन्जियो, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली...।’ गीतमार्फत नेपालीपनको भावना यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाबाट संकलन गरिएका लोकधुनमा आधारित नेपथ्यका गीत क्रमैसँग गाए । नेपालयको विज्ञप्तिअनुसार ‘गुरुङको प्रस्तुतिले सम्पूर्ण अवधिभर दर्शकलाई बाँधिराख्यो ।’


विज्ञप्तिअनुसार दर्शकदीर्घामा आयुषमान डंगोल पनि देखिन्थे । उनी सारजहाँस्थित एयर अरेबियाका पाइलट हुन् । आयुषसँगै उनका ‘एयर होस्टेस’ साथी सुस्मिता ताम्राकार पनि थिइन् । ‘दुबईमा नेपाली कार्यक्रमलाई खासै महत्त्वका साथ नहेरिने गरेको अवस्थामा नेपथ्य यति राम्रोसँग प्रस्तुत हुँदा एक राष्ट्रिय गौरवबोध भएको छ,’ आयुषले भने । आयुष बितेको तीन वर्षदेखि एयर अरेबियाको विमान उडाउँदै आइरहेका छन् भने सुस्मिताको ११ वर्ष बितिसकेको छ । कार्यक्रम अवधिभर अन्य दर्शकहरूजस्तै यी दुई जना पनि साथसाथै नाचिरहेका र गाइरहेका देखिन्थे । कार्यक्रमका बेला अल नासेरको पार्किङ थलो कारले टनाटन भरिएको विज्ञप्तिमा जनाइएको छ ।


‘संयुक्त अरब इमिरेट्सभरि छरिएर रहनुभएका नेपालीबाट प्राप्त माया र सद्भावका निम्ति हामी आभार प्रकट गर्दछौं,’ आयोजक कमिटीका सुजन राजाले विज्ञप्तिमार्फत भने, ‘आबुधाबी, सारजहाँ र रस अल खइमाजस्ता छेउछाउका राज्यबाट पनि बस रिजर्भ गरेरै टनाटन दर्शक ओइरिएका थिए ।’ दुबईमा नेपथ्यको यो दोस्रो प्रस्तुति थियो । यसअघि सन् २०१५ को भुइँचालो लगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्यान्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन ।


दुई घण्टासम्म लगातार चलेको कन्सर्ट राष्ट्रिय भावना र लोकलयमा आधारित आवाजको मिश्रण थियो । सो अवधिमा ‘रेशम’ र ‘तालको पानी’ ले जसरी दर्शकलाई उल्लासले बुरुक्क बुरुक्क उफारेको थियो त्यसैगरी ‘यो जिन्दगानी...’, ‘मै मरी जाउँला...’ र ‘कोसीको पानी...’ले भावुक बनाएको थियो । त्यसपछि स्वदेश र आफ्नो समाजलाई सम्झाउँदै ‘हामी नेपाली...’, ‘गाउँगाउँबाट उठ...’ र ‘रातो र चन्द्रसूर्य...’ ले नेपालीपनको भावनासहित कन्सर्टलाई बिट मारेको थियो । अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

प्रकाशित : चैत्र ४, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?