कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानभासमा वीरगन्ज

शंकर आचार्य

पर्सा — वीरगन्जमा होलीको रंग चढ्न थालिसकेको छ । होलीको ठीक अघि भने नेपाल ललितकला प्रतिष्ठान चित्रकला विभागको आयोजनामा आइतबारदेखि सुरु भएको तीनदिने वीरगन्ज कला महोत्सवमा कलाकारहरूले बनाएका कलात्मक चित्रले यहाँको माहोल रंगीन बनाएको छ । 

क्यानभासमा वीरगन्ज

राणिसती अतिथि सदनमा आइतबारदेखि चित्रकला प्रदर्शनी पनि सुरु भएको छ । वीरगन्जका मात्र नभई मुलुकभरिका चर्चित चित्रकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् । पश्चिमी शैलीका कलामा बनाइएका एकेलिक र वाटर कलरका अधिकांश तस्बिर वीरगन्जको मौलिकतालाई समेटेर बनाइएका छन् ।


वीरगन्जको घण्टाघर, गहवामाई मन्दिर, महावीर मन्दिर, घडिअर्वा पोखरीदेखि वीरगन्जेली भोजपुरी रहनसहन, परिवेश, कला, संस्कृति आदि तस्बिरमा समेटिएका छन् । ३८ चित्रकारमध्ये १८ वीरगन्जकै छन् । मुकेश महतो, अजमत अली, श्याम श्रेष्ठ, नारायण लामा, शंकर श्रेष्ठ, सञ्जय गिरी, आर्यन चौधरी, आदित्य पटेल, राजन महतो, निशा सर्राफ, निशा झा, ईशा झा, रामनरेश चौरसिया, विनोद गुप्ता, विवेक साह, शैलेन्द्र प्रजापती आदिका चित्रले महोत्सवमा वीरगन्ज र सेरेफेरोको दरिलो प्रतिनिधित्व गरिरहेको छ ।


डीबी राई, विनोदकुमार गुप्ता, सृजनराज भण्डारी, दीपेन्द्र बनेपाली, कान्छाकाजी भासिमा, जया शर्मा, सपना शाह, सुषमा श्रेष्ठ, श्रेया श्रेष्ठ, सुनील कुशवाहा आदि राजधानीका तथा गैर वीरगन्जेली चित्रकारका अधिकांश चित्रले पनि कहीं न कहीं वीरगन्ज र भोजपुरी कलासंस्कृतिको झल्को दिइरहेका छन् ।


वीरगन्ज घर भई राजधानीमा बसोबास गर्ने विनोदकुमार गुप्ता २०६० सालपछि वीरगन्जमा यस्तोखाले प्रदर्शनी भएको बताउँछन् । ‘२०६० मा निर्वाण आर्ट ग्यालरीले एउटा वर्कसप आयोजना गरेको थियो, त्यसयता अधिकांश यस्ता कार्यक्रम धनुषा, सिराहा र हेटौंडामा मात्र भइरहे,’ उनले भने, ‘यसपटक वीरगन्जमा आयोजना गरिएको महोत्सवले पुराना चित्रकारलाई समेट्दै नयाँ प्रतिभालाई बाटो देखाउने काम गरेको छ ।’


प्राज्ञ एवं प्रतिष्ठानकी चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीले २ नम्बर प्रदेश एवं वीरगन्जमा चिक्रकलासम्बन्धी कार्यत्रम अत्यन्त कम भएकाले प्रतिष्ठानले यस पटक वीरगन्जलाई रोजेको बताइन् । ‘वीरगन्जमा यति राम्रा कलाकार रहेछन् भन्ने कुरो हामीले प्रदर्शनीबाटै थाहा पायौं, सुरुमा पत्यार पनि लागेन, हामीलाई धेरै खुसी लागेको छ,’ उनले भनिन्, ‘यहाँका केही कलाकार अन्तर्राष्ट्रिय स्तरमा समेत कडा प्रतिस्पर्धा दिने क्षमता भएका हुनुहुन्छ ।’


प्रतिष्ठानले ७ वटै प्रदेशमा शाखा स्थापना गर्न लागेको र प्रदेशस्तरीय पुरस्कार दिएर स्थानीय कलाकारलाई प्रोत्साहित गर्न लागेको उनले योजना सुनाइन् । प्रदर्शनीबाट स्थानीय कलाकार पनि हौसिएका छन् । युवा कलाकार अजमत अलीले आफूले मुलुक तथा मुलुकबाहिर पनि आफ्ना चित्र प्रदर्शनी गर्ने अवसर पाए पनि स्थानीय स्तरमा यसरी पहिलो पटक प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताए ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?