कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कर्णालीको काल्पनिक “फड्को”

कृष्णप्रसाद गौतम

सुर्खेत — विकास पेसाले इन्जिनियर हो । ब्राह्मण समुदायमा जन्मिएका विकासको मगर समुदायकी पवित्रासँग विवाह हुन्छ । विवाहमा हुडे बजाउने व्यक्तिले चेकमार्फत ज्याला बुझ्छन् । विवाहपछि नागरिकतामा पतिपत्नीको नाम कायम गर्न पवित्रादम्पती जिल्ला प्रशासन जान्छन् । सबै काम कम्प्युटर र अनलाइन सिस्टमबाट हुन्छन् ।

कर्णालीको काल्पनिक “फड्को”

कार्यालय समयमा सेवा नपाए सेवाग्राहीले क्षतिपूर्ति पाउँछन् । बुहारी गर्भवती भएपछि विकासकी आमाले स्वास्थ्य चौकीमा फोन गरेको १० मिनेटमै एयर लिफ्टिङमार्फत डाक्टर आउँछन् र घरमै चेकजाँच गर्छन् । स्वास्थ्य चौकीमा पनि चिकित्सकले उपचार गर्छन् । विकासको बच्चा जन्मिएको दिनमै कर्मचारी आएर घरमै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको ग्यारेन्टीसहितको अनलाइन

फाराम भर्छन् ।


दृश्य नाटकको हो । समृद्ध कर्णालीको सपना बोकेको नाटक । अर्को दृश्यमा राष्ट्रपति रारा भ्रमणका लागि आउँछन् । उनको सवारीका लागि काठमाडौंदेखि सिंजासम्म हेलिकप्टर र कनकासुन्दरीदेखि रारासम्म केबुलकारको व्यवस्था गरिएको हुन्छ । उनले कर्णालीको समृद्धि देशकै नमुना भएको बताउँदै सबैले पाठ सिक्नुपर्ने मन्तव्य दिन्छन् । गाउँमा फोहोर निगरानी गर्न सीसी क्यामेराको व्यवस्था गरिएको हुन्छ । जातीय विभेद शून्य अवस्थामा हुन्छ ।


भ्रष्टाचारको अन्त्य भएको, असल राजनीतिक संस्कारको विकास भएको, बालविवाह हटेको, हिल्सा र नाल्चेनाग्ला नाका खुलिसकेको, रारासम्म चार लेनको बाटो खुलेको छ । रेडियोमा समाचार बजिरहेको हुन्छ, ‘दैलेखमा वार्षिक ७३ हजार लिटर तेल संकलन भएको र सरकारले तातोपानीदेखि महेन्द्रनगरसम्म तेलबाट चल्ने रेल विस्थापन गरेर विद्युतीय रेल चलाउने निर्णय गरेको छ ।’


कर्णाली खस संस्कृति संरक्षण मञ्च (कसम) ले तयार पारेको नाटक हो यो । सुर्खेतमा हालै सम्पन्न रारा राष्ट्रिय नाटक महोत्सवमा देखाइएको यो नाटकको यतिबेला पनि चर्चा छ कर्णालीमा । अबको १० वर्षपछि कर्णाली कस्तो होला ? यही प्रश्नमा जवाफमा काल्पनिक उत्तर दिएका हुन् कलाकारहरूले ।


नाटकले यस्तो प्रशंसा पायो कि महोत्सवमै दर्शक दीर्घाबाट दोहोर्‍याएर मञ्चन गर्न आग्रह आयो । प्राविधिक कारणले सम्भव नभएपछि आयोजक राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले भने, ‘काठमाडौंबाट यो नाटक मञ्चनको निम्तो आउने छ, छिट्टै ।’ नाटक निर्देशक रन्नीबहादुर घर्तीका अनुसार ‘सुइना कर्णाली’ मा सपनामा देखेका कुराहरूलाई नाटकमा प्रस्तुत गरिएको छ भने ‘फड्को’मा विसं २०८५ सालसम्मको काल्पनिक समृद्धिको कथालाई प्रस्तुत गरिएको छ । संयोग के भने, यो नाटकमा ‘सुइना कर्णाली’ का चार कलाकारले पनि अभिनय गरेका थिए ।


नाटकमा कर्णालीको मौलिकता झल्काउने गरी पहिलोपटक झोडा देखाइएको निर्देशक घर्तीको दाबी छ । उनका अनुसार विवाहको रमाइलोमा गाइने मौलिक गीत झोडा यो नाटकको सौन्दर्य हो । झोडामार्फत परिवर्तन र मुलुकको समृद्धिको सन्देश दिइएको छ । नाटकका कलाकार एवं कसमका उपाध्यक्ष भानुभक्त उपाध्यायका अनुसार आफूहरूको समूहबाट मञ्चमा देखाइएको यो पहिलो नाटक हो । ‘यसअघि दुई दर्जन सडक र स्टेज नाटक देखाइसकेका छौं,’ उनले भने, ‘नाटक हेरेपछि दर्शक र विज्ञको प्रतिक्रियाले उत्साही भएका छौं ।’ नाटकमा भेषभूषाको व्यवस्थापन गरेका उनले संस्था दर्ता नगर्दै पनि विभिन्न नाटक जिल्लास्तरमा देखाइएको अनुभव सुनाए ।


नाटकका १२ कलाकारले गुरुकुलमा १५ दिनको प्रशिक्षण लिएपछि २०६६ मा कसमको स्थापना गरेका थिए । कसमका कलाकारले यसअघि ‘कर्णाली छाया’, ‘जीवनचक्र’, ‘हरितालिका’ लगायत नाटक र नेपाली सेनाबारेको लघुचलचित्रमा काम गरिसकेका छन् । ‘हामीसँग कर्णालीका कथा नै कथा छन्, घरघरमा दिनदिनै कथाहरू भेटिन्छन् तर हेर्ने दर्शक छैनन्,’ कसमका सचिव दीपेन्द्र उपाध्यायले भने, ‘राज्यले केही लगानी गरिदिए जुम्लामै बसेर नेपाली रंगमञ्चका लागि योगदान गर्ने इच्छा छ ।’ उनले स्टेज, सामग्री, प्रविधि नभएकाले जुम्लाका स्थानीयले आफ्नो कथा आफैं हेर्न नमान्ने गरेको गुनासो गरे । स्वास्थ्यकर्मीसमेत रहेका कलाकार नेत्रबहादुर खत्रीले व्यस्तताका बाबजुत पनि नाटकका लागि संघर्ष गरिरहेको जनाए ।


नाटककी अर्की कलाकार कल्पना बुढाले पहिलो पटक मञ्चमा नाटक खेले पनि दर्शककले दिएको प्रतिक्रियाले उत्साहित भएको बताइन् । ‘बिनापारिश्रमिक, बिनाप्रविधि नाटक देखाइरहेका छौं,’ उनले भनिन्, ‘जुम्लाको संस्कृति र खस भाषा बचाउन नाटकमा संघर्ष गरिरहेका हौं ।’


नाटककै कलाकार लोकेन्द्रप्रसाद उपाध्यायले २०४३ सालदेखि नाटक खेलिरहे पनि पहिलो मञ्चित नाटकले उत्साह थपेको बताए । ‘फड्को’ मा उनीहरूसहित सूर्यमणि हमाल, ताराबहादुर सार्की, मधुशंकर उपाध्याय, ऋषिकेश उपाध्याय, जगदीश उपाध्याय, कमला उपाध्याय, मीना उपाध्याय, मेनका जिसी, ज्योति कामी, सजिता जिसी र रुपकबहादुर बुढाले अभिनय गरेका थिए ।


प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले नाटकले कर्णाली सरकारलाई विकास योजना बनाउन प्रेरणा समेत दिएको बताए । ‘समृद्ध कर्णाली बनाउने प्रदेश सरकारको योजनालाई मूर्त रूप दिन कलाकारले नैतिक दबाब दिनुभएको छ,’ उनले भने, ‘हामी ‘फड्को’ मा देखाइएको कथालाई सार्थकता दिन प्रयत्नशील छौं ।’ उनले त्यसैअनुसार प्रदेश सरकारले नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाए ।

प्रकाशित : चैत्र ५, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?