बाहुबली निर्देशकको “आरआरआर”

काठमाडौँ — तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा मात्रै नभई विश्वभर आफ्नो छाप छोड्न सफल एसएस राजामौली भारतमा अहिलेका सर्वाधिक भरपर्दा निर्देशकमा पर्छन्  । तिनै निर्देशकले भर्खर मात्रै गरेको नयाँ फिल्म ‘आरआरआर’ को निर्माण घोषणाले नै ठूलो चर्चा पाएको छ  ।

बाहुबली निर्देशकको “आरआरआर”

झन्डै दुई वर्ष लगाएर बनाइने बताइएको उक्त फिल्मको कास्टिङ पनि ‘हेभी’ गरेका छन्, राजामौलीले । ठूलो बजेटमा बनाइन लागेको ‘आरआरआर’ का लागि निर्देशकले मुख्य भूमिकामा दक्षिण भारतीय फिल्मका जुनियर एनटीआर र रामचरणलाई लिएका छन् भने बलिउडबाट आलिया भट्ट र अजय देवगण हुने पक्का भएको छ । दुवैका लागि यो फिल्म टलिउडमा डेब्यु हुनेछ । फिल्ममा ब्रिटिस अभिनेत्री डेजी एडगर जोन्स पनि महत्त्वपूर्ण भूमिकामा हुने बताइएको छ ।


‘आरआरआर’ २० औं शताब्दीको सुरुवातका दुई तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कुमराम भीमको जीवनमा आधारित काल्पनिक कहानीमा बन्ने बताइएको छ । जसमा आलियाले सीताको र अजयले उत्तर भारतीय स्वन्त्रता सेनानीको भूमिकामा अभिनय गर्ने भएका छन् । त्यसैगरी रामचरणले अल्लुरी तथा एनटीआरले भीमको भूमिका गर्ने भएका हुन् । यति बेला निर्माण पक्षले फिल्मको नाम ‘आरआरआर’ को बन्न सक्ने उत्कृष्ट विस्तृत रूपको खोजी पनि थालेको छ । ट्वीटरमार्फत भनिएको छ, ‘हाम्रो निर्देशकले फिल्मको नाम भनिसकेका छन्, तपाईंले त्यसको विस्तृत रूप आफ्नो भाषामा लेखेर पठाउनुस् । यदि उक्त नाम आकर्षक लागेमा हामी राख्नेछौं ।’


यसका लागि ‘आरआरआर टाइटल’ ह्यागट्याग गरी पठाउन फिल्म निर्माण पक्षले आग्रह गरेको छ । यति बेला उक्त ह्यासट्याग टीटरमा ट्रेन्डिङमा समेत आइसकेको छ । हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा बन्ने उक्त फिल्म २०२० जुलाई ३० मा रिलिज तय गरिएको छ । ‘यो फिल्म दुई असल नायकका बारेमा आधारित एक काल्पनिक कहानी हो । दुई स्वतन्त्रता सेनानीको जीवनमा धेरै कुराको समानता छ । यसका लागि हामीले अनुसन्धान थालिसकेका छौं,’ निर्देशक राजामौलीले भनेका छन् ।


प्रकाशित : चैत्र ६, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?