२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मझधारमा “कागजपत्र”

सुशील पौडेल

काठमाडौँ — भुइँमान्छेले आकाश छुने ठूला सपना देख्नु हुन्छ वा हुँदैन ? अथवा, आफ्नो गच्छेभन्दा ठूला सपनाको पछि लाग्दा केकस्ता समस्या आइपर्लान् ? फिल्म ‘कागजपत्र’ यस्तै एक परिस्थितिको वर्णन गर्छ, जुन फिल्म यतिबेला देशभरका हलमा लागिरहेको छ । अपिल विष्टले आफ्नै पटकथामा उक्त फिल्मको निर्देशन गरेका हुन् ।

मझधारमा “कागजपत्र”

उमेरले ४० कटिसकेका राजकुमार (भोलाराज) गाउँकै एक हुलाकमा पियनको जागिरे छन् । स्वभावले इमानदार र व्यवहारले सोझा छन् । सामान्य जागीरले नै दुई छोराछोरीलाई पढाएका छन् । घरको गर्जो जेनतेन टारिरहेका छन् । तर उनकी पत्नि देवी (सरिता) जेनतेन धानिएको जीवनसँग सन्तुष्ट छैनन् ।


छिमेकका पक्की घर र साथीसंगी गहनाले धपक्कै बलेर हिंडेको देख्दा उनमा पनि धनी हुने महत्त्वाकांक्षा बढेको छ । पतिलाई विदेश जान बारम्बार दबाब दिन थाल्छिन् । राजकुमार बुढेसकालमा खाडी मुलुकमा गएर मजदुरी गर्न पनि सक्दैनन्, अलि खर्चै गरेर गतिलो मुलुक जाने हैसियतमा पनि छैनन् ।


राजकुमारकी साली बुनु, उमेरले भर्खर २० टेकेकी छन् । नर्सिङमा स्नातक सकेकी बुनु (शिल्पा) उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहन्छिन् । तर अभिभावक उनले लोकसेवा गरेर देशमै सानोतिनो जागिर खाओस् भन्ने पक्षमा छन् । विदेश जान्छु भन्ने छोरीको प्रस्ताव मान्ने पक्षमा छैनन् । बिहे नै गर्न चाहे बुनुलाई अस्ट्रेलिया, अमेरिका लैजान चाहने केटाहरूको लाइन लाग्न सक्छ । तर उ पनि गाउँकै प्रेमी केशव (नाजिर) लाई धोका दिइहाल्ने पक्षमा छैनन् । बरु विदेश पुगेर केशवलाई उपहार पठाइदिने इच्छा छ ।


कन्सल्टेन्सीले बुनुका लागि जुक्ति निकालिदिन्छ, ‘फेक म्यारिज’ गरी डिपेन्डेन्टमा विदेश जाने सहज बाटोको । चिनेकै मान्छे भए नक्कली विवाह गरी विदेश जान अझ विश्वासिलो हुने कन्सल्ट्यान्टले बताएपछि बुनुले दिदी देवीसँग सल्लाह गर्छे । अन्ततः साली भिनाजुबीच कागजी विवाह गरी अस्ट्रेलिया जाने उपाय निकालिन्छ । देवीले पतिलाई दबाब दिएरै मनाउँछिन् भने रकमको जोहोका लागि जग्गा बेचिदिन्छन् ।


तर राजकुमार दम्पत्तिको विदेश बाटो अझै सहज भएको भने छैन । पत्नीसँगको पारपाचुके अनि सालीसँगको विवाहको कागजपत्र मिलाउने झन्झट राजकुमारका लागि फलामको च्युरा चपाएसरह छ । ससुरालीदेखि समाजले सुइकोसम्म थाहा पाए, आत्मसम्मानमा ठूलो चोट पर्ने राजकुमारलाई विदितै छ ।


पछिल्लो समय डिपेन्डेन्टमा विदेश गएर धन कमाउन चाहनेको संख्या बढ्दो छ । कति सफल भएका छन्, कति असफल पनि । ‘कागजपत्र’ यही मझधारबाट अघि बढेको छ । खासगरी निम्न मध्यम वर्गका मान्छेको छिटै धनी बन्ने महत्त्वाकांक्षा, त्यसलाई साकार पार्न अपनाउने असहज बाटो र समाजसँग गर्नुपर्ने ढाकछोपको मनोवैज्ञानिक द्वन्द्वमा केन्द्रित छ, फिल्म ।


लेखक विष्टले द्वन्द्वको उठान फिल्मको सुरुवातमै गरिदिएका छन् । पौने दुई घण्टा लामो फिल्मको पहिलो सबा एक घण्टा भाग तुलनात्मक रूपमा परिपक्व र गतिशील छ । मूलकथाबाट भड्किएको छैन । द्विअर्थी संवादले फिल्मलाई यदाकदा भद्दा बनाए पनि त्यसैमा रमाउन चाहने दर्शकका लागि भने हाँसोको फोहरा छुटाउने सामर्थ्य राख्छ ।


निर्देशक विष्टले हरेक दृश्यलाई रोचक र फिल्मलाई दिलचस्पी बनाउने प्रयास गरेका छन् । फिल्ममा पात्र चयन र अभिनय आकर्षक छ । भोलाराजले द्विविधाग्रस्त राजकुमारको चरित्रलाई पूर्णत चरितार्थ गरेका छन् भने सरिता, नाजिर र शिल्पाले पनि अभिनयमा परिपक्वता देखाएका छन् । व्यवसायीबाट जग्गा दलाल बनेको र प्रेमीको भूमिकामा रहेका नाजिरको काव्यिक शैलीको लवजले चरित्रलाई केही खड्किएको भान पर्छ ।


कन्सल्ट्यान्टको भूमिकामा रहेका जीवन र वकिलको भूमिकामा रहेका लोकेन्द्रको अभिनय केही ‘लाउड’ बनाएर आम दर्शकलाई हसाउने लालसा राखेका छन्, निर्देशकले । यतिसम्म पचाउन सकिन्छ । तर विषयगत गाम्भीर्यले तानेर फिल्म हेर्न आउने दर्शकका लागि गाउँका सुकुलगुन्डाको चरित्रमा रहेका आर्जेश रेग्मीका संवादले भने लज्जा महसुस गराउन पनि सक्छ । छायांकन फिल्मको अर्को सशक्त पक्ष हो । निर्देशकको छायाकारसँगको तालमेल आकर्षक छ भने पृष्ठभूमि संगीत मध्यम छ ।


‘कागजपत्र’ मा मध्यान्तरलगत्तै नयाँ घटना घट्छ । गाउँकै द्रोण र सीताको मृत्यु यसरी आइदिन्छ, फिल्मले आफ्नो मूल बाटो बिराएर सहायक कथामा छिर्छ । सहायक कथाको बैठान गरेर मूलकथामा फर्कंदा ढिलो भइसकेको छ । फिल्म विषयान्तर हुँदा पात्रहरू कमजोर बन्दै जान्छन् । फिल्मको अन्त्यसम्म पुग्दा लेखक विष्ट अन्योलग्रस्त बनेका छन् ।


राजकुमार र देवीको कथाबाट सुरु फिल्म केशव र बुनुको प्रेममा पुगेर टुंगिनुले त्यसको छनक दिन्छ । अपिल विष्टले आफूलाई लेखकका रूपमा भन्दा निर्देशकका रूपमा अब्बल सावित गरेका छन् ।


चलचित्र समीक्षा

निर्देशक : अपिल विष्ट

कलाकार :भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसैन, शिल्पा मास्के, जीवन भट्टराई, लोकेन्द्र लेखक

प्रकाशित : चैत्र ९, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?