कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निम्तो बाँड्दै महादेव

प्रशान्त माली

काठमाडौँ — पशुपतिनाथ परिसर । पहेँलो लुगा लगाएर पञ्चे बाजा बजाउँदै चार जना अग्रपंक्तिमा उभिए । त्यसपछि पशुपतिनाथका मूल भण्डारी, भट्ट, रैरकमी र नाइके उभिए । उनीहरूलाई पछ्याऊँदै चाँदीका दण्ड समाएका दुई व्यक्ति, सुनको मोलम्बायुत्त गजुर र झल्लरपत्ताबाट सज्जित खट बोक्दै डंगोल समुदायका चार जना देखा परे ।

निम्तो बाँड्दै महादेव

यो रोचक दृश्य पाहाँ चह्रे (पिचास चतुदर्शी) को हो । शुक्रबार पशुपतिनाथ परिसरमा देखिएको यो दृश्य सँगै घोडे जात्राको सुरुवात भएको संकेत मिलेको छ ।


नेपाल भाषामा ‘दू दू च्याँय् च्याँय्’ निमन्त्रणा भनिने यो प्रक्रियाभित्र रोचक कथा छ । कथामा उपत्यकाका विभिन्न स्थानमा रहेका अष्टमातृका देवतालाई पर्वको निम्तो दिन महादेव स्वयं सवार भएको मानिन्छ । यहीअनुरुप शुक्रबार पशुतिनाथ मन्दिरको गर्भस्थलको चतुर्मुख शिवलिंगको विधिवत् पूजा गरी त्यसको प्रतिमूर्ति खटमा प्रस्तिस्थापन गरिएको हो ।


टोल सुधार समिति पशुपतिका अध्यक्ष छत्रानन्द वैद्यका अनुसार ‘यो नेवार समुदायले मनाउने बडादसैंपछिको ठूलो चाड हो ।’ उनका अनुसार ‘दू दू च्याँय् च्याँय्’ को अर्थ दूध पिउनेदेखि च्याँय् च्याँय् रुने बालबच्चासमेतलाई पर्वमा उपस्थित गराउनु भन्ने अर्थ दिने निम्तो हो । जात्राका लागि भुवनेश्वरी मन्दिरमा गुठीयारले तान्त्रिक विधिअनुसार चौरासी व्यञ्जन फलफूल रोटी राखेर पशुपतिनाथलाई चढाएका थिए ।


तिलगंगास्थित हरिजन समुदायले मसानघाटमा दाह संस्कार गर्न लास बोकी ल्याएको हरियो बाँसबाट बुनिएका भाँडाकुँडा करस्वरुप पशुपतिनाथलाई चढाउने परम्परा पनि छ । भुवनेश्वरी मन्दिरका पुजारी रवि कर्माचार्यका अनुसार ‘नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमा देवी, लुकुमहाद्यः (लुकिरहेका महादेव) लाई पूजा गरेर यो (पाहाँ चह्रे) मनाइन्छ ।’ उनका अनुसार ‘पाहाँ’ अर्थात्पाहुना र ‘चह्रे’ अर्थात् पर्व हो । ‘यस दिन छोरीज्वाइँ, आफन्त, साथीभाइलाई निमन्त्रणा गरेर भोज खुवाउने चलन छ,’ उनले भने ।


शुक्रबार निकालिएको यात्रा पशुपतिनाथ मन्दिरबाट सुरु भई भुवनेश्वरी, जयबागेश्वरी, सिफल नक्साल हुँदै जमल, इन्द्रचोक, हनुमानढोका, जैसीदेवल, टेकु पचली र लगन डबलीमा पुगी त्यहाँबाट पुनः पशुपति पुगेर टुंगिएको थियो ।

मंगलबार देशोद्वार पूजा (देशको रक्षाको कामनास्वरुप गरिने पूजा) गरेपछि बुधबार बज्रेश्वरी मन्दिरमा कन्यापूजा हुन्छ । चतुदर्शीका दिन बिहीबारचाहिँ पशुपतिनाथका मूल पुजारीद्वारा मन्दिरमा दानसहितको पूजा र बज्रेश्वरीको रथ यात्रा गर्ने परम्परा छ ।


सोही दिन अमालकोट कचहरी (पुरानो अड्डा) स्थित तलेजु भवानीमा पूजा र आकाश भैरव, महादेव, वत्सलेश्वरीको प्रतिमूर्ति खटमा विराजमान गराई जात्रा गरिन्छ ।

प्रकाशित : चैत्र १६, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?