कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘रहरबिनै कलाकार’

पर्वत पोर्तेल

सिलगुडी — तीन दिने दार्जिलिङ लिटरेचर फेस्टिभलको मैजारोका दिन मेची तरेर आइपुगे नायक दयाहाड राई । सिलिगुडीको वसुन्धरामा दयाहाङले करिब एक घण्टा दार्जिलिङे स्रष्टा सर्जकमाझ आफ्ना दुःख–सुख बिसाए । पत्रकार दीपक सापकोटाले संगीत स्रोताको कविता ‘दयाहाङलाई दुवैतिर खतरा’ बाट गफको पन्तुरो खोले ।

‘रहरबिनै कलाकार’

दयाले गाउँ (भोजपुर) देखि सहर (काठमाडौं) सम्मका अनुभूति साटे । ‘मलाई सानामा ठूलो मान्छे बन्ने हुटहुटी थियो’, उनले भने, ‘तर ठूलो मान्छे बन्ने तरिका थाहा थिएन ।’ यिनलाई थुप्रै कुराको लोभ रहेछ । तर, ठ्याक्कै यही बन्छु भन्ने थिएन । ‘कलाकार बन्न म कुनै हालतमा फिट थिइनँ,’ दयाले थपे, ‘तर, समयले रहर नगरेकै क्षेत्रमा धकेलिदियो ।’


गाउँमा खेती किसानी, मेलापात गर्नुपर्छ भनेर सहर पसेका दया अन्ततः कलाकार बने । पहिलो उनी कविता, गीत लेख्थे । यिनले लेखेको गीतको एल्बम पनि सार्वजनिक भएको छ । गीत र कविताबाट यिनी मनका व्यथा पोख्थे । पछि नाटकमा छिरे । नाटकबाट पनि भन्न नसकेका कुरा नै ज्यादा व्यक्त गरे । ‘लुट’ बाट फिल्मी करियर सुरु गरेका यिनले अहिलेसम्म दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन् । यिनी देशकै महँगा र व्यस्त नायकको सूचीमा अग्रपंक्तिमै पर्छन् । तर, फिल्म खेल्न थालेपछि आफू अलि बढी व्यावसायिक बन्नुपरेको स्विकारे । थपे, ‘तर, फिल्म खेलेर नाटक बचाइराखेको छु ।’


‘नाटकका कलाकारका कारण नेपाली फिल्म ध्वस्त बन्दै गएको आरोप छ नि ?’ प्रस्तोता सापकोटाले सोधे । जवाफ दयाले दिए, ‘फिल्म डाइरेक्टरको नभएर एक्टर्सको भइदियो, एक्टरहरू हाबी हुन् थाले अनि कसरी नहोस् ध्वस्त ?’ सांग्रिला भारतको आयोजनामा सञ्चालित तीन दिने फेस्टिभलमा भाषा, साहित्य, संस्कृति, शिक्षा, फिल्म, पर्यटन, दर्शनबारे छलफल भयो । चित्रकला, फोटो प्रदर्शनी पनि फेस्टिभलका आकर्षण थिए । भारतसहित भुटान, बंगलादेश र नेपालका लेखकहरू कार्यक्रममा सहभागी बनेका थिए । सांग्रीला भारतका प्रमुख एवं कवि राजा पुनियानीले फेस्टिभललाई बर्सेनि निरन्तरता दिइने बताए ।

प्रकाशित : चैत्र १८, २०७५ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?