पाहाँ चःह्रे जात्रा, ठड्याइयो लिंगो

प्रशान्त माली

काठमाडौँ — विष्णुमती किनारको कंकेश्वरी मन्दिरमा बिहीबार यात्खा टोलका महर्जन समुदायको बाक्लो भीड थियो  । नागराजाका प्रतीक मानिने ३२ हात लामो लिंगो ठड्याउन विष्णुमतीमा भीड लागेको हो  ।

पाहाँ चःह्रे जात्रा, ठड्याइयो लिंगो

लिंगोमा अष्टमातृका देवी चित्र कुँदिएको ऐतिहासिक कपडा हलः पताः राखिएको थियो । रातो टोपी लगाएका महर्जन समुदायका गुठीयाररू कंग अजिमा (कंकेश्वरी) खलःका हुन् । पाहाँ चःह्रे जात्राको अवसरमा कंकेश्वरी मन्दिरसँगै राजधानीको इन्द्रचोक र भद्रकालीमा पनि लिंगो ठड्याएर उत्सव मनाए । गुठीयारले कंकेश्वरी मूर्ति काठमाडौं महानगरपालिका २४ द्यः छेँ (देवताघर) बाट खटमा राखेर बाजागाजासहित विष्णुमती किनारको मन्दिरमा पुर्‍याएका हुन् ।


जात्रासम्बन्धी जानकार अर्बिन सिंह भन्छन्, ‘विष्णुमती किनारमा मसानघाट छ । जुन भैरवका प्रतीक हुन् । कंकेश्वरीको मूर्ति विष्णुमती पुर्‍याउनुको मूल उद्देश्य भैरवसँग मिलान गराउनु पनि हो ।’ भैरवसँग मिलाएपछि देवीमा शक्ति नवीकरण हुने विश्वास छ । ‘देश र जनताको रक्षाको भूमिका खेल्ने खुसियालीमा जात्रा मनाउने गरिएको हो,’ उनले भने । चःह्रेमा लुकमाःद्यः (लुकेको महादेव) को पूजा पनि गरिन्छ ।
नेवार समुदायले लुकमाःद्यलाई क्षेत्रपाल भैरवको रूपमा पुज्छन् । क्षेत्रपालले घर तथा घर वरिपरिका क्षेत्र रक्षा गर्ने जनविश्वासका कारण घर बनाउँदा मूलढोकाअघि स्थापना गर्ने परम्परा छ । सिंह भन्छन्, ‘भैरव स्थापना गर्नु भनेको पानीको निकास बनाउनु र सफासुग्घर राख्ने सन्देश पनि हो ।’


गर्मीयाम सुरु हुने समय भएकाले यति बेला बालबालिकामा विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । सिंहका भन्छन्, ‘पुर्खाहरूले यस्ता रोगबाट बच्न सरसफाइमा ध्यान दिन लुकमाःद्यः पूजा गर्ने परम्परा बसालेका हुन् ।’ जात्राको अवसरमा स्थानीय क्लबको अगुवाइमा टोलबासीले हनुमान ढोकादेखि कंकेश्वरीसम्मका अधिकांश ढल ढकनी खोलेर सफा गरेका थिए । भीमसेन मन्दिर अगाडि भने मूर्ति स्थापना गरी धुमधाम पूजा गरियो । चःह्रेको भोलिपल्ट घोडाजात्रा पर्व मनाउने चलन छ । नेपाली सैनिक मञ्च अगाडि घोडादौड प्रतियोगिता गरिन्छ । यस दिन केटाकेटीलाई सुंगुरको मासु मिसाई तान्त्रिक विधिपूर्वक पकाइएको भात (मरजाः) खुवाउने चलन छ । उपत्यकामा बिफर रोगले धेरै बालबालिकाको मृत्यु हुने भएकाले मरजाः खुवाइने गरिएको हो । ‘सुंगुरको मासुमा मिसाइएको भातले खोपको काम गर्ने मान्यता छ,’ उनले भने । घोडेजात्राको भोलिपल्ट असन चोकमा खट जुटाउने गरिन्छ । यो जात्रालाई नेपाल भाषामा असःनय द्येःल्वाकेगु भनिन्छ । यस दिन भद्रकाली र कंकेश्वरीको खट जुटाई जात्रा गरिन्छ । दिदी भद्रकाली र बहिनी कंकेश्वरीको मिलनको खुसियालीमा असन टोलबासीले हर्षोल्लास साथ घरको झ्याल र कौशी चारैतिरबाट चतामरी बर्साउने गरिन्छ ।


कंग अजिमा खलः मूल समिति सचिव हेराकाजी महर्जनका अनुसार त्यसै दिन पशुपति गौशालामा बसलामाजु र अन्य अजिमा देवीको जात्रा गरिन्छ । जात्रामा श्वेतकाली, (नेतमरु अजिमा), टंकेश्वरी (तख्ती अजिमा), कंकेश्वरी (कंग अजिमा), भद्रकाली (लुमरी अजिमा), मैतीदेवी (मैती अजिमा), उग्रतारा (न्हयायकंतला अजिमा), लुचुभुलु अजिमा र बटला अजिमाको मूर्तिसहित जात्रा गर्दै नगरपरिक्रमा गरिन्छ ।

प्रकाशित : चैत्र २२, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?