सर्ट फिल्ममा युवा

प्रमिता ढकाल

भरतपुर — बीएससी नर्सिङकी विद्यार्थी रोजीका लागि अभिनय रुचिको विषय हो । उनी अभिनय मात्र गर्दिनन्, आफैं स्क्रिप्ट लेख्छिन् र निर्देशन पनि गर्छिन् । आफूले लेखेको कथामा आफ्ना साथी, परिवार सदस्य बटुलेर उनीहरूलाई नै निर्देशन गरी भिडियो बनाउँछिन् । तर उनी व्यावसायिक फिल्म निर्देशक भने होइनन् ।

चितवनमा आयोजित सर्ट फिल्मको आधारभूत कार्यशालाका सहभागी । तस्बिर : प्रमिता/कान्तिपुर

फिल्म खेल्ने, कथा लेख्ने, निर्देशन गर्ने उनको सोखलाई युट्युबले मद्दत गरिदिएको छ । आफूले बनाएका भिडियोहरू आफ्नै युट्युब च्यानलमा अपलोड पनि गर्छिन् । उनले अधिकांश भिडियो हास्यविधालाई केन्द्रित भई तयार पार्ने गर्छिन् ।

गैंडाकोटका पुष्कर अधिकारी पनि बेलाबखत सर्ट फिल्म बनाउने गर्छन् । पेसाले सञ्चारकर्मी उनलाई कथा लेखन, अभिनय तथा निर्देशनमा सोख छ । उनले आफ्ना साथीहरूसँग मिलेर समसामयिक विषय उठान गर्दै बनाएका सर्ट फिल्महरू युट्युबमा राख्दै आएछन् । रोजी र पुष्कर दुवैले फिल्म निर्माणको कुनै औपचारिक शिक्षा भने लिएका छैनन् । उनीहरूले युट्युबमा राखिएका ट्युटोरियल भिडियोबाट नै क्यामेरा चलाउन, सम्पादन गर्न सिकेको बताए ।

गत साता यहाँ रोजी र पुष्करले निर्देशन गरेका सर्ट फिल्महरूको प्रदर्शनी नै गरियो । रोजीले महिला स्वतन्त्रताको विषय उठान गरेर सर्ट फिल्म ‘विवशता’ बनाएकी हुन् भने पुष्करले ‘दौड’ बनाएर फुटपाथ व्यवसायीका दुःखका कुरा उठाएका छन् । चार दिन लगाएर ६ मिनेट लामो सर्ट फिल्म बनाएकी रोजी र पुष्करले यस पटक भने युट्युबमा हेरेर फिल्म बनाएका थिएनन् ।

विकल्प एन्ड अल्टरनेटिभले आयोजना गरेको कार्यशालामा उनीहरूले फिल्म निर्माण सिकेका हुन् । जहाँ उनीहरूले फोटोग्राफी, सिनेम्याटोग्राफी, निर्देशन, विषयवस्तु उठान र कथामा ढाल्ने शैलीका बारेमा प्रशिक्षण लिएर सर्ट फिल्मको आधारभूत प्रशिक्षण लिएका थिए ।

‘यसपालि मैले बनाउँदै आएको भन्दा निकै भिन्न विषयवस्तुमा आधारित रहेर फिल्म बनाउन सिकें,’ रोजीले खुसी हुँदै कान्तिपुरसँग भनिन्, ‘मैले पनि यस्ता विषयवस्तु उठान गर्न सक्छु भन्ने लागेको थिएन । तर यस्ता विषय हामीले नउठाए कसले उठाउँछन् त ? तालिमपछि अब भने आँट आएको छ ।’

५ दिन आधारभूत विषय सिकाइएपछि बाँकी १० दिन फिल्म बनाउने काममा खटिएका रोजी र पुष्करसहित २० सहभागीले चारवटा सर्ट फिल्म तयार गरेका थिए । सहभागीका फिल्ममा सामाजिक, आर्थिक परिवेश, व्यक्तिगत स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र भ्रष्टाचारको मुद्दा उठाइएका थिए ।

पुष्करले यसअघि पनि सामाजिक विषयमा आधारित रहेर थुप्रै सर्ट फिल्म बनाइसकेका छन् । ‘तर क्यामेराको सही प्रयोग, एंगलको छनोट, छायांकन तथा सीमित समयमा पूर्ण जानकारी दिन अपनाउनुपर्ने शैलीबारे पहिले अनभिज्ञ थिएँ,’ पुष्करले भने, ‘फिल्म बनाउँदा मिहिनेतसँगै प्राविधिक रूपमा दिमाग लगाउन सक्नुपर्ने रहेछ ।’ यसअघि सोख पूरा गर्न रमाइलोका लागि सर्ट फिल्म बनाउने गरेका पुष्करले अब सामाजिक चेतनाका लागि बनाउने निधोसमेत गरेका छन् ।

सामाजिक सचेतनाको क्षेक्रमा सत्रिय विकल्प एन्ड अर्ल्टनेटिभले सन् २०१५ देखि नै सर्ट फिल्म बनाएर सामाजिक सञ्जालमा राख्न सुरु गरेको हो । आर्थिक, सामाजिक विषयमा सर्ट फिल्म बनाएर सरोकारवालालाई घचघच्याउन सर्ट फिल्म प्रभावकारी हुने देखिएपछि यसतर्फ अघि बढेको संस्थाका निर्देशक वसन्त अधिकारीले बताए ।

‘सामाजिक विषयकामुद्दा उठान गरी सामाजिक सञ्जालमार्फत फैलाउँदा छिटो र प्रभावकारी नतिजा पाउने देखिएको छ,’ अधिकारीले भने । संस्थाका भिज्युअल मिडिया अफिसर पुनम गिरीका अनुसार वर्तमान समयमा समाजमा तत्काल प्रतिक्रिया पाउन मल्टिमिडियाको उपयोग प्रभावकारी देखिएको छ । सहभागीहरूले निर्माण गरेको सर्ट फिल्मलाई एक महिनाभित्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने गिरीले बताए ।

प्रकाशित : चैत्र २५, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

थरीथरी संस्कृति एउटै चाल

हरि गौतम

रुकुम पश्चिम — एकै खालका कार्यक्रम भइरहने मुसीकोटस्थित बराहटाकुरा टुँडिखेल आइतबार भने फरक देखियो । स्थानीयवासी आ–आफ्ना मौलिक पोसाकमा थिए नै, प्रस्तुति पनि मौलिक थियो ।

रुकुम पश्चिमको सदरमुकाम खलंगामा आयोजित सांस्कृतिक सम्मेलनको उद्घाटनका क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, गायक जीवन शर्मालगायत । तस्बिर : हरि/कान्तिपुर 

जिल्लापिच्छेका आआफ्नो मौलिक संस्कृति र परम्परा झल्कने झाँकीसहित बराहटाकुरा भरिएको थियो । एक ठाउँकाले अर्को ठाउँको संस्कृतिबारे बुझ्ने र बुझाउने मौका पाए ।

प्रस्तुति दिन आएका त मौलिकतामा थिए नै, निम्त्याइएका अतिथि पनि भिन्न शैलीमा देखिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, नेता मणि थापा, जनवादी गायक जीवन शर्मालाई पनि जिल्लावासीले स्थानीय वेशभूषा स्टकोट, कमिज, टोपीको साथमा छर्रा धरो हाल्न लगाए ।

जिल्ला समन्वय समितिले यस्तो मौका जुराइदिएको हो । बृहत् सांस्कृतिक सम्मेलन नाम दिइएको कार्यक्रममा कर्णालीका साथै ५ नम्बर प्रदेशका जिल्लाको पनि सहभागिता रह्यो । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका विभिन्न विधा तथा कर्णालीका केही जिल्ला तथा ५ नम्वर प्रदेशको रुकुम पूर्वको एक/एक विधाका मौलिक संस्कृति झल्कने प्रस्तुतिसहित बराहटाकुरामा बृहत् सांस्कृतिक सम्मेलन सुरु भएको हो ।

‘जिल्लाभित्र रहेका सबै मौलिक कला, संस्कृतिको प्रवर्द्धन, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यसहित यो सम्मेलन आयोजना गरिएको हो,’ जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले भने, ‘कर्णाली प्रदेशभरका सांस्कृतिक कुराको आदानप्रदान तथा एक–अर्कालाई चिन्ने चिनाउने अपेक्षा पनि राखिएको छ ।’ पौराणिक र मौलिक लोककला तथा संस्कृतिको उजागर गर्ने र त्यसको प्रचारप्रसार गरी पर्यटनको विकास गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको शर्माले बताए ।

‘कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र प्रचार, समृद्धि र समाजवादको आधार’ नारासहित आयोजना गरिएको सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनमा जिल्लाका ६ वटै स्थानीय तहले कला, संस्कृतिको एक/एक विधा प्रदर्शन गर्नेछन् । त्यस्तै अन्य जिल्लाबाट आएका कलाकारले आफ्नो जिल्लाको मौलिक संस्कृति समेटिएको प्रस्तुति दिनेछन् । जिल्ला भित्रका सिंगारु, पैसेरु, मयूर, पञ्चेबाजा, पापिनी नाच, ठाडी भाका, भूम्या, लगायतका गीत तथा नाच प्रदर्शन गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले परिवर्तनका लागि सांस्कृतिक सम्मेलन महत्त्वपूर्ण साबित हुने बताए । ‘विकास भनेको संरचनामा मात्रै हुँदैन, होइन पनि,’ मुख्यमन्त्री शाहीले भने, ‘मान्छेको सोचमा, धारणामा, संस्कृति र संस्कारमा विकास हुनु पनि परिवर्तन हो ।’ प्रदेशका सबै मौलिक परम्परा र संस्कृति आदाप्रदानका लागि सांस्कृतिक सम्मेलन कोसेढुंगा साबित हुने उनले बताए ।

प्रकाशित : चैत्र २५, २०७५ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्