कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सर्ट फिल्ममा युवा

प्रमिता ढकाल

भरतपुर — बीएससी नर्सिङकी विद्यार्थी रोजीका लागि अभिनय रुचिको विषय हो । उनी अभिनय मात्र गर्दिनन्, आफैं स्क्रिप्ट लेख्छिन् र निर्देशन पनि गर्छिन् । आफूले लेखेको कथामा आफ्ना साथी, परिवार सदस्य बटुलेर उनीहरूलाई नै निर्देशन गरी भिडियो बनाउँछिन् । तर उनी व्यावसायिक फिल्म निर्देशक भने होइनन् ।

सर्ट फिल्ममा युवा

फिल्म खेल्ने, कथा लेख्ने, निर्देशन गर्ने उनको सोखलाई युट्युबले मद्दत गरिदिएको छ । आफूले बनाएका भिडियोहरू आफ्नै युट्युब च्यानलमा अपलोड पनि गर्छिन् । उनले अधिकांश भिडियो हास्यविधालाई केन्द्रित भई तयार पार्ने गर्छिन् ।


गैंडाकोटका पुष्कर अधिकारी पनि बेलाबखत सर्ट फिल्म बनाउने गर्छन् । पेसाले सञ्चारकर्मी उनलाई कथा लेखन, अभिनय तथा निर्देशनमा सोख छ । उनले आफ्ना साथीहरूसँग मिलेर समसामयिक विषय उठान गर्दै बनाएका सर्ट फिल्महरू युट्युबमा राख्दै आएछन् । रोजी र पुष्कर दुवैले फिल्म निर्माणको कुनै औपचारिक शिक्षा भने लिएका छैनन् । उनीहरूले युट्युबमा राखिएका ट्युटोरियल भिडियोबाट नै क्यामेरा चलाउन, सम्पादन गर्न सिकेको बताए ।


गत साता यहाँ रोजी र पुष्करले निर्देशन गरेका सर्ट फिल्महरूको प्रदर्शनी नै गरियो । रोजीले महिला स्वतन्त्रताको विषय उठान गरेर सर्ट फिल्म ‘विवशता’ बनाएकी हुन् भने पुष्करले ‘दौड’ बनाएर फुटपाथ व्यवसायीका दुःखका कुरा उठाएका छन् । चार दिन लगाएर ६ मिनेट लामो सर्ट फिल्म बनाएकी रोजी र पुष्करले यस पटक भने युट्युबमा हेरेर फिल्म बनाएका थिएनन् ।


विकल्प एन्ड अल्टरनेटिभले आयोजना गरेको कार्यशालामा उनीहरूले फिल्म निर्माण सिकेका हुन् । जहाँ उनीहरूले फोटोग्राफी, सिनेम्याटोग्राफी, निर्देशन, विषयवस्तु उठान र कथामा ढाल्ने शैलीका बारेमा प्रशिक्षण लिएर सर्ट फिल्मको आधारभूत प्रशिक्षण लिएका थिए ।


‘यसपालि मैले बनाउँदै आएको भन्दा निकै भिन्न विषयवस्तुमा आधारित रहेर फिल्म बनाउन सिकें,’ रोजीले खुसी हुँदै कान्तिपुरसँग भनिन्, ‘मैले पनि यस्ता विषयवस्तु उठान गर्न सक्छु भन्ने लागेको थिएन । तर यस्ता विषय हामीले नउठाए कसले उठाउँछन् त ? तालिमपछि अब भने आँट आएको छ ।’


५ दिन आधारभूत विषय सिकाइएपछि बाँकी १० दिन फिल्म बनाउने काममा खटिएका रोजी र पुष्करसहित २० सहभागीले चारवटा सर्ट फिल्म तयार गरेका थिए । सहभागीका फिल्ममा सामाजिक, आर्थिक परिवेश, व्यक्तिगत स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र भ्रष्टाचारको मुद्दा उठाइएका थिए ।


पुष्करले यसअघि पनि सामाजिक विषयमा आधारित रहेर थुप्रै सर्ट फिल्म बनाइसकेका छन् । ‘तर क्यामेराको सही प्रयोग, एंगलको छनोट, छायांकन तथा सीमित समयमा पूर्ण जानकारी दिन अपनाउनुपर्ने शैलीबारे पहिले अनभिज्ञ थिएँ,’ पुष्करले भने, ‘फिल्म बनाउँदा मिहिनेतसँगै प्राविधिक रूपमा दिमाग लगाउन सक्नुपर्ने रहेछ ।’ यसअघि सोख पूरा गर्न रमाइलोका लागि सर्ट फिल्म बनाउने गरेका पुष्करले अब सामाजिक चेतनाका लागि बनाउने निधोसमेत गरेका छन् ।


सामाजिक सचेतनाको क्षेक्रमा सत्रिय विकल्प एन्ड अर्ल्टनेटिभले सन् २०१५ देखि नै सर्ट फिल्म बनाएर सामाजिक सञ्जालमा राख्न सुरु गरेको हो । आर्थिक, सामाजिक विषयमा सर्ट फिल्म बनाएर सरोकारवालालाई घचघच्याउन सर्ट फिल्म प्रभावकारी हुने देखिएपछि यसतर्फ अघि बढेको संस्थाका निर्देशक वसन्त अधिकारीले बताए ।


‘सामाजिक विषयका मुद्दा उठान गरी सामाजिक सञ्जालमार्फत फैलाउँदा छिटो र प्रभावकारी नतिजा पाउने देखिएको छ,’ अधिकारीले भने । संस्थाका भिज्युअल मिडिया अफिसर पुनम गिरीका अनुसार वर्तमान समयमा समाजमा तत्काल प्रतिक्रिया पाउन मल्टिमिडियाको उपयोग प्रभावकारी देखिएको छ । सहभागीहरूले निर्माण गरेको सर्ट फिल्मलाई एक महिनाभित्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने गिरीले बताए ।

प्रकाशित : चैत्र २५, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?