२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बिस्कालाई 'होस्टे हैंसे...'

लीला श्रेष्ठ

भक्तपुर — सयौं दर्शनार्थी । युवा जोसिलो स्वरमा भन्दै छन्, ‘होस्टे हैंसे हाहा...।’ भीडबीच विश्वनाथ भैरवको रथ कुदिरहेको छ । सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्केट (बिस्का) जात्रा जोगाउन युवाहरू यसरी अग्रसर भएका हुन् ।

बिस्कालाई 'होस्टे हैंसे...'

बुधबार भक्तपुरको दृश्य हेर्दै गरेका तौमढी युथ क्लबका निवर्तमान अध्यक्ष विजय धौभडेल किन खुसी थिए भने, हरेक वर्ष रथ तान्ने युवाहरूको सहसभागिता बढ्दो छ ।

बुधबारैदेखि भक्तपुरमा बिस्केट भैरवनाथको रथ तान्न सुरु भएको छ । यो क्रम अब आठ रात नौ दिन धुमधाम चल्नेछ । बिहानै भैरवनाथको नित्यपूजापछि सुरु जात्राको पहिलो दिन काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतल्ले रथमा भैरवनाथको मूल देवता र बेताल देवता राखिएको छ । खड्ग, तरबार, निसान राखिसकेपछि साँझ रथ तान्न सुरु भएको हो । यो रथ तौमढीस्थित पाँचतले मन्दिर परिसरबाट थने (माथिल्लो) बाट क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ ।

पहिलो दिन तौमढीबाट तान्न सुरु रथ क्वाछें, सुकुलढोका, गोल्मढी हुँदै दत्तात्रय पुर्‍याएर पुनः तौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याइने प्रचलन छ । रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ ‘होस्टे हैंसे...हाहा’ गर्दै आआफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । तानातान गर्दै हजारौं स्थानीयले आआफ्नो टोलमा लैजान खोज्छन् । धौभडेलका अनुसार यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । ‘रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो,’ उनले भने, ‘बिस्केट जात्राको पहिलो दिन पृथ्वीमा देउता आगमन हुने विश्वास गरिन्छ ।’

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रूपमा लाकुलाछेंबासीलाई बाँडिन्छ । बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्हः (हात नभएको) लिंगो उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिर्पूवक दशकर्म गरी ५५ हात लामो लिंगो भेलुखेलस्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिंगो उभ्याउने गरिएको धौभडेलले बताए । भैरवनाथको प्रतीक मानिने लिंगोको शीर्ष भाग र हातहरू भने नीलो कपडाले बेरिएको हुन्छ ।

उनका अनुसार लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा सम्वत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । ‘लिंगो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ,’ उनले भने, ‘बिस्केट जात्रा हेर्नाले शत्रुनाश हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसकारण यो शत्रुहन्ता जात्रा पनि हो ।’ बिस्केटको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते लिंगो ढालिन्छ ।

त्यसको लगत्तै खंला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधिविधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

उनका अनुसार नेपाल सम्वत् ५०० को अमरकोषमा ‘विश्वकेतु’ शब्दको पर्याय ‘विसिक’ दिइएको छ । हालसम्मको अन्वेषणमा ‘विश्वजात्रा’ को पहिलो उल्लेख टौमढी टोलमा रहेको यक्ष मल्लको अभिलेख (नेपाल सम्वत् ५६१)मा भेटिएको छ । नेपाल सम्वत् ६४१ को भूमिसम्बन्धी एउटा तमसुक (ताडपत्रमा ‘विसकजात्रा’ को नाम पनि उल्लेख छ । श्रेष्ठका अनुसार भक्तपुर राजदरबारको नेपाल सम्वत् ८०८ र ८१८ को जितामित्र मल्ल र भूपतीन्द्र मल्लका अभिलेखहरूमा भने ‘विस्क्यात’ उल्लेख छन् । नेवारहरू भने अहिले पनि यो जात्रालाई ‘विस्का’ भन्छन् ।

टाउको दुखाइ

पछिल्लो समय बिस्केट जाक्रामा रथ तानातान गर्ने त्रममा झडप हुने र जनधनको क्षति हुने भन्दै जिल्ला प्रशासन, सुरक्षा निकाय लगायतको चासोको विषय बन्ने गरेको छ । यसअघि भैरवको रथ तान्ने क्रममा माथिल्लो र तल्लो टोलबीच ढुंगा हानाहान नै भएको थियो । साँझको समयमा सुरु हुने भएकाले रातिसम्म रथ तानातान गरिन्छ ।

रातको समयमा मादक पदार्थ सेवन गर्नेको जमात उत्तिकै हुँदा झैझगडाले अवस्था पैदा भएको हो । जात्रा मर्यादित बनाउन भक्तपुर नगरप्रमुख सुनील प्रजापतीको संयोजकत्वमा सुरक्षा निकाय र जाक्रासँग सम्बन्धित व्यत्तिहरूको ११ सदस्यीय कार्यदल नै गठन गरिएको छ । महिना दिनअघि नै बिस्केट जात्रा हुने टोलटोलमा सिसी क्यामेरा जडान गरिएको छ ।

त्यसैगरी, बिस्केट जात्राकै अवसरमा मध्यपुरथिमिको लायु, बालकुमारी, चपाचो, नगदेश, बोडेमा वैशाख २ गते मनाइने ३२ खटसहितको अबिर जात्रा मनाइने गरिन्छ । मध्यपुरथिमि बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मान्ने प्रचलन छ । जिल्लाको चारवटै नगरको विभिन्न स्थानमा खट जात्रा मनाइने गरिन्छ ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?