कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१४ वर्षीया स्टार गायिका भन्छिन्, 'गीतको पारिश्रमिक एक तोलाको सिक्री दिन्छु भन्नुहुन्थ्यो, दिनुभएको छैन'

विपिन श्रीस

काठमाडौँ — तेह्र वर्षको उमेरमा चलचित्र नाइँ नभन्नु ल पाँचको 'बालापनको उमेर' गीत गाएर भाइरल भएकी समीक्षा अधिकारीको चर्चा फेरि चुलिएको छ । उनले गाएको 'ब्युटी ब्युटी' बोलको गीत युट्युबमा यतिखेर ट्रेन्डिङमा परेपछि लोकप्रियता थपिएको हो । सगोत्री आचार्यको शब्द र टंक बुढाथोकीको संगीतमा रहेको उक्त गीत समीक्षाले सर्विन बोगटीसँग गायकी मात्रै छैनन्, भिडियोमा कम्मर मर्काउँदै नाचेकी पनि छन् । 

१४ वर्षीया स्टार गायिका भन्छिन्, 'गीतको पारिश्रमिक एक तोलाको सिक्री दिन्छु भन्नुहुन्थ्यो, दिनुभएको छैन'

बुधबार साँझ रिलिज भएको एकै घण्टामा ५० हजार म्युअर्स पाएको उक्त भिडियोका पारखी युट्युबमा बढेका बढ्यै छन् । अहिले शुक्रबार दिउँसोसम्ममा यसका भ्युअर्स ४ लाख ११ हजार नाघिसकेका छन् भने देशविदेशमा बस्ने सयौंले समीक्षाको गायकीको तारिफ गरेका छन् ।


यो चटपटे स्वादको गीत गाउने उपयुक्त स्वरको खोजी गर्दा समीक्षा फेला परेको र उनले गाएपछि त्यसको वाहवाही पनि ज्यादै मिलेको देख्दा गीतकार मख्खै छन् । 'टंक बुढाथोकीले संगीत गर्नुभएको गीतको लागि उपयुक्त गायिकाको खोजी गरिरहेका थियौं' आचार्यले भने, 'समीक्षा त्यसका लागि योग्य ठहरिइन् ।'


युट्युबमा अजोय थापाले गीतको सफलताको शुभकामना दिँदै 'सबैसँग मिलेर जानु कसैको मन नदुखाउनु' भनी सुझाव दिएका छन् । पद्म रानाले समीक्षाको स्वरलाई जादुमयी भन्दै तारिफ गरेका छन् । समीक्षाले गाएको यो तेस्रो गीत हो । यसअघि बालापनको उमेरसँगै बसन्त सापकोटोको संगीतमा रहेको 'बनमा काफल' बोलको गीत गाएकी थिइन् । बालापनको उमेर ८५ लाख ७९ हजारले हेरेका छन् भने वनमा काफल १६ लाख १७ हजारले हेरेका छन् ।


छक्का पञ्जा तीनको सुटिङका क्रममा पोखरामा भएको कार्यक्रममा समीक्षाको स्वर सुनेर पुरुषोत्तम प्रधान र सुदीप कुँवरले संगीतकार बसन्त सापकोटासँग भेटाइदिएका थिए । समीक्षाको स्वर मन पराएर चलचित्र निर्देशक विकास आचार्यले 'नाइ नभन्नु ल पाँच'को बालापनको उमेर बोलको गीत गाउन दिएका थिए ।


समीक्षाको कथा आफ्नै शैलीमा


म महेन्द्र माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययन गर्थे । त्यतिबेला छक्का पञ्जा तीनको कार्यक्रममा मैले गीत गाउने अवसर पाएँ । मैले त्यतिबेला नाइँ नभन्नु ल दुईको 'यी आँखामा तिमी छौ ...' बोलको गीत गाएकी थिएँ । मैले गाएको पुरुषोत्तम प्रधान र सुदीप कुँवरलाई मन परेछ । त्यसपछि उहाँहरुले मलाई संगीतकार बसन्त सापकोटा र चलचित्र निर्देशक विकास आयार्यसँग भेटाइदिनु भयो । विकास आचार्यलाई पनि मेरो स्वर मन परेछ । मलाई नाइँ नभन्नु ल पाँचको बालापनको उमेर गीत गाउन दिनुभयो । बालापनको गीतको पारिश्रमिक १० हजार रुपैयाँ पाएकी थिएँ ।


बालापनको उमेर गीत भाइरल भएपछि संगीतकार बसन्त सापकोटाले आफूले संगीत गरेका गीतमात्र गाउन भन्नुभयो । गीत भाइरल हुनुअघि उहाँले वास्ता गर्नुहुन्थेन । बसन्त सापकोटाको संगीतमा रहेको अर्को गीत वनको काफल गाएँ । म अरु कलाकारसँग पनि काम गर्न चाहन्थें । तर, उहाँले आफूलाई मन परेको गीतमात्र गाउनुपर्छ भन्नुहुन्थ्यो । बालापनको उमेरपछि पनि उहाँको संगीतमा झण्डै १० वटा गीत रेकर्ड गरेँ । त्यो गीत गाएको पारिश्रमिक पनि दिनुभएको छैन । एक तोलाको सिक्री दिन्छु भन्नुहुन्थ्यो । बरु ती गीतबाट मेरो भोकल आउट गर्नुभएको छ रे । सायद मैले अरु कलाकारसँग काम गरेको भएर हो कि ?


अहिले म आफूलाई स्वतन्त्र महसुस गरिरहेकी छु । बसन्त सापकोटाको आग्रहमा बसिरहन सकिनँ । मैले अन्य कलाकारसँग सम्पर्क गरेपछि मलाई फोनमा, फेसबुकमा ब्लक गर्नुभएको छ । टंक बुढाथोकीको संगीतमा रहेको ब्युटी ब्युटी गीत गाएँ । अन्य कलाकारसँग पनि मिलेर काम गर्न मन छ । पहिलो गीत गाउँदा म १३ वर्षकी थिएँ । अहिले १४ वर्षकी भएँ । म कक्षा नौ मा अध्ययन गर्दैछु । घरमा आमाबाबा, दिदीदाइ हुनुहुन्छ । म आगामी दिनमा पनि गीत, संगीत क्षेत्रमा नै लागिरहन्छु ।


समीक्षाले दिएको संगीतकार बसन्त सापकोटा मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन उठेन । प्रशिक्षार्थी


प्रकाशित : चैत्र २९, २०७५ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?