नयाँ वर्षलाई फ्युजन अर्केस्ट्रा

विपिन श्रीस

काठमाडौँ — पाश्चात्य र पूर्वीय बाजाको फ्युजन, धून भने नेपाली । थिम हो, ‘मोटोको सुमधुर वृन्दवादन (अर्केस्ट्रा) । झन्डै एक सय जना कलाकार कोही भायोलिन रेटदैछन्, कोही भियोला, चेलो र डबल बाससँगै सितार र बाँसुरी बजाउँदै छन् ।

Citizen

तबला र मादलसँग अफ्रिकन बाजा जिम्बेको पनि ताल मिस्सिएको छ । शनिबारसम्म ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक हलमा व्यस्त यी कलाकारहरूले नयाँ वर्षको पहिलो दिनआइतबार राष्ट्रिय नाचघर जमल गुन्जयमान पार्दै छन् ।

नारायणगोपाल संगीत कोष र सांस्कृतिक संस्थानले यति ठूलो अर्केस्ट्रासहित नयाँ वर्ष मनाउने चाँजो गरेका हुन् । कार्यक्रममा विभिन्न नेपाली संगीतहरूको टुक्रालाई अर्केस्ट्रेसन गरिने अन्नपूर्ण चेम्बर अर्केस्ट्राका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘हामीले पश्चिमी र पूर्वीय बाजाहरूबाट हाम्रै माटोको आवाज निकाल्दै छौँ,’ श्रेष्ठले भने, ‘त्यसैले कार्यक्रमको नाम ‘माटोको सुमधुर वृन्दवादन’ राखेका छौं ।’ नेपाली राष्ट्रिय गीत, सदावहार आधुनिक संगीत र लोकभाकासमेतको प्रस्तुति हुने उनले बताए । ‘९९ प्रतिशत धून नेपाली नै हुनेछन्, जुनियर कलाकारलाई सिकाउन केही अंग्रेजी धूनहरूको पनि प्रस्तुति दिनेछौँ,’ उनले भने ।

लामो समयदेखि संगीत प्रशिक्षण गर्दै आएका श्रेष्ठका अनुसार ‘नेपाली गीतहरू शब्दप्रधान छन्, तर अर्केस्ट्रा भने मूलतः बाजाहरूको संयोजन हो, बाजाहरू मात्रै बोल्नेछन् ।’ उनका लागि अर्केस्ट्रा अब्स्ट्र्याक पेन्टिङजस्तै हो, जहाँ शब्द हुँदैनन्, स्वदेशी हुन् या विदेशी संगीत, श्रोताले धूनबाटै आफूखुसी आनन्द लिन सक्छन् ।

स्वरसम्राट नारायणगोपाल र संगीतज्ञ अम्बर गुरुङको आकांक्षालाई केही मात्रामा भए पनि पूरा गर्ने कोसिस गरेका श्रेष्ठले बताए । ‘नेपाली संगीतलाई विश्वमा चिनाउन अर्केस्ट्रा नै उपयुक्त माध्यम हो भन्ने अम्बर गुरुङको निष्कर्ष थियो,’ गुरुङका चेलासमेत रहेका श्रेष्ठले भने, ‘निजी क्षेत्रबाट मात्रै उहाँहरूको आकांक्षा पूरा हुँदैन, सरकारले पहलकदमी लिनुपर्छ ।’ नेपाली संगीत र संगीतमार्फत मुलुकलाई चिनाउन राज्यले उत्तिकै चासो दिनुपर्ने उनको भनाइ छ ।

अभ्यासका लागि सरकारी हलसमेत नहुनु पनि विडम्बना भएको उनले बताए । यसअघि नै गरिएका संगीतहरूलाई अर्केस्ट्रेसन गरिने र आगामी दिनमा नयाँ सिर्जना पनि गर्दै जाने कोषको योजना छ । ‘त्यसका अभ्यास गर्ने वातावरण चाहिन्छ, जुन तत्काल उपलब्ध छैन, २०/२५ दिन पनि राम्रोसँग अभ्यास नगरीकन कसरी नयाँ सिर्जना गर्न सकिन्छ र ?’ उनले भने ।

यस पटक प्रशिक्षणमा उनले पाँच वर्षे बालबालिकादेखि संगीतमा दशकौं बिताएका ख्यातिप्राप्त कलाकारसमेत सहभागी छन् । उनीसँगै साधनारत सुरजकुमार थापाले नेपाली संगीतलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन अर्केस्ट्राले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे । ‘नेपाली भाषा नबुझ्नेहरूले पनि संगीतको आनन्द लिन सक्छन्,’ उनले भने, ‘यसले हाम्रो संगीतलाई विश्वव्यापीकरण गर्न मद्दत गर्छ ।’ राज्यले लगानी गरे अबको १०/१५ वर्षमा नेपाली संगीतको स्तरीय अर्केस्ट्रेसन गर्न सकिने उनी बताउँछन् ।

नेपाली कलाकारसँगै पहिलो पटक नेपाली राष्ट्रिय गीतको अभ्यास गरिरहेका छन्, भारतीय चेलो प्रशिक्षक मानव नास्कर । नेपाली कलाकारसँग अभ्यास गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । ‘मेरो लागि पनि यो सम्मानित अवसर हो,’ उनले भने । यस पटक भारतीय कलाकार नास्करसँगै एक जना नर्बेजियन कलाकार पनि सहभागी हुने अन्नपूर्ण चेम्बर अर्केस्ट्राका अध्यक्ष श्रेष्ठले जनाए ।

गायक शिशिर योगी, बाँसुरीवादक बुद्ध लामा, मादलवादक पारसमणि सुवेदी तबलावादक शम्भु बानियाँ, सितारवादक पद्महीरालगायत कलाकार पनि नेपाली संगीतलाई अर्केस्ट्रेसन गर्न अभ्यासमा तल्लीन छन् । उनीहरू सबैजना आइतबार नाचघरमा उत्रिने छन् ।

विगत पाँच वर्षदेखि हरेक वर्ष अर्केस्ट्राको प्रस्तुति दिँदै अन्नपूर्णले यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरूलाई समावेश गरी प्रस्तुति दिँदै छ । यो संस्करणमा विदेशी दुई जनासहित ९२ जना कलाकारले प्रस्तुति दिनेछन् । यो संस्करण विशेषगरी युवा लक्षित बनाएको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले नयाँ पुस्तालाई नेपाली संगीतको ज्ञान दिन चाहन्छौं,’ उनले भने, ‘नेपाली संगीतमै केही गर्ने प्रेरणा दिन चाहन्छौं ।’ प्रशिक्षणमा सहभागी दस वर्षीया प्रसवी ढुंगेलले वरिष्ठ संगीतकारहरूसँग सिक्न पाउँदा खुसी लागेको बताइन् । चौध वर्षीया जेनिसा कटवालले अभ्यासका क्रममा धेरै कुराहरू सिकेको बताइन् ।

‘अर्केस्ट्रा समूहमा गरिने कार्य हो, यसले सामूहिक भावनाको विकास गर्छ, अनुशासित पनि बनाउँछ,’ श्रेष्ठले भने, ‘नयाँ पुस्ताले एकअर्काबाट सिक्ने अवसर पाइरहेका छन् ।’ आइतबार हुने कार्यक्रममा गोपाल योञ्जनको ‘देशले रगत मागे...’, प्रेम प्रकाश मल्लको रचना र शिव शंकरको संगीतमा रहेको ‘म मरे पनि...’, प्रेमध्वज प्रधानको ‘गोरेटो त्यो गाउँको...’, राजेन्द्र थापाको शब्द र अम्बर गुरुङको संगीतमा रहेको ‘पोहोर साल खुसी फाटदा...’, खेमराज केशवशरणको रचना र नरराज ढकालको संगीत रहेको ‘नेपाल जननी बन्दे...’, नोरदेन रुम्बाको रचना र चन्दन लोम्जेलको संगीतमा रहेको ‘मेरा सबै रात...’, डीबी महेश पाल्पालीको ‘हे आमा नेपाल...’, अगमसिंह गिरीको रचना र अम्बर गुरुङको ‘सुगौली सन्धि...’, पुष्प नेपालीको ‘आज किन साथी...’, रत्नशमशेरको रचना र नातिकाजीको संगीतमा रहेको ‘आँखैको रात गली...’, कालीप्रसाद रिजालको रचना र नारायणगोपालको संगीतमा रहेको
‘केही मीठो बात गर...’ लगायतका गीतको धून प्रस्तुत गरिनेछन् ।
यसैगरी, जुनियरहरूका लागि अम्बर गुङको ‘सुन गुन केशरी...’, अलमोडा राणाको ‘पानी पर्‍यो असिना झर्‍यो...’, आभासको ‘लेकका हामी केटाकेटी...’, तारा थापा र क्षेत्र गुरुङको ‘छातीमा मेरो यो छोटो भोटो...’, श्याम तमोटको ‘गाउँ गाउँबाट उठ...’ लगायतका धून छानिएका छन् । यस्तै, बिथोविनको ‘ओड टु ज्वय..’, ‘रो, रो, रो योर बोट...’, ‘हन्ड्रेडस् माइल्स...’ र ‘वी श्याल ओभरकम...’ गीतको धून पनि बजाइनेछन् ।

प्रकाशित : वैशाख १, २०७६ ०८:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आख्यानतिर भूपीन

कान्तिपुर संवाददाता

काठमाडौँ — कविता हुँदै आख्यानतिर पस्ने लेखक थुप्रै छन् । यो पंक्तिमा थपिएका छन् स्रष्टा भूपीन खड्का । साहित्यमा भूपीन मात्रै लेख्ने भने यिनी कविता र निबन्ध हुँदै उपन्यास लेखनमा पनि पसेका हुन् ।

कवि भूपीन आफ्नो पहिलो उपन्यास ुमैदारो’ लोकार्पणपछि शनिबार प्रज्ञा प्रतिष्ठान डबलीमा हस्ताक्षर गर्दै । बुक हिलले प्रकाशन गरेको यो उपन्यासमाथि आहुति, मोहना अन्सारी र नयनराज पाण्डेले बोलेका थिए । तस्बिर : कान्तिपुर

शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित समारोहमा उनको उपन्यास ‘मैदारो’ लोकार्पण गरियो । साहित्यकार तथा विश्लेषक आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीले कृति सार्वजनिक गरे ।
आहुतीले उपन्यासमार्फत दलित मुद्दालाई स्थापित गर्न खोजिएको बताए ।

उनले विसं २००६ मा दलित अभियन्ता सर्वजित विश्वकर्मले थालेको आन्दोलनको कथालाई औपन्यासिक चित्रांकन गरेर भूपीनले राम्रो कार्य गरेको बताए । ‘यो उपन्यासको नायक युद्धको निरपेक्ष विरोधी छ,’ उनले भने, ‘तिनै नायकमार्फत लेखकले कुनै पनि युद्धले मानवीय क्षतिबाहेक अरू उपलब्धि नदिने विचार अभिव्यक्त गर्न खोजेका छन् ।’ उनले उपन्यासको भाषाको पनि प्रशंसा गरे । ‘भाषा र शैलीको हिसाबबाट पनि कृति अब्बल छ,’ उनले भने । त्यस्तै उपन्यासकार पाण्डेले ‘दलितलाई केन्द्रमा राखेर लेखिएको उपन्यासमा कविता, निबन्ध र आख्यानको पनि सम्मिश्रण पाइने दाबी गरे ।

अन्सारीले विषयवस्तुमाथि न्याय गर्न ‘मैदारो’ सफल रहेको बताए । भूपीनले आफूले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको मिश्रण गरेर स्थानीय विषयलाई स्थापित गर्न खोजेको दाबी गरे । ‘आञ्चलिकताको प्रयोग स्थानीय स्वाद दिनका लागि मात्र होइन,’ उनले भने, ‘स्थानीय विषयवस्तु स्थापित गराउन पनि हो ।’ प्रकाशक बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले पनि पुस्तकमाथि प्रकाश पारे ।

प्रकाशित : वैशाख १, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT