कान्छा कपालीको सनई

प्रशान्त माली

ललितपुर — एक दशकअघि रातो मत्स्येन्द्रनाथ जात्रामा म्वाली (सनई) बजेको सुनिन्थ्यो । पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक राजखड्गअगाडि बजाइन्थ्यो यो बाजा । संस्कृविदहरूका अनुसार लाखे नचाउँदा पनि अनिवार्य बजाउनुपर्थ्यो ।

अहिले यो सनईको धुन हराउँदै गएको छ । पाटन दुपा टोलका ७६ बर्षिय कान्छा कपाली नै अन्तिम सनईवादक बनेका छन् । ‘छोरा नातीले चासो देखाउन छाडे’, हालैको भेटमा कान्छाले गुनासो गरे, ‘अरुलाई के भन्नु ।’

Citizen


कान्छाले १२ वर्ष उमेरमा म्वाली (सनई) बजाउन सिके । त्यति बेला उनको परिवारको गुजारा म्वाली बजाएरै हुन्थ्यो, घरमा बाली भित्रिन्थ्यो । त्यसैले उनलाई बुबाले बाजा सिक्न प्रस्ताव राख्नेबित्तिकै नाइँनास्ति गरेनन् । बुबाले जस्तै उनले पनि ३४ वर्षअघि छोरा रत्नलाललाई बाजा सिक्न आग्रह गरे । समय फेरियो, छोराले मानेनन् । ‘नगर प्रहरीमा जागिरे बन्नतिर पो लागे’, ७६ वर्षीय कान्छाले भने, ‘अब सनई बजाउने मान्छे नै छैनन् ।’

उनका अनुसार शंखमूलस्थित नारायण मन्दिर, मसानघाट र पाटन दरबार क्षेत्रस्थित तलेजु, भीमसेन मन्दिरमा पनि कुनैबेला दैनिक बिहान र साँझ सनई बजाउनु पर्थ्यो । अहिले यो चलन हराइसकेको छ । कात्तिक नाच मञ्चन गर्दा र सिंह जात्रा मनाउँदा मात्रै बजाउने चलन बाँकी छ । कान्छाका अनुसार मन्दिरमा बाजामार्फत विभिन्न देवीदेवताका नेपाल भाषामा लेखिएका गीत बाह्रै महिना फरकफरक गाउनुपर्थ्यो । ‘अहिले बाजासँगै गीत पनि हराउँदै गएको छ,’ उनले भने ‘यस बाजाको छुट्टै गुठी नभएकाले पनि जर्गेना गर्न गाह्रो परेको हो ।’

गार्‍हो त कान्छा स्वयंलाई पनि छ । उनी ढाड, घुँडा दुख्ने समस्याका कारणले मुस्किलले घर भित्र–बाहिर गर्छन् । स्थानीयवासी भने जसरी भए पनि उनले अरूलाई बाजा सिकाउनुपर्ने पक्षमा छन् । ‘छोरालाई त बाजा बजाउनुपर्छ, संस्कृति मास्नु हुँदैन भनेर सिकाउन सकिनँ’, उनले भने, ‘अरूको त कुरै छाडौं ।’ उनले पुराना समय सम्झे । तिनताक पाटनका कपाली समुदायका प्रत्येक घरका एक जना सदस्यले अनिवार्य बाजा बजाउन जानेका हुन्थे ।

पाटनमा कपाली समुदायको संख्या दुई सयको हाराहारीमा छन् । ०३८ मा ५ खलकमा सीमित भए । अहिले उनीसँगै बाजा बजाउन सिकेकामध्ये बाँचेकाहरू अशक्त छन् । ‘मैलेपनि जेनतेन चलाइरहेको छु । कहिले छोड्छु थाहा छैन’, उनले भने ।

उनका अनुसार ०४० सम्म बाजा बजाएबापत बाली भित्रिन्थ्यो । गुठी संस्थानबाट वार्षिक ५ मुरी धान दिन्थे । पछि जग्गा धनीले संस्थानमा केही रकम जम्मा गरी जग्गा रैतानीमा परिणत गरे । त्यसयता न गुठीले रकम दिए न त जग्गाधनीले बाली नै दिए ।

प्रकाशित : वैशाख २, २०७६ ०८:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वाइडबडीको दुबई उडान रद्दकाे छानबिन निष्पक्ष भएन ः नाट्का

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का) ले नेपाल वायुसेवा निगमको दुबई उडान रद्दबारे छानबिन समितिले पेस गरेको प्रतिवेदन पूर्वाग्राही र अन्यायपूर्ण भएको आरोप लगाएको छ । तीन सय हाराहारी एयर ट्राफिक कन्ट्रोलर (एटीसी) आबद्ध नाट्काले उडान रद्द घोषणा गर्ने पाइलटलाई छानबिनको दायरामा नल्याइएकामा शंका व्यक्त गरेको छ । 

काठमाडौंबाट दुबईका लागि उड्नुपर्ने निगमको आरएनए २३१ नम्बरको उडान चैत १९ गते निर्धारित समयमा उड्न नसकेर रद्द भएको थियो । साँझ ९ः१५ मा उड्नुपर्ने विमान १० घण्टापछि अर्को दिन बिहान उडेको थियो । त्यसबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री धनबहादुर बुढाको निर्णयबाट समिति गठन गरिएको थियो ।

एटीसीहरूले उक्त उडान निगमकै पाइलटकै कारण त्यस रात रद्द भएको विज्ञप्तिमा जनाएका छन् । विज्ञप्तिअनुसार उडानको सम्पूर्ण जिम्मेवारी पाइलट–इन–कमान्डको थियो । पाइलटले निर्धारित समयमा उडान हुन नसक्ने विषयको जानकारी समयमै विमानस्थलको टर्मिनल ड्युटी अफिसलाई दिएको थिएन ।

‘१० बजेपछि विमानस्थल मर्मतका लागि बन्द भइसकेकाले थप समय विस्तार गर्न उच्च तहमार्फत समन्वयको प्रयास भइरहँदा निगमकै पाइलटले १० बजेर ३ मिनेटमा उडान रद्द गरेका थिए,’ नाट्काले विज्ञप्तिमा भनेको छ, ‘पाइलट नै उडान रद्द घोषणा एटीसीलाई टिपोट गरेर बाहिरिनु त्रुटिपूर्ण रहेको छर्लंग हुँदाहुँदै निजलाई कारबाहीको दायरामा नल्याइनु पक्षपातपूर्ण छ ।’

विमानस्थलको उडान सञ्चालन विभागलाई बुझाइएकोफ्लाइट प्लानअनुसार उक्त उडानको कमान्डमा क्याप्टेन श्रवण रिजाल थिए । विमानस्थलको तालुकदार निकाय नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त उडानलाई थप समय दिलाउन आफूले जानकारी पाएपछि प्रयास गरिरहेको तर आफ्नो प्रयासअघि नै पाइलटले उडान रद्द घोषणा गरेको समितिलाई बयान दिएका छन् ।

उडान रद्द हुनुमा विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका प्राधिकरणका दुई जना एटीसी पनि जिम्मेवार रहेको भन्दै छानबिन समितिले विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । त्यस्तै प्रभावकारी समन्वय नगरेकाले निगमका चार कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

नाट्काले छानबिन समितिमा निगमकै सञ्चालक समिति सदस्य रहेका सहसचिव बुद्धिसागर लामिछानेलाई संयोजक तोक्दा निष्पक्ष नभएका जनाएको छ । ‘छानबिनमा चार सदस्यमध्ये संयोजक पनि निगमकै बोर्ड सदस्य अर्का सदस्य राजेशप्रसाद श्रेष्ठ पनि निगमकै निर्देशक भएको छानबिन निष्पक्ष मान्ने कानुनी आधार छैन,’ नाट्काका एक वरिष्ठ पदाधिकारीले भने, ‘त्यसमाथि प्रतिवेदन पर्यटन सचिवको निर्देशनअनुसार तोडमोड भएको हामीलाई जानकारी पाएका छौं ।’

प्रतिवेदन विरोधाभास भएको जनाउँदै संघका पदाधिकारीले पर्यटन सचिव मोहनकृष्ण सापकोटालाई ध्यानाकर्षण गराउने, प्रतिवेदन नसच्याइए एयर ट्राफिक कन्ट्रोलरहरूको अन्तर्राष्ट्रिय संगठन (आईफाट्का) गुहार्ने भनेका छन् । यसअघि प्रधानमन्त्री सवार विमानलाई होल्डमा राखिएको विषयमा सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठन गरिएको छानबिन प्रतिवेदन पनि पक्षपाती भएको उनीहरूले बताएका छन् ।

यसैबीच निगमको सञ्चालक समिति सदस्य अच्युतराज पहाडीले उडान रद्द गरी यात्रुलाई बिचल्लीमा पार्ने चालकदलका सदस्यहरूलाई छाडिएकामा आपक्ति व्यत्त गरे । ‘विमान संवेदनशील प्रविधि हो । यात्रुको भरमा जहाज ७ घण्टा छाड्नु अर्को अपराध थियो,’ निगमबाटै अवकाशप्राप्त पहाडीले भने ।

नाट्काले मिडियामा जभाभावी बोलेको भन्दै निगमका प्रवक्ता विजय लामालाई पनि कारबाहीको माग गरेको छ । ‘छानबिनकै क्रममा अनावश्यक मिडियाबाजीमा लागेका निगमका प्रवक्तालाई कारबाहीको दायरामा नल्याइनु पक्षपातपूर्ण रहेको छ,’ नाट्काले भनेको छ ।

प्रकाशित : वैशाख २, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्