१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कन्सर्टमा लाखे र झाँक्री

मधु शाही

बाँके — घडीको सुईले नयाँ वर्षको आगमन गर्न केही घण्टा मात्रै बाँकी थियो । दर्शक नयाँ वर्षको स्वागतसँगै स्टेजमा आफ्ना प्रिय गायक दीपक बज्राचार्यलाई कुरिरहेका थिए । ‘नमस्ते नेपालगन्ज,’ दीपक स्टेजमा देखा परे । 

नेपालगन्जस्थित होटल सिद्धार्थमा शनिबार आयोजित कन्सर्टमा दीपक एक्लै थिएनन् । उनीसँगै लाखे र झाँक्री पनि थिए । ‘मन मगन...’ पछि दीपक प्रायः कन्सर्टमा लाखे र झाँक्री सँगसँगै हुन्छन् । कन्सर्टमा दीपकको जति चार्म थियो, उति नै लाखे र झाँक्री पनि रुचाइए । राजीव बज्राचार्य लाखे र लिजेन्द्र महर्जन झाँक्रीको भेषमा देखिएका थिए । कन्सर्टपछि यिनीहरूसँग फोटो खिचाउन दर्शकको भीड नै लागेको थियो ।


‘मन मगन...’ म्युजिक भिडियोपछि अहिले राजीव र लिजेन्द्र लाखे र झाँक्रीको रूपमा सेलेब्रिटी नै बन्न थालेका छन् । ‘मुकुट निकाल्यो भने कसैले चिन्दैनन् मलाई,’ राजीवले भने, ‘लाखे पात्र हिट भएको छ । मलाई अरूले चिन्दैनन् ।’ लिजेन्द्र र राजीव लाखे–झाँक्री नृत्य गरेर अचेल व्यावसायिक बन्दै छन् ।


कन्सर्टमा जानु, म्युजिक भिडियो गर्नु र विभिन्न कार्यक्रममा उनीहरूको प्रस्तुतिले राम्रो पारिश्रमिक पाउन थालेको छ । कन्सर्टमा दीपकले आफ्ना पुराना गीत पनि गाए । यी सबैमा लाखे र झाँक्रीसँगै नाचेका थिए । ‘ओ अमिरा...’, ‘काली काली हिस्सी परेकी...’ र ‘मन मगनमा...’ गीतमा दर्शकले लाखे र झाँक्रीको अनौठो फ्युजन पाए ।


नेपाली मौलिक संगीत र बाजाको संरक्षण गर्ने हेतुले कन्सर्टमा लाखे र झाँक्री नृत्यलाई सँगसँगै लैजाने गरेको दीपकले बताए । ‘कन्सर्ट सुन्नुका साथै हेर्न पनि लायक बनाउने सोच छ,’ उनले भने, ‘अहिलेका दर्शक मल्टी आर्ट मन पराउँछन् ।’


कन्सर्टमा सांस्कृतिक महत्त्व झल्काउन दीपक लागिपरेका छन् । ‘मन मगन...’ गीतमा पनि उनले नेवारी, बौद्ध, हिमालीलगायत सांस्कृतिक दृश्य मिसाएर भिडियो बनाएका छन् । त्यस्तै गरी कन्सर्टमा जाँदा उनी जुन ठाउँमा जान लागिएको हो, त्यही ठाउँको सांस्कृतिक नृत्यलाई सँगसँगै लाने सोच बनाएको बताउँछन् । ‘यो तयारी केही वर्षमा पूरा हुन्छ,’ दीपले भने, ‘यसले स्थानीय संस्कृति प्रवर्द्धन हुनुका साथै हाम्रा मौलिक संस्कृति संरक्षण हुन्छन् ।’


नेपालगन्जमा उनी झन्डै दुई दशकअघि महजोडीसँग कन्सर्ट गर्न आएका थिए । लामो समयपछि यहाँ सांगीतिक प्रस्तुति गर्न पाउँदा खुसी लागेको बताए । दिउँसो गर्मीले आत्तिएका उनले बेलुका भने नेपालगन्जको मौसम रोमान्टिक भएको सुनाए । स्टेजमा गीत गाउँदै उनले दर्शकको मनोभाव बुझ्न गर्मीदेखि प्रेमका प्रसंग जोडेर माहोल रमाइलो बनाए । ‘अध्यारोमा छाउँछौ तिमी...’ ‘मै मरि जाउला...’, ‘ओर पर...’ लगायत नयाँ र पुराना गरी झन्डै एक दर्जन गीत गाए । ‘मन मगन...’ गीत भने दर्शक आफैंले बढी गाए ।


कन्सर्टको मजा नै दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नु रहेको उनले बताए । ‘धन चाहिने कि मन चाहिने ?’ स्टेजबाटै दीपकले गरेको प्रश्नमा धेरैले मन चाहिने भन्दै चर्को स्वरमा साथ दिए । उनका गीतमा लाइभ बाजा थियो । जसमा धिमे र नेवारी संगीतको फ्युजन थियो । उनले आफ्नै पुराना गीतलाई पनि मौलिक बाजा फ्युजन गरेर कन्सर्टमा पस्किन थालेको बताए । ‘यस्तो तरिका दर्शकले धेरै मन पराउन थालेका छन्,’ उनले भने, ‘यसो गर्दा दर्शकले अपनत्व महसुस गर्छन् र रमाउँछन् ।’

प्रकाशित : वैशाख २, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?