कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘नेपाल साँच्चिकै सुन्दर’

काठमाडौँ — महाभारत पर्वत शृंखलामा पर्ने खप्तडको घोडा दौड धेरैलाई थाहा नहुन सक्छ । पाल्पाको रानीमहल चिटिक्क छ । काठमाडौंको पशुपतिनाथ र बौद्धनाथ प्राचीन लाग्छ ।

‘नेपाल साँच्चिकै सुन्दर’

वसन्तपुरको धिमें, बागलुङको सोरठी अनि रुकुमको मगर समुदायमा प्रचलित भुमे नाचको सांस्कृतिक सौन्दर्य भिन्न छ । फेवातालमा तैरिएको माछापुच्छ्रे हिमाल अनि पोखरीभित्रै खुलेको मायादेवी मन्दिरको छाया । यी सबै दृश्य हेर्दा नेपाल साँच्चिकै सुन्दर लाग्छ । यी सुन्दर दृश्य कैद गरेका हुन् २९ युवा फोटोग्राफरले । नेपाल आर्ट काउन्सिल ग्यालरीमा ‘नेपाल सुन्दर छ’ शीर्षकमा यी तस्बिरहरू प्रदर्शनरत छन् ।


प्रकृति, यात्रा, वन्यजन्तु, संस्कृति, हिमाल र दृश्यचित्रलगायतका विधामा सजिएका तस्बिरहरूले सकारात्मक भाव पैदा गराउँछ । तस्बिरहरू पनि सकारात्मकतालाई नै ख्याल गरी छानिएका छन् । ग्यालरीमा डुल्दै हिँड्दा दशक लामो द्वन्द्वको घाउ र केही वर्षअघिको भूकम्पको पीडा पनि बिर्सिइन्छ ।


जस्तो कि कुनै समय द्वन्द्वको केन्द्र मानिने रुकुमका स्थानीय भुमे नाचमा रमाइरहेका छन् । आरके अदिप्त गिरीले खिचेको यो तस्बिरले द्वन्द्वोत्तर समाजको सांस्कृतिक पुनरुत्थानलाई अर्थपूर्ण रूपमा उतारेको देखिन्छ । नेपाल अझै पनि शान्त, सुन्दर र रमाइलो छ भन्ने सकारात्मक सन्देश दिने ध्येयले सुरु गरिएको प्रदर्शनीको यो दोस्रो संस्करण हो ।


काठमाडौं उपत्यकाको सांस्कृतिक सघनतालाई पनि प्रदर्शनीले राम्रोसँग सम्बोधन गरेको छ । भक्तपुरका युवा साँच्चिकै बिस्केट जात्राको रथ तान्दै गर्दा ग्यालरीको भित्तामा त्यस्तै प्रकृतिका तस्बिर सजिए । सिंगारिएको प्रल्हादको तस्बिरमार्फत पाटन दरबार स्क्वायरको कार्तिक नाचमै पुर्‍याएका छन् अजय महर्जनले । माधव नारायण पर्व उतारेका छन् रोशन श्रेष्ठले भने राइ युवतीले साकेला नाच्दै गरेको टुँडिखेलको दृश्यमार्फत उपत्यकामा पूर्वी नेपालको उपस्थितिलाई प्रवीण रानाभाट सुन्दर ढंगले कैद गरेका छन् ।


लिच्छविकालमा निर्मित बौद्धनाथ आसपास अहिले कंक्रिटको जंगल छ । प्रदर्शनीमा राखिएको बौद्धनाथ स्तूपको दृश्यचित्र भने बाहिरी दृश्य हटाउन लो एंगलबाट खिचिएको छ । प्रदर्शनी मंगलबार सकिने बताइएको छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?