बक्सअफिस साउनभित्र

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले साउनभित्र देशभर बक्सअफिस प्रणाली कार्यान्वयनमा आउने बताएका छन् । सोमबार चलचित्र पक्रकार संघले गरेको ‘चलचित्र क्षेत्रका बेथिति’ अन्तरत्रियामा  उनले त्यसका लागि द्रूतगतिमा काम भइरहेको बताए । 

‘बक्सअफिसका लागि चाहिने हार्डवेयर र सफ्टवेयरका लागि टेन्डर आहृवान भएअनुसार २/४ दिनमै बोर्डलाई हस्तान्तरण हुँदै छ,’ उनले भने, ‘अब इमानदारीपूर्वक बक्सअफिस लाग्छ । त्यसका लागि हलवालाका समस्या हुन सक्छन् । समाधानको उपाय बोर्डले खोज्नेछ ।’

Citizen

भट्टराईले मोफसलका ८० हललाई चाहिने हार्डवेयर र सफ्टवेयरका सामान सरकारले अनुदानका रूपमा दिन लागेको बताए । उनले आआफ्ना कमीकमजोरी स्वीकारेर आचारसंहिता बनाउन पनि सुझाए । फिल्म प्रदर्शनका लागि चाहिने केडीएम (कि–डेलिभरी म्यासेज) कोडका लागि सिन्डिकेटको अवस्था रहेको र निर्माताले अनावश्यक रकम तिर्नुपर्ने अवस्थातर्फ इंगित गर्दै अध्यक्ष भट्टराईले आवश्यक परे सरकार आफैंले पनि पहल गर्न सक्ने बताए ।

‘नेपालमा चलेका केडीएम होल्डरसँग केही दिनभित्रै छलफल गर्नेछु । मान्नुभएन भने फिल्म क्षेत्र र निर्मातालाई राहत दिने गरी टुके फर्म्याटसम्मका फिल्म इन्कोडिङ गर्ने गरी आफ्नै खर्चमा सरकारले राख्ने वातावरण पनि बन्न सक्नेछ,’ उनले भने ।

निर्माता संघ अध्यक्ष आकाश अधिकारीले पेसागत इमानदारिता नहुँदा फिल्म क्षेत्रमा बेथिति मौलाएको तर्क गरे । चलचित्र संघ अध्यक्ष प्रदीपकुमार उदयले समस्या धेरै भएकाले कहाँबाट सुरु गर्ने भन्ने नै अन्योल रहेको बताए ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘नेपाल साँच्चिकै सुन्दर’

कान्तिपुर संवाददाता

काठमाडौँ — महाभारत पर्वत शृंखलामा पर्ने खप्तडको घोडा दौड धेरैलाई थाहा नहुन सक्छ । पाल्पाको रानीमहल चिटिक्क छ । काठमाडौंको पशुपतिनाथ र बौद्धनाथ प्राचीन लाग्छ ।

वसन्तपुरको धिमें, बागलुङको सोरठी अनि रुकुमको मगर समुदायमा प्रचलित भुमे नाचको सांस्कृतिक सौन्दर्य भिन्न छ । फेवातालमा तैरिएको माछापुच्छ्रे हिमाल अनि पोखरीभित्रै खुलेको मायादेवी मन्दिरको छाया । यी सबै दृश्य हेर्दा नेपाल साँच्चिकै सुन्दर लाग्छ । यी सुन्दर दृश्य कैद गरेका हुन् २९ युवा फोटोग्राफरले । नेपाल आर्ट काउन्सिल ग्यालरीमा ‘नेपाल सुन्दर छ’ शीर्षकमा यी तस्बिरहरू प्रदर्शनरत छन् ।

प्रकृति, यात्रा, वन्यजन्तु, संस्कृति, हिमाल र दृश्यचित्रलगायतका विधामा सजिएका तस्बिरहरूले सकारात्मक भाव पैदा गराउँछ । तस्बिरहरू पनि सकारात्मकतालाई नै ख्याल गरी छानिएका छन् । ग्यालरीमा डुल्दैहिँड्दा दशक लामो द्वन्द्वको घाउ र केही वर्षअघिको भूकम्पको पीडा पनि बिर्सिइन्छ ।

जस्तो कि कुनै समय द्वन्द्वको केन्द्र मानिने रुकुमका स्थानीय भुमे नाचमा रमाइरहेका छन् । आरके अदिप्त गिरीले खिचेको यो तस्बिरले द्वन्द्वोत्तर समाजको सांस्कृतिक पुनरुत्थानलाई अर्थपूर्ण रूपमा उतारेको देखिन्छ । नेपाल अझै पनि शान्त, सुन्दर र रमाइलो छ भन्ने सकारात्मक सन्देश दिने ध्येयलेसुरु गरिएको प्रदर्शनीको यो दोस्रो संस्करण हो ।

काठमाडौं उपत्यकाको सांस्कृतिक सघनतालाई पनि प्रदर्शनीले राम्रोसँग सम्बोधन गरेको छ । भक्तपुरका युवा साँच्चिकै बिस्केट जात्राको रथ तान्दै गर्दा ग्यालरीको भित्तामा त्यस्तै प्रकृतिका तस्बिर सजिए । सिंगारिएको प्रल्हादको तस्बिरमार्फत पाटन दरबार स्क्वायरको कार्तिक नाचमै पुर्‍याएका छन् अजय महर्जनले । माधव नारायण पर्व उतारेका छन् रोशन श्रेष्ठले भने राइ युवतीले साकेला नाच्दै गरेको टुँडिखेलको दृश्यमार्फत उपत्यकामा पूर्वी नेपालको उपस्थितिलाई प्रवीण रानाभाट सुन्दर ढंगले कैद गरेका छन् ।

लिच्छविकालमा निर्मित बौद्धनाथ आसपास अहिले कंक्रिटको जंगल छ । प्रदर्शनीमा राखिएको बौद्धनाथ स्तूपको दृश्यचित्र भने बाहिरी दृश्य हटाउन लो एंगलबाट खिचिएको छ । प्रदर्शनी मंगलबार सकिने बताइएको छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT