काठमाडौंमा भारतीय रंग

कान्तिपुर संवाददाता

विपिन श्रीस — एउटै चित्रमा दक्षिण एसियाली नारीको अवस्थिति चित्रण गर्नुपर्दा कस्तो देखिन्छ होला ? भारतीय चित्रकार हेमन्त पाण्डेयले कोरेका चित्रले सिर्जनात्मक जवाफ दिन्छ । राजधानीको ठमेलस्थित मिथिला यें ग्यालरीमा ३२ भारतीय कलाकारसहित उनको चित्र पनि राखिएको छ । चित्रमा पाँचवटा हात र चारवटा शिर देखिन्छ । दुई खुट्टा उभिएको जमिनमा भने एकातिर आगोको लप्का, अर्कोतिर हरिया पात । मंगलबार दिउँसो पाका चित्रकार गेहेन्द्रमान अमात्य यो चित्र देखेपछि टक्क अडिए ।

चित्रकार गेहेन्द्रमान अमात्य 'अन्तर्राष्ट्रिय आर्ट फेस्ट’ अवलोकन गर्दै । तस्बिर : विपिन/कान्तिपुर

‘भारतीय नारी सशक्त छन् भन्ने देखाउँछ यो चित्रले,’ उनले भने, ‘उताको जस्तै नेपाली नारीको मनोदशा पनि यो चित्रको जस्तै पाउन सकिन्छ ।’

पाण्डेयले चुनौतीको आगोबीच पनि आशा बोकेर हिँड्ने नारीको एउटा हातमा सन्तान (मातृवात्सल्य), अर्को हातमा कुची (सिर्जना) मात्रै राखिदिएका छैनन्, बाँकी हातहरूमा बन्दुक र हँसिया पनि थमाइदिएका छन् । नारीहरू सन्तानको स्याहारसुसारमा मात्रै हैन, संघर्षमा पनि उत्तिकै दमदार छन् भन्ने यी प्रतीकहरूमार्फत उनले व्याख्या गर्न खोजेको चित्रकार अमात्यले बताए । प्रदर्शनीमा आठ मुलुकका कलाकारहरूको सिर्जना रहे पनि धेरैजसो चाहिँ भारतीय चित्रकारहरू छन् । नाम दिइएको छ, ‘अन्तर्राष्ट्रिय आर्ट फेस्ट’ । झन्डै पाँच दशकदेखि चित्रकारिता गर्दै आएका भारतीय कलाकार विपिन दावेले बुद्धको पोट्रेट राखेका छन् । नेपाली कलाकार श्यामसुन्दर यादवको मिथिला चित्र देख्न सकिन्छ ।
चिनियाँ चित्रकार रेडन ज्याजोको चित्र निकै रोचक लाग्छ । उनले जात्रैजात्राको सहरको रूपमा चिनिने काठमाडौं सहरप्रतिको आफ्नो प्रभावलाई ‘प्रभाववादी शैली’ मै चित्रमा उतारेका छन् । उनको क्यानभासमा ठमेलको दृश्य देखिन्छ । दृश्यमा कोही लाखे नाच्दै छन्, कोही चाहिँ रथको छतरी घुमाउँदै । बाटोमा हिँड्नेहरू सबै आ–आफ्नै पारामा मग्न देखिन्छन् । आधुनिक शैली चित्र कुनै एक विषयमा मात्रै केन्द्रित छैनन्, ‘धर्म, संस्कृति र प्रकृतिदेखि सौन्दर्य, प्रेम र नारी शक्तिको अभिव्यक्ति’ सबै देख्न सकिन्छ । विशेष गरी भारतको गुजराती संस्कृति लोभलाग्दो ढंगबाट चित्रकारहरूले क्यानभासमा उतारेका छन् ।

‘प्रदर्शनीमा बढीमा दुई वटा मात्र चित्र भनिएको थियो,’ भारतीय चित्रकार दावेले भने, ‘नेपाल बुद्धको देश हो, त्यसैले दुवै बुद्धको चित्र लिएर आएँ ।’ फरक फरक विषय र माध्यममा काम गर्न मन पराउने दावे सोमबार सिन्दुर जात्रा हेर्न भक्तपुर पुगेका थिए । जात्राबाट प्रभावित भएर उनले भारत फर्केपछि सिन्दुरजात्राकै सिरिजमा चित्र बनाउने बताए । चार दशकदेखि चित्रकारिता गर्दै आएका अर्का भारतीय चित्रकार तरुण कोठारीको चाहिँ यो पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी हो । प्रदर्शनीमा उनले आमा र सन्तानको प्रेम झल्काउने पोट्रेट र घोडाको चित्र राखेका छन् । अमात्यले अन्तर्राष्ट्रिय प्रदर्शनीले एक अर्को देशको कला बुझ्न र सिक्न सहयोग पुग्ने बताए । प्रदर्शनीमा बुद्ध, गणेश लगायत भगवाना पोट्रेटदेखि प्रभाववादी, क्युविजम र सिम्बोलिजमजस्ता धारका चित्रहरू देख्न सकिन्छ । भारतीय कला संस्था ड्रिम आर्ट वर्ल्डले पाँचदिने प्रदर्शनी गरेको हो । प्रदर्शनी बिहीबारसम्म चल्नेछ ।

प्रकाशित : वैशाख ४, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

पर्वपिच्छे फरक स्वाद

कान्तिपुर संवाददाता

जनकपुर — मैथिली समाजमा खानपानसम्बन्धी एउटा भनाइ छ, ‘माछ, पान आ मखान स्वर्गमे सेहो नहि भेटैत छै ।’ अर्थात् माछा, पान र मख्खन स्वर्गमा समेत पाइँदैन । नयाँ वर्षसँगै वैशाख २ गते जुडशीतल पर्व मनाउँदा स्थानीयबासीले सातु, गुड, आँपको चटनी, बरी भोजन गरे । यस दिन तिलकोर, तरुल, तरुवा (पकौडा) सँगै दही खाने चलन छ ।

‘मिथिलाञ्चलमा चार ऋतुलाई लक्षित पर्व मनाइन्छ,’ जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले भने, ‘जुडशीतल, दशहरा, तिलासंक्रान्ति र फागुपर्व । यी सबैमा खानपान पनि ऋतुअनुसार भिन्नाभिन्नै हुन्छ ।’
उनका अनुसार गर्मी मौसमको खानपान भएकाले काँचो आँप चटनी, सातु, बरी, दहीजस्ता परिकार जुडशीतल पर्वसित जोडिएको छ ।

धेरैले मौलिक भेषभूषा, भाषा, संस्कृति, चित्रकला, लोकगीत, लोकगाथा तथा विवाह पद्धतिसँग मात्रै मिथिलाञ्चलको मौलिकता जोड्दै आएकोमा मौसम अनुसारका परिकारको संस्कृतिले भने खासै चर्चा नपाएको महन्थ वैष्णवले बताए । ‘मिथिलाको आफ्नै मौलिक भोजन विन्यास छ’, उनले भने, ‘आज मिथिला भोजन हुन्छ भन्नेबित्तिकै पाहुनाहरू हुरुक्कै हुने त संस्कार नै हो ।’

उनले पछिल्लो समय मैथिली चित्रकलाले बढी चर्चा पाए पनि यहाँको मौलिक खाना संस्कृति भने आधुनिक बजारमा प्रवर्द्धन हुन नसकिरहेको बताए । छठ पर्वमा गहुँको पीठोमा सख्खर मिसाएर बनाइने ठकुवा, चामलको आटामा सख्खर मिसाएर बनाइने भुसुवाजस्ता परिकार, साउनमा हुने चौठचन्द पर्वमा खाइने पूरी, खीर, ओलको तरकारी र चोखाले पनि मिथिलाका मौलिक परिकार हुन् । त्यस्तै शारदीय नवरात्रको अवसरमा मासु, माछासँगै खीर र पूरी खाने चलन छ । तिलासंक्रान्तिमा खिचडी, घ्यू, चाकु, तरुल, मुरही, तिल खाइन्छ भने फागु पर्वमा पुवा, पुरी र माछामासुका परिकार खाने गरिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका निरीक्षक प्रवीणकुमार तिवारी मिथिला क्षेत्रको पारम्परिक भोजनसंस्कृति वैज्ञानिक भएको व्याख्या गर्छन् ।

‘खाद्य विज्ञानले हामीलाई पौष्टिक तथा सन्तुलित भोजन खान निर्दिष्ट गर्छ,’ उनले भने, ‘सिजनअनुसारको खानपानको संस्कृति वैज्ञानिक छ । यो मिश्रित खाद्य परम्परा हो ।’ एउटै खाद्य पदार्थको अनेकथरि परिकार बनाएर खानु मिथिलाञ्चलको अर्को विशेषता हो । मौलिक खानपानले पनि मिथिला समाजको सम्मुनत सभ्यताको संकेत गर्ने समाजशास्त्रका जानकार रामचन्द्र झा बताउँछन् ।

प्रकाशित : वैशाख ४, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्